भर्खरै :

अत्यन्त सरल तथा मृदुभाषी विद्वान्

  • फाल्गुन २२, २०७८
  • नारायणमान बिजुक्छेँ (रोहित)
  • विचार विशेष

गोविन्दप्रसाद लोहनीका पुस्तकहरू मैले २०१५–०१६ सालदेखि नै पढ्ने अवसर पाएको थिएँ । ‘यो हो सोभियत रूस’ प्रश्न–उत्तरको रूपमा पढँे । ‘चीनी जन–सङ्घर्षको इतिहास’, ‘आजको चीन’ जस्ता पुस्तकहरूपछि पढ्दै गएँ । सरल, सुस्पष्ट लेखाइको कारण विद्यार्थीहरू ती पुस्तक पढ्न रुचाउँथे ।
लोहनीजीले माक्र्सवादी सिद्धान्त र प्रगतिशील साहित्यका लेखहरू पनि लेख्नुभयो र ती लेखहरूले नेपाली भाषामा कमी भएका प्रगतिशील साहित्यलाई पूर्ति गर्थे । उहाँको लेखनशैली, विषय र प्रवाहबारे नयाँ प्रकाशन नेतृत्वको भोक र अन्य कथाले प्रस्ट गर्छ । यही पुस्तकको ‘प्रकाशकको मन्तव्य’ र १ वैशाख २०१० साल अर्थात् १४ अप्रिल १९५३ को ‘भूमिका’ ले उहाँको अध्ययनशीलता, विषयवस्तुको गहिराइसम्म पुग्ने आकाङ्क्षा र द्रुततालाई छर्लङ्ग्याउँछ, जो अनुकरणीय छ ।
त्यसबेला नेपालका केही लेखकहरू कम अध्ययन गर्ने, लेख्नकै निम्ति लेख्ने वा जसोतसो आफ्नो मनको कुरा अभिव्यक्त गर्ने उद्देश्यले मात्र लेख्ने गर्थे । त्यस्ता लेख–रचनाहरू बोक्रे हुनु स्वाभाविक हो । तर, गोविन्दजीको व्यापक अध्ययन र गहिराइलाई हेर्दा उहाँले एक–दुईवटा पुस्तक हेरेर वा प्रभावमा परेर लेख्नुभन्दा विषयसँग सम्बन्धित अन्य पुस्तकहरूको गहन अध्ययनपश्चात् मात्र लेख्नुहुन्थ्यो भन्ने थाहा हुन्छ । देश–विदेशका विविध विषयका लेखकहरूका रचनाहरूको अध्ययन नै उहाँको सोचको परिपक्वताको साँचो हो ।
उहाँसँग व्यक्तिगतरूपमा परिचय नहुँदै मैले उहाँका रचनाहरू पढेँ । उहाँको विषयमा हामीले साथीहरूबाट सुनेका थियौँ र धेरैपछि अर्थात् २०३६ सालपछि मात्रै र उहाँसँग भेटघाट, छलफल र निकटता बढेको हो । कपिल लोहनीजीको ‘प्रकाशकको मन्तव्य’ बाटै विक्रम संवत् २०७७ सालको भाइटीकाको दिन ९३ वर्षमा पुग्नुभएको, बनारसको विषय र विश्वविद्यालयको पढाइ, नेपाल राष्ट्रबैङ्कको स्थापनामा उहाँको योगदान, नेरू र भारूको सटही दर कायम गर्न उहाँको अध्ययन र अनुसन्धान आदि तथा नेपाल राष्ट्रबैङ्कको प्रमुख आर्थिक सल्लाहकार हुँदाका विषयमा थाहा पार्यौँ । यसको मुख्य कारण छलफल र कुराकानीमा उहाँ आफ्नो व्यक्तिगत जीवन साह्रै कम उल्लेख गर्नुहुन्थ्यो अथवा बताउनु नै हुन्नथ्यो र हामीमा त्यसबारे कोट्याउने बानी पनि थिएन ।
उहाँको रचनाबाट उहाँलाई व्यक्तिगतरूपले चिन्याँै र एक–एक गरेर गोविन्दप्रसाद लोहनीको व्यक्तित्व थाहा पायौँ । हाम्रो थोरै भेट एक्लै हुन्थ्यो र धेरै भेट तथा कुराकानी दुई–तीन जनादेखि दश–बाह्र जनासम्ममा हुन्थ्यो । २०३६ सालसम्म मैले लोहनीजीलाई एक लेखक, अर्थशास्त्री तथा एक सुल्झिएको विद्वान्का रूपमा चिन्थेँ । मैले आफ्ना साथीहरूसँग भेटघाट गराउँदा जापान र सोभियत सङ्घको अर्थतन्त्र र पश्चिमा देशको अर्थतन्त्रको तुलनासम्बन्धी छलफल र जानकारीबारे कुराकानी हुन्थ्यो ।
जेल जीवन, भूमिगत जीवन एवम् प्रवास जीवनपछि आफ्ना साथीहरूलाई विविध विषयमा जानकारी हासिल गराउन नै ऋषिकेश शाह, कृष्णप्रसाद भण्डारीजी र डा. राममान श्रेष्ठलाई समेत आमन्त्रित गरेर स–साना कक्षा सञ्चालनको रूप दिन्थ्यौँ । ऋषिकेश शाहजीसँग संविधानबारे, पश्चिमी देशसँग नेपालको कूटनीतिक सम्बन्ध, संयुक्त राष्ट्रसङ्घको अनुभव र अफ्रिकी देशहरूमा पश्चिमी देशको दृष्टिकोण, कङ्गो र प्याट्रिस लुमुम्बाको हत्या एवम् डायग हेमरशोल्डको हवाई दुर्घटना आदि विषयबारे छलफल हुन्थ्यो । पछि–पछि उहाँसँगको भेटघाटमा राजदरबार, भारत र शाहजीकै त्रिकोणात्मक स्थितिबारे पनि कुराकानी हुन्थ्यो ।
कृष्णप्रसाद भण्डारीजीसँग मेरो पहिलो भेट र परिचय नेपाल विद्यार्थी फेडरेसनका पूर्व अध्यक्ष वासुदेव ढुङ्गानाको टुकुचाको घरमा भएको थियो । त्यतिखेर उहाँ राष्ट्रिय पञ्चायतको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले हाम्रा साथीहरूलाई ऐन–कानुन र वकालतको विषय, भूमिसुधार र नापीको कामपछि उद्योग, वाणिज्य र अन्य आर्थिक मामिलाको झगडा एवम् मुद्दा बढ्दै जाने हुँदा ती विषयमा अध्ययन गर्न सल्लाह दिनुभएको थियो ।
डा. राममान श्रेष्ठले गणितको अङ्कको सुरूवात कसरी भयोदेखि गणितबारे हाम्रा शिक्षकहरूलाई पनि केही विषयमा जानकारी दिनुभयो उहाँले एक पटक ‘अहिलेसम्मका गणितका सिद्धान्तहरू काठमाडौँ, ललितपुर र भक्तपुर दरबार स्क्वायर हरूका स्मारकहरूमा प्रयोग गरिएका छन्’ भन्नुभयो । ‘यसबारे पछि कुनै अवसरमा कुरा गरौँला’ भन्नुभएको झल्झली सम्झन्छु ।
गोविन्दप्रसाद लोहनीजी पाकिस्तानको नेपाली राजदूत हुँदा नेपालसँगको सम्बन्ध, दुई देशबीचको सम्बन्धबारे भारतले पाइला–पाइलामा समेत चासो राख्थ्यो । पाकिस्तान भएर राजाको पश्चिमी देशको भ्रमणबारे पनि भारतीय दूतावासमार्फत स–साना कुराहरूसमेत हरेक तहका कर्मचारीहरूमार्फत जानकारी राख्न चाहन्थ्यो । भारतले दक्षिण एसियाका हरेक देशभित्रको सम्बन्धबारे पनि त्यत्तिकै चासो राख्थ्यो र म्यानमार (वर्मा) सँगको नेपालको सम्बन्धबारे पनि कुन हवाईजहाजमा, कति जना नेपाली, को–को जाने र के–कस्ता सामान कति ल्याउने, नेपालमा कति बजे हवाईजहाज बिसाउनेजस्ता विषय पनि ध्यानमा राख्ने कुरा लोहनीजी बताउनुहुन्थ्यो । यस दृष्टिले नेपालका राजदूतावासका कर्मचारीमध्ये कति जना नेपालभित्रको सम्बन्धमा भारत र अन्य देशको चासो थियो भन्ने अध्ययन गर्ने कर्मचारीहरू होलान् भनी सोच्नु आवश्यक छ ।
त्यस्तै, नेपालका प्रधानमन्त्री टंकप्रसाद आचार्यको प्रतिनिधि मण्डल चीनको पेकिङमा हुँदा भारतीय दूतावासका सबै तहका कर्मचारीहरू अति सक्रिय थिए । चीन त्यसबेला नेपाल–तिब्बत सम्बन्धको प्राथमिकताको पक्षमा थियो भने नेपालको प्रतिनिधिमण्डलले नेपालको पुरानो सम्बन्ध पेकिडसँगै भएको र तिब्बतबारे पेकिङकै फैसला अन्तिम हुने बताई ऐतिहासिक कूटनीतिक सम्बन्धमा जोडिएको थियो । यसबारे ‘जीउँदा शहीद’ भन्ने पुस्तकका अमेरिकी लेखक ‘जिम फिसर’ शान्ति स्वयमसेवक दल (पिसकोर भोलेन्टियर) का सदस्य थिए र भक्तपुरको एक कलेजका शिक्षक पनि थिए ।
नेपालसँग भारतीय एकाधिकार पुँजीको आफ्नै स्वार्थ रहेको हुँदा विदेशमा बसेका नेपालका राजदूत र परराष्ट्र सेवाका कर्मचारीहरूले यसबारे आवश्यक सतर्कता देखाएका छैनन् भन्ने विषयमा दुईमत नहोला । त्यस्तै, संयुक्तराज्य अमेरिका विश्वलाई नियन्त्रण गर्ने साम्राज्यवादी नीतिअनुसार दक्षिण एसियाका देशहरूमाथि आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ भन्नेबारे सबै नेपालका राजनैतिक दलहरू गम्भीर देखिन्नन् । अर्को भाषामा, संयुक्तराज्य अमेरिका भारतको काँधमा बन्दुक बिसाएर समाजवादी चीनमाथि प्रहार गर्न खोज्छ । यो दृष्टिले सबै राजनीतिक पार्टी र परराष्ट्र मामिलाका जिज्ञासुहरूले चिन्तन गरेको देखिन्न । दक्षिण–पूर्वी एसियाली देशहरूमा पश्चिमी साम्राज्यवादी प्रभाव सांस्कृतिक जीवनसम्म पुगेकोले अन्तर्राष्ट्रिय राजनीतिलाई आलोचनात्मक रूपले नहेरी पुरानै चश्माले हेर्दा नेपालले हरेक क्षेत्रमा आवश्यक प्रगति गर्न नसकेको प्रस्ट छ ।
यसकारण, परराष्ट्र तथा मानव अधिकार समितिको सदस्य हुँदा नेपालले कुनै मित्रदेशमा राजदूत नियुक्ति गर्दा सम्बन्धित देशको विषयमा राम्रो जानकारी राख्ने, विदेशी भाषामा पनि दख्खल भएका सदाचारी एवम् कुनै एउटा देश वा विदेशको बारेमा एक राम्रो पुस्तकका लेखक हुनुपर्ने प्रस्ताव राखियो । बताइएअनुसार एक कार्यकाल बेलायत, अमेरिका, रूस वा अन्य महत्वपूर्ण देशमा राजदूतलाई लाखौँ होइन, करोडौँ रकम खर्च देशले व्यहोर्छ । आफ्नो कार्यकालपछि आफ्नो देश फर्कँदा तिनलाई आफ्नो कार्यकालमा दुई देशको बीचमा भएका गुप्त सम्झौता एवम् सम्बन्धबारे एउटा रिपोर्ट र अर्को पुस्तक त्यस देशका राम्रा र जानकारीमूलक विषयमा लेखेर परराष्ट्र मन्त्रालयको ‘विशेष समिति’ मा दिनुपर्ने प्रावधानबारे सहमति गराइएको थियो ।
देशको दुर्भाग्य भनौँ या व्यक्तिको आफ्नो कर्तव्यप्रतिको सजगतामा कमी भनौँ, राजदूत घर फर्केको दुई महिनासम्म पनि परराष्ट्र मन्त्रालयलाई थाहा हुन्न र, निम्तो दिएर त्यसको विषयमा आवश्यक रेकर्ड राख्ने बन्दोबस्त पनि छैन । फर्केका व्यक्तिले आफ्नो कार्यकालमा पाएका अनुभवसमेतको पुस्तक वा पत्रपत्रिकामा प्रकाशित गरेका लेखहरू दुर्लभ नभने पनि सा¥है कम छन् ।
कुनै देशमा राजदूतका निम्ति सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनवाइ समितिमा माननीयहरूबाट अमूक देशको विषयमा ‘जानकारी’ को जिज्ञासा राख्दा ‘त्यो देशको विषयमा त्यहाँ गएपछि थाहा हुन्छ’ भन्ने उत्तर समितिले पाउँछ । यसबाट थाहा हुन्छ– हाम्रा सरकारहरूले राजदूतका निम्ति कस्ता–कस्ता उम्मेदवारहरूको चयन गरे शासक दलहरू गम्भीर र जिम्मेवार भएका भए एक से एक राम्रा उम्मेदवारहरू प्रस्तुत गर्न सक्ने थिए ।
लोहनीजीसँग त्यस्ता उम्मेदवार र राजदूतहरूको कुरा गर्दा उहाँ हाँसेर टार्नुहुन्थ्यो वा अरूको टीकाटिप्पणीमा कम शब्द खर्च गर्नुहुन्थ्यो । कुनै मित्र देशसँग नीतिगत विषय र तत् तत् देशको राजनीतिक अवस्थाको विषयमा बताउनुहुन्थ्यो । सोभियत सङ्घमा पुँजीवादको पुनःस्थापनाबारे र पूर्वी युरोपेली देशहरूमा समाजवादको पतनबारे हाम्रा साथीहरूलाई अलि विस्तारपूर्वक आफ्ना व्याख्या सुनाउनुहुन्थ्यो ।
२०३६ सालमा जनमतसङ्ग्रहपछि मात्रै लोहनीजीसँग हाम्रो बरोबर भेटघाट र छलफल हुने गरेको थियो पञ्चायतकालमा भएको भूमिसुधारसम्बन्धी लेखहरू हामी पढ्ने गथ्र्याे र लेखकको नाम नखुलेका कति भूमिसम्बन्धी दस्तावेजहरूबारे लेखकको नाम कर्मचारीहरूबाट थाहा पाउँथ्यौँ ।
हामी निरन्तर काठमाडौँमा नबस्ने र कुनै लेखकको व्यक्तिगत जीवनीबारे धेरै ध्यान दिने बानीव्यहोराबारे चासो नराख्ने हुँदा एक प्रगतिशील लेखक कसरी बैङ्कमा जागिरे भए र पछि कसरी सरकारको पदहरूमा पुगे भन्नेबारे वा केही सोधपुछ पनि गर्ने गरेका थिएनौँ । साथै, पञ्चायती व्यवस्थाभन्दा पहिले लोहनीजी कुन समिति वा कुन वर्गीय सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो, थाहा थिएन भूमिगत कालमा त गुप्त नाम वा सरकारविरोधी गतिविधिबारे नगर र जिल्लाबाहिरका समितिहरूलाई थाहा पनि हुँदैनथ्यो ।
२०१७ सालअगाडि र पछाडिका उहाँका साहित्यिक रचना र भ्रमण साहित्यबारे बढी चर्चा हुन्थ्यो । साहित्यबारेको सैद्धान्तिक पक्ष र साहित्यको आलोचना एवम् समीक्षाबारे लोहनीजी र ईश्वर बरालबीच हुने आलोचना, प्रत्यालोचना एवम् प्रत्यालोचनाको पनि आलोचनाजस्ता विषयमा भक्तपुरको ‘जनअध्ययन मण्डल’ र ‘प्रगतिशील साहित्य गोष्ठी’ जस्ता युवाहरूको साहित्यिक भेलाहरूमा चर्चा हुन्थ्यो । समालोचकहरूकै कारण कति नयाँ लेखक, कवि, कलाकार र साधारण पाठकहरूलाई मूर्धन्य साहित्यकारहरूका रचनाहरू बुझ्न सहयोग पुयाउँथ्यो । आज पनि नेपाली साहित्यमा समालोचकहरूको खाँचो छ । लोहनीजी र ईश्वर बरालका साहित्यिक आलोचना र प्रत्यालोचनाहरू ‘धरती’, ‘प्रगति’, ‘त्रिचन्द्र कलेजका स्मारिका’ र पछि ‘रूप–रेखा’ आदि पत्रपत्रिकामा छापिएका थिए । ती लेखकहरूको सँगालो प्रकाशित गर्न पाए नेपाली भाषा र साहित्यको राम्रो सेवा हुन्थ्यो ।
विदेशमा सरकारी बैठकहरू र अन्तरक्रियाहरूमा भाग लिनुहुँदा फर्केर लोहनीजीले ‘गोर्खापत्र’ मा दुई–तीन अङ्कसम्मका सम्बन्धित देशबारे यात्राका आफ्ना संस्मरणहरू लेख्नुहुन्थ्यो । विभिन्न पत्रिकामा प्रकाशित उहाँका साहित्यिक छलफल र यात्रा संस्मरणहरू प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशनले छापेका भए नेपाली भाषाका दुवै विधामा पाठकहरूले अध्ययन सामग्रीहरू पाउँथे ।
गोविन्दप्रसाद लोहनीजीसँग र अन्य विद्वान् मित्रहरूसँगको भेटघाट, जानकारी र नयाँ साथीहरूको स–साना कक्षा सञ्चालनले भक्तपुरका केही पुराना र सङ्कीर्ण विचार राख्नेहरूले सरकारको विरोधमा ‘के के न गर्न खोज्यो’ भन्ने अनावश्यक हल्ला फैलाउँदा र चुकली लगाउँदा २०४५ सालको ‘भक्तपुर काण्ड’ का निम्ति ‘ग्लुकोज’ मिल्यो । भक्तपुर जिल्लाको जनमतसङ्ग्रहको परिणाम एवम् फ्रान्सेली, अमेरिकी र जर्मन प्रोजेक्टका केही कूटनीतिक एवम् प्राविधिकहरूको आवतजावतलाई समेत गलत अर्थ लगाइएको थियो ।
राजासँग पनि भेटेर सके उनलाई आफ्नो विचारले प्रभाव पार्ने र नसके उनको तर्क उपयुक्त छ भन्ने लागेमा छलफललाई अगाडि बढाउनुपर्छ तथा राजनीति कोठामा र आफ्नै साथीहरू माझमा मात्रै सीमित गर्नुहुन्न भन्नेबारे लोहनीजी जोड दिनुहुन्थ्यो । दुई–चार चोटिको भेटपछि राजासँग भेट्ने कार्यक्रम बनेको थाहा पाएँ।
भेट्ने दिनको बिहान ८ बजे नै लोहनीजीले– ‘१० बजेको कार्यक्रम स्थगित भयो र ९ बजे भक्तपुर पुगेरै सबै बताउँछु’ भन्नुभयो । ९ बजे उहाँले आश्चर्य मानेर भन्नुभयो ‘आजसम्म दरबारको कुनै कार्यक्रम यसरी स्थगित भएको थिएन ।’ कारण– गुप्तचर विभाग, प्रहरी, सेना र दरबारियाहरूसमेत ‘रोहित’ आतङ्कवादी बम बनाउने, पिस्तोल लिएर हिँड्नेजस्ता आरोपहरूको कारण कार्यक्रम स्थगित भएको थियो ।
लोहनीजी त्यस घटनाबारे धेरै आश्चर्यमा हुनुहुन्थ्यो । २०४५ सालको भक्तपुर काण्डले हामीमाथि दरबार र सिंहदरबारको कस्तो दृष्टिकोण थियो भन्ने स्पष्ट पार्छ । देशका सबै प्रजातन्त्रवादी र प्रगतिशील, वरिष्ठ कानुन व्यवसायी मित्रहरू, पत्रकारहरू, बुद्धिजीवी र राजनीतिक व्यक्तित्वहरू पनि ‘भक्तपुर काण्ड एक षड्यन्त्र हो’ भन्नेबारे एकमत हुनुहुन्थ्यो ।
जेलबाट मुक्त भएपछि राजासँगको पहिलो भेटमा मैले सोधे– ‘दुई सय पच्चीस वर्षपछि पनि के हामी विदेशी नै हौँ ?… हिरासतमा हामीलाई युद्धबन्दीहरूलाई जस्तै व्यवहार गरिएको थियो । … विदेशमा दश वर्ष बस्दा पनि हामीलाई त्यस्तो हेला–होचो र शत्रुवत् व्यवहार भएन । अदालतको फैसला प्रहरीले गर्यो– ‘ज्यानमारा’ भनेर ।’ त्यसबेला राजा वीरेन्द्रले आफूलाई केही थाहा नभएको बताएका थिए ।
नेपाल राष्ट्रबैङ्कको नोकरीपछि लोहनीजी सरकारको सेवामा पुग्नुभयो र भूमिसुधारको विषयमा आवश्यक भूमिसम्बन्धी दस्तावेज तयार गर्नुभएको सम्बन्धित कर्मचारीहरूलाई थाहा छ । तर, सामन्त, जमीनदार र जम्माधनीहरू मिलेर भूमिसुधारलाई असफल पारेको सबैलाई थाहा छैन । नामसारी रोक्का नगरी सामन्त र भूमिपतिहरूको हदबन्दीभन्दा बढी भूमि पत्ता लाग्दैनथ्यो । नामसारी बन्द गर्नासाथै त्यही भूमि बेचेर धर्मकर्म गर्नुपर्ने र सामाजिक कार्य अर्थात् विवाह, ब्रतबन्ध आदि काम रोके धर्म लोप हुने र सामाजिक कार्यमा समेत बाधा पुग्ने भन्दै देशभरका ठूला ठूला सामन्त र जग्गाधनीहरू दरबार पुगे । भूमि बेच्न नपाउँदा संविधानमा उल्लेख भएको ‘धनजनको सुरक्षा र स्वामित्व’ समेत हनन हुने हुँदा संविधानसँग बाझिने तर्क तेस्र्याए । राजाले सल्लाह लिने गुरु–पुरोहित र महान्यायाधिवक्ताहरूसँग हो । तिनीहरू आफैँ सामन्त र भूमिपति हुँदा सामन्तहरूको आपत्तिलाई नै न्यायोचित बताउने भए, त्यही भयो ।
तिनीहरूकै सल्लाहअनुसार केही महिना नामसारी गर्ने अधिकार मालपोतलाई दिइयो । दोस्रो दिनदेखि परिवारका हरेक सदस्यको नाममा समेत नामसारी गरे । बढी जग्गालाई आँगनको पिपलको बोट, कालो कुकुर, नोकर–चाकर, नातागोता सबैको नाममा पिपले, काले, फलाना भन्दै नामसारी गरे । आखिर जङ्गलको नजिकको, खोँच र नदीले छोडेका केही प्रतिशत जग्गा मात्रै सीमाबाहिर देखिएपछि भूमिहीन किसानलाई बाँड्ने जग्गा नै भएन । पछि भूमिसुधार असफल भयो । केही ठूला–ठूला चक्ला भएका जग्गा उद्योगमा पारी मोहियानी हक र हदबन्दीभन्दा बाहिर पारियो तर सामन्तहरूको मनमा केही बुद्धिजीवीले राजालाई भड्काएको भन्ने थियो ।
कति वर्ष लोहनीजीले नेपाल सरकारको वार्षिक बजेट बनाउन सहयोग गर्नुभयो र अर्थमन्त्रीले प्रस्तुत गरे । कहिलेकाहीँ राष्ट्रिय पञ्चायत र सदनमा समेत ‘भाषा पुरानै बजेटको हो’ भन्ने हल्ला हुन्थ्यो ज्येष्ठ नागरिकहरूको ‘वृद्धभत्ता’ जस्ता लोककल्याणकारी बजेटमा लोहनीजीको योगदान देख्छु ।
यसरी गोविन्दप्रसाद लोहनीजीले एकातिर प्रगतिशील विचार, नेपाली भाषा र साहित्यमा प्रगतिशील सोच, देशको अर्थतन्त्र, भूमिसुधार र लोककल्याणको बजेट एवम् कूटनैतिक क्षेत्रमा पनि सरकारहरूलाई सहयोग पु¥याउनुभएको प्रस्ट छ ।
पछिल्लो राजनैतिक क्षेत्रमा पनि उहाँले बरोबर राजनैतिक नेताहरू र व्यक्तित्वहरूलाई आफ्नै घरमा साना भेलामार्फत सहयोग गर्नुहुन्थ्यो ।
हामी पनि कहिलेकाहीँ एक्लै वा दुई–चार जनाको भेटघाटमा पुग्थ्यौँ र उहाँ भक्तपुरमा पनि बरोबर आउनुहुन्थ्यो । त्यो सम्बन्ध पारिवारिक सम्बन्धजस्तै विकास भयो । लोहनीजीकी श्रीमती रुचिलाबाला देवीले व्यवहारमा अगुवाइ गर्नुहुन्थ्यो । त्यस अर्थमा उहाँ सफल गृहिणी र सत्कारकी प्रतीक हुनुहुन्थ्यो । २०५३ सालमा मुटुको रोगले उहाँको दुःखद निधन भयो र अर्धाङगिनीको देहावसानले गोविन्दप्रसाद लोहनीजीको दैनिक जीवन र शारीरिकरूपमा पनि असर पर्नु स्वाभाविक थियो ।
शारीरिक कमजोरीले आवतजावतमा बाधा दिएको कारण हामी लोहनीजीको कार्यक्रम र जन्मदिनमा सुस्वास्थ्य एवम् दीर्घ जीवनको कामना गर्न घर पुग्थ्यौँ। साथीहरू र हितैषीहरूसँगको भेटघाटबाट उहाँ हँसमुख देखिनुहुन्थ्यो ।
कोरोना, अस्पतालको नियम र ‘लकडाउन’ जस्ता स्थितिको कारण अन्तिम दिनहरूमा लोहनीजीसँग भेट हुन सकेन । उहाँको निधनको समाचारले हाम्रो पार्टीका साथीहरू पनि दुःखी भए ।
गोविन्दप्रसाद लोहनीजीको रचनाहरूको ग्रन्थ सँगालो प्रकाशित गर्ने कार्यमा छोरा कपिलजी र नाति–नातिनीको सक्रिय सहयोग रहिरहने आशा एवम् विश्वास गर्छौँ स्मृतिग्रन्थका निम्ति उहाँहरूको मेहनत अत्यन्त सराहनीय हुने छ ।
अन्तमा, स्मृतिग्रन्थका सम्पादक विमल भौकाजीलाई साधुवाद छ ।

(लेखक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष हुनुहुन्छ भने राजनीतिको क्रममा उहाँले कैयन् वर्ष बन्दी जीवन पनि बिताउनुभएको छ । उहाँका सयौँ लेखहरू र धेरै पुस्तकहरू प्रकाशित छन् । प्रखर वामपन्थी बुद्धिजीवी, राजनैतिक चिन्तक, संस्कृतिविद्, साहित्यकार र दर्शनशास्त्रीबाहेक उहाँ एक निर्भिक, इमानदार र स्पष्टवक्ताका रूपमा समेत चिनिनुहुन्छ ।)
स्रोत : गोविनदप्रसाद लोहनी स्मृति ग्रन्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *