यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
देशघाती एमसीसीको विरोधमा राजनैतिक इमानदारिता देखाएको एउटा पार्टी नेपाल मजदुर किसान पार्टी हो । नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौता सुरु भएको दिनदेखि संसद्मा पारित भएको दिनसम्म सभा, जुलुसजस्ता विभिन्न विरोध कार्यक्रमहरू देशभरि गरिरह्यो । तर, नेपाली काङ्ग्रेसले यसको समर्थन गरेको थियो । नेपाल मजदुर किसान पार्टीले शोषित पीडित जनताको पक्ष लिएको छ । नेमकिपा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्छ । नेपाली काङ्ग्रेसले शोषक, सामन्त, जमिनदार र पुँजीपति वर्गको पक्ष लिएको छ । ऊ भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको समर्थन गर्छ । नेपाल मजदुर किसान पार्टी देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न लागिरहेको छ । नेपाली काङ्ग्रेस देशको सार्वभौमिकताबारे ख्याल गर्दैन । नेपाल मजदुर किसान पार्टी शत्रुसामु झुक्दैन । यो विदेशीसँग हात नथापी आफ्नै खुट्टामा उभेर देश बनाउनुपर्छ भन्ने देशभक्तिको भावना र इमानदारीका साथ निरन्तर अगाडि लम्किरहेको छ । नेपाली काङ्ग्रेस विदेशीसँग हात थाप्ने विदेशी पुँजीपरस्त र लेण्डुप डोर्जेको बाटोमा अगाडि बढिरहेको पार्टी हो ।
देशघाती एमसीसी सम्झौता पास भएको दिन फागुन १५ गते संसद्मा नेपाली काङ्ग्रेसका नेता गगन थापाको अभिव्यक्तिले नेपाली काङ्ग्रेस मगन्तेहरूको पार्टी हो भन्ने कुरा स्पष्ट हुन्छ । उनले उक्त दिन ‘यो एमसीसीलाई जतिसक्यो छिटो पास गरौँ, ५५ अर्ब रूपैयाँ लेऔँ, चीनसँग बीआरआईमार्फत ७० अर्ब मागौँ, लेऔँ र भारतसँग पनि ८० अर्ब मागौँ र लेऔँ भने । काङ्ग्रेस देश आफ्नै खुट्टामा उभेर आफैँले बनाउने आँट नभएको मगन्ते पार्टी हो भन्ने कुरा उनको भनाइले प्रमाणित हुन्छ । नेमकिपाले यो विदेशी सहयोगले हाम्रो देश बन्दैन, देश हामी आफैँले बनाउने हो, यसलाई खारेज गरौँ भनी बोल्यो । नेता गगन थापाले संसद्मा नेमकिपाको राजनैतिक इमानदारितालाई सम्मान गरेर आजसम्म नेमकिपा एउटाबाहेक सबै दल एमसीसीको निर्णयमा संलग्न छन् । उनले आजसम्म सरकारमा नगएको र कहीँ कतै सही नगरेको एकमात्र पार्टी नेमकिपा हो भनेका थिए । उनलाई नेमकिपाको राजनैतिक इमानदारिताले त्यस्तो भन्न बाध्य पारिएको थियो । त्यसैले पार्टी ठूलो या सानो टाउको गन्तीले होइन । यो उपयुक्त समयमा देश र जनताको हितमा लिने विचार, अडान र काम व्यवहारले थाहा हुन्छ ।
नेपाल मजदुर किसान पार्टीले देशघाती एमसीसी सम्झौताले देश र जनताको हित गर्दैन, घात गर्छ भन्दै देशमा नेपाली जनतालाई सचेत गर्दै आएको जगजाहेर छ । विदेशी सहयोगले कहीँ देश बनेको छैन । नेपालमा पचासौँ, सयौँ खर्ब विदेशी सहयोग आइसके तर नेपाल बनेन । यदि विदेशी सहयोगले देश विकास हुने भए दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकाको विकास उही बेला भइसक्नुपर्ने थियो तर भएन । नेपाली काङ्ग्रेका नेता शेरबहादुर देउवाको पालामा सन् २०१७ सेप्टेम्बर १४ तद्नुसार विसं २०७४ भदौ २९ गते बिहीबारका दिन तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र संयुक्त राज्य अमेरिकाको तर्फबाट एमसीसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन जीनासबिच पदीय मर्यादालाई समेत तिलाञ्जली दिएर वासिङ्टन डीसीमा एमसीसी कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएदेखि नेमकिपाले विभिन्न कार्यक्रम गरी विरोध गर्दै आएको थियो । यसले यो देशघाती एमसीसी सम्झौतालाई खारेज गराउन २०७६ फागुन १३ गते काठमाडौँको रत्नपार्कदेखि विशाल जुलुस गरी महाराजगञ्ज पुगेर अमेरिकी दूतावासमार्फत तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विरोधपत्र पठाएको थियो । यसैको विरोधमा नेमकिपाले २०७८ भदौ २१ गते काठमाडौँको रत्नपार्कबाट सुरु गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि अमेरिकी साम्राज्यवादलाई खुसी पार्न देउवा सरकारले जुलुस महाराजगञ्जको कान्तिचोकमा पुगेपछि निर्मम दमन गरेको थियो ।
नेमकिपाले एमसीसीको सम्झौता खारेज गराउन विसं २०७८ पुस १६ गते सङ्घीय संसद् भवनको तीनतिर पश्चिमपट्टि माइतीघर, उत्तरपट्टि पुरानो बानेश्वर चोक र पूर्वपट्टि कोटेश्वरबाट एकै समयमा अलगअलग भव्य र अनुशासित विरोध जुलुस गरेर बानेश्वरमा विरोध सभा गरेको थियो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले एमालेको अवरोधका कारण बन्द रहेको संसद्को बैठकलाई सुचारु गर्न प्रम देउवाले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा एमसीसी खारेज गर्नुपर्ने मत राखेका थिए ।
सर्वदलीय बैठकपछि सुरु भएको संसद्को बैठकमा समय लिएर एमसीसी र अमेरिकी साम्राज्यवादको विरोधमा बोलिरहँदा अमेरिका रिसाउला भनेर माइक नै काटिएको थियो । एमसीसी पास गरेको दिन फागुन १५ गते संसद्मा प्रतिनिधित्व गर्ने दलको तर्फबाट सांसद सुवालले चर्काे विरोध गर्दै नारा लगाइरहेका थिए । नेमकिपाले देशको विभिन्न जिल्लाको एमसीसीको विरोधमा जुलुस र सभा गरी जनतालाई सचेत गर्ने काम गरिरहेको जगजाहेर छ । यसरी नेमकिपाले देशभक्ति र राजनैतिक इमानदारिता प्रदर्शन गर्दै आएको सबैले देखेकै हुन् ।
देशघाती एमसीसीको सवालमा नेपाली जनतालाई धोका दिने दलमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी देखिए । एमसीसी सम्झौतामा देशघाती बुँदाहरू संशोधन नभएसम्म यथास्थितमा संसद्मा पेस हुँदैन, यदि देउवाले जबरजस्ती पेस गरेमा हामी गठबन्धन सरकारबाट बाहिर आउँछौँ र विपक्षमा मतदान गर्छौँ भन्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताको लोभमा दक्षिण र मध्य एसिया मामला हेर्ने डोनाल्ड लुको धम्कीको अगाडि आत्मसमर्पण गरे । उनीहरूले आफूले भनेजसो न देशघाती बुँदाको संशोधन गर्न सके, न संसद्मा टेबुल गर्नबाट रोक्न सके, न गठबन्धन सरकारबाट राजिनामा दिएर बाहिर आउन सके, न विपक्षमा मतदान गर्न सके । तिनीहरू सबै धम्कीको छायाबाट डराए । अझ सभामुखले प्रत्यक्ष मतदान नगराइकन ‘हुन्छ’ भन्ने ध्वतिमतको आधारमा सजिलैसँग पास गर्न सहयोग गरे । यसरी उनीहरू भारतको मात्र होइन अमेरिकाको पनि ट्रोजन हर्स बने । आज देशघाती एमसीसी सम्झौताको देशद्रोही नाटक मञ्चन गरेर उनीहरूले देशको सार्वभौमिकता र स्वाधीनतामा आँच पु¥याउने काम गरे ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ र लीलामणि पोखरेल अहिले के गर्दा हुन् ? यता देशभन्दा ज्यान ठूलो हुँदैन, सर्वदलीय सहमति, राष्ट्रिय सहमति नभइकन देशघाती एमसीसी सम्झौता संसद्मा पेस हुँदैन, एमालेको अवरोध नहटिकन यथास्थितिमा एमसीसी टेबुल हुँदैन भनी अडान लिइरहेका सभामुख अग्निप्रसाद सापकोटाले पनि आफ्नो अडान छोडेर एमसीसी पास गराउने बाटो खोले ।
प्रतिनिधि सभा विघटनविरुद्ध आफूहरूले आह्वान गरेको नेपाल बन्द कार्यक्रममा सातदोबाटोमा पुगेका माओवादी अध्यक्ष दाहालले ‘देशघाती एमसीसी सम्झौता खारेज गर’ भनी आफ्ना कार्यकर्ताहरूले लगाएको नारालाई रोकेको सबैले देखेका थिए । तत्कालीन प्रम ओलीले आफूहरूलाई कारबाही गरेर सांसद, मन्त्री पद खाइदेला भन्ने डरले दाहाल र नेपाल बुढानीलकण्ठमा बसेका शेरलाई उठाउन गएका थिए । त्यसैले उनीहरू ओलीको बहुमतको सरकार ढालेर देउवालाई प्रम बन्न प्रचण्ड र माधवले अनुनय विनय गरेका थिए । घटनाक्रमले देउवालाई परमादेशबाट प्रम बनाएको परिणाम एमसीसी पास गराउन रहेछ भन्ने प्रमाणित हुन्छ । आफ्नै घरमा आगो लगाएर खरानी घस्नेहरूलाई कुनै दिन शेरले झम्ट्यो भने कुनै आश्चर्य मान्नुपर्ने छैन । अमेरिकालाई पाँच महिनाभित्र एमसीसी पास गरिदिन्छौँ भनी बिन्ती पत्र पठाउने अनि यता सडकमा कार्यकर्ताहरूलाई नाराबाजी र तोडफोड गर्न लगाएर उनीहरूले द्वैधचरित्र देखाए ।
यता ओलीले आफ्नो सरकारको पालामा अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका पठाएर प्रतिबद्धता पत्रमा सही गर्न लगाएका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २०१८ डिसेम्बर १८ मा अमेरिका पुगेर विदेशमन्त्री पोम्पेओसँग हात मिलाएको फोटो खिचाएका थिए । ओलीले त्यसलाई फेल गर्न होइन पास गर्नकै लागि पेस गरेको पुष्टि हुन्छ ।
नेमकिपाले जति देश र जनताको लागि अरू ठूला भनिएका दलले काम गरिदिएको भए, देशको रक्षा गर्न र विकासको लागि अडान लिएको भए, जनतालाई सचेत पारेको भए, राजनीतिक इमानदारिता देखाएको भए आज देशको अवस्था यस्तो हुने थिएन ।
Leave a Reply