रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
नाटोको सम्भावित विस्तारबारे प्रचार माध्यमहरूमा खुबै चासो दिइएको छ । यस्तो बेला जनतालाई अफ्रिकामा नाटोको रगतपच्छे इतिहास सम्झाउनुपर्छ । दोस्रो विश्वयुद्धपछि सन् १९४९ मा नाटोको स्थापना भयो । त्यसबेला अफ्रिकी देशहरू उपनिवेशकै सिक्रीले बाँधिएका थिए । नाटो स्थापना गर्नेहरू वास्तवमा अफ्रिकामा उपनिवेश जमाउने मुख्य देशहरू नै थिए । जस्तो बेलायत, फ्रान्स, पोर्चुगल, बेल्जियम, इटली र संरा अमेरिका नाटोका मुख्य सङ्गठक र प्रभावशाली साझेदार थिए । यो सङ्गठन सोभियत सङ्घविरुद्ध सामूहिक सुरक्षा गठबन्धनका रूपमा स्थापना भएको थियो । सङ्गठनको कुनै एउटा देशमाथिको आक्रमणलाई सबैमाथिको आक्रमणको रूपमा हेर्ने र सामूहिकरूपमा प्रतिकार गर्ने धारा ५ मा प्रावधान थियो ।
सम्भाव्य सोभियत आक्रमण र साम्यवादको फैलावट रोक्ने निहुँमा नाटोको स्थापना भएको थियो । सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि नाटोको आवश्यकता नरहनुपर्ने हो । तैपनि, त्यसपछि १२ संस्थापक देशहरूबाट विस्तार भएर नाटो ३० सदस्य देशमा फैलियो । थपिएका केही पूर्वी युरोपेली सदस्यहरू पूर्व सोभियत गणतन्त्रहरू र वार्सा सन्धिका साझेदार थिए । आज नाटो संरा अमेरिकी साम्राज्यले नियन्त्रण गर्ने बृहतको सैन्य उद्योग गिरोहको गाडा हाँक्ने इन्जिन बनेको छ । विश्वभर आफ्नो दबदबा कायम गर्ने कर्पोरेट पुँजीको अगस्ती भोकले नाटो परिचालित छ ।
नाटो अखडाको रूपमा औपनिवेशिक अफ्रिका
वाल्टर रोड्नीले औपनिवेशिक अफ्रिकालाई नाटोको जग बनाएको विषयमा सटिक वर्णन गरेका छन् । यसबारे ‘कसरी युरोपले अफ्रिकालाई अल्पविकसित तुल्यायो’ नामक पुस्तकमा रोड्नी लेख्छन् ः
“भन्नु नपर्ला, १९५० को दशकताका धेरै अफ्रिकी देशहरू उपनिवेशकै स्थितिमा थिए । सैन्य प्रयोजनको लागि उपयोग भइरहेको स्वदेशी माटोमाथि उनीहरूको कुनै नियन्त्रण थिएन । झट्ट हेर्दा उत्तर अफ्रिका पूर्णतः नाटोका गतिविधिका लागि प्रयोग भएको थियो । ती अखडाहरू सोभियत सङ्घविरुद्ध लक्षित थिए । अफ्रिकी जनतालाई थाहै नदिई आणविक युद्ध पनि सजिलै गर्न सक्ने स्थिति थियो । १९५० को दशकको आरम्भमा डाकार र नैरोबीजस्ता अफ्रिकी सहरहरूमा औपनिवेशिक शक्तिहरूले सैन्य सम्मेलनहरू गरे । त्यसमा दक्षिण अफ्रिका, रोडेसिया र संरा अमेरिकी सरकारका गोरा प्रतिनिधिहरू आमन्त्रित थिए । बारम्बार पुँजीवादलाई आर्थिक र सैन्यरूपमा पोस्न अफ्रिकाको स्वार्थी उपयोग गरिएको र यसरी अफ्रिकालाई आफ्नै शोषणमा योग दिन बाध्य पारिएको प्रमाणहरूले पुष्टि गर्छन् ।”
क्वामे एनक्रुमाले सन् १९६७ मा ‘कङ्गोको चुनौती’ नामक पुस्तकमार्फत् यसबारे सजग बनाएका थिए । उत्तर अफ्रिकामा नाटोले सञ्चालन गरेका कम्तीमा १७ वटा वायुसेनाको अखडा, ९ वटा विदेशी जलसेनाको अखडा, ३ वटा रकेट र आणविक परीक्षणका अखडा थिए । त्यसबाहेक दर्जनौँ अफ्रिकी देशहरूमा सैन्य मिसनहरू परिचालित थिए । साथै कङ्गो, अङ्गोला, दक्षिण अफ्रिका र रोडेसियाजस्ता देशका खानीको दोहनबाट कच्चा पदार्थ बनाई आणविक हतियारहरू उत्पादन गरिएको थियो । एनक्रुमाले ‘क्रान्तिकारी युद्धको हातेपुस्तिका’ मा नाटोलाई तत्काल चुनौती दिन रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याए । त्यसमा उनले अफ्रिकी देशहरूको एउटा उच्च सैन्य कमाण्ड बनाउनुपर्ने र सम्पूर्ण अफ्रिकी देशहरूको क्रान्तिकारी जनसेना (एएपीआरए) बनाउनुपर्नेमा जोड दिए ।
नाटोको संस्थापक सदस्यको रूपमा पोर्चुगलको उदाहरण केलाउनु अर्थपूर्ण हुन्छ । अफ्रिकाका महान् स्वतन्त्रता सेनानी अमिलकार कब्रालले पोर्चुगललाई ‘साम्राज्यवादको सडेको अङ्ग’ भन्नुभएको थियो । उहाँले भन्नुभयो, “पोर्चुगल पश्चिम युरोपको सबैभन्दा अल्पविकसित देश हो । नाटो, नाटोको गठ्ठाघर, नाटोका विमान र बमबेगर पोर्चुगलले अफ्रिकामा तीनतीनवटा औपनिवेशिक युद्ध लड्न किमार्थ सक्दैनथ्यो ।”

काब्राल थप व्याख्या गर्नुहुन्छ । पोर्चुगलले अफ्रिकामा आफ्ना उपनिवेशहरू कायम गर्नसक्नुको पछाडि एउटै कारण थियो । त्यो के भने सन् १७७५ यता पोर्चुगल बेलायतको अर्ध उपनिवेश थियो र अफ्रिका टुक्राउने बेला बेलायतले पोर्चुगलको स्वार्थको बचाउ गरेको थियो । संरा अमेरिकाले नाटो बनायो । नाटोले पोर्चुगल र उसका उपनिवेशहरूलाई अफ्रिका र विश्वभर आफ्नो दबदबा कायम गर्ने ठूलो उद्देश्यले प्रयोग ग¥यो । पोर्चुगलले गिनी बिसाउ, केप भेर्दे, अङ्गोला र मोजाम्बिकजस्ता आफ्ना उपनिवेशहरूमाथि कहालीलाग्दो युद्ध थोप¥यो । जस्तो अमेरिकाले भियतनाममा थोपरेको थियो । दुवै घटनामा औपनिवेशिक देशहरूले झुक्न नमान्ने गुरिल्ला सेनाविरुद्ध नापाम र क्लस्टर बमबारीजस्ता आधुनिक हतियारहरूको प्रयोग गरेर हजारौँहजार मान्छे मारे । नाटोको हातहतियार र आपूर्ति व्यवस्थाको उपयोग गरेको बदलामा पोर्चुगली तानाशाह मार्सेलो काएटानो अङ्गोलामा केही नाटो देशहरूलाई आर्थिक सहुलियत दिन बाध्य भयो । तैपनि, उपनिवेशवादविरोधी जोदाहा शक्तिविरुद्ध पोर्चुगल पराजित भयो ।
नवउपनिवेशको नाटो रणनीति
साम्राज्यवादले सधैँ फुटाउ र राज गरको रणनीति अपनाएको छ । नाटोलाई ‘कल्याणकारी’ देखाउन रैथाने अफ्रिकीहरूको नवऔपनिवेशिक वर्ग जन्माउनुपर्छ भन्ने कुरा औपनिवेशिक शक्तिहरूलाई थाहा थियो । राष्ट्रिय मुक्ति आन्दोलनमा रहेका साम्राज्यवादी शक्तिसँग मित्रवत व्यवहार गर्न चाहने र उपनिवेशवादबाट पिण्ड छुटाउन चाहने दुईथरी नेतृत्वबीचको फाटोमा तिनीहरूले चलखेल गरे । ‘नवउपनिवेशवाद, साम्राज्यवादको अन्तिम खुड्किलो’ नामक पुस्तकमा एनक्रुमाले नवउपनिवेशी शक्तिले प्रयोग गरेका अनेक दाउपेचबारे चर्चा गरेका छन् । यसमा आर्थिक, राजनीतिक, धार्मिक, विचारधारात्मक र सांस्कृतिक दाउपेच पर्छन् । यस्तो गर्न नाटोले सीआईएजस्ता साम्राज्यवादी संयन्त्रहरूसँग काँधमा काँध मिलाउँछ । एनक्रुमाको सरकारविरुद्ध कू गर्न र पेट्रिस लुमुम्बाको हत्या गर्न सीआईए महत्वपूर्ण औजार साबित भएको थियो । दक्षिण अफ्रिकामा पर्ने अजानियाको विदेशी बसोबास क्षेत्र नाटोको बाहिरी अखडाको अर्को उदाहरण हो । सुरुदेखि नै यो पश्चिमा र नाटो शक्तिको पक्षमा थियो । किनभने, यो बस्ती बेलायतले बसालेको थियो । यस हिसाबले यो नाटोको अखडा बन्यो । सन् १९५५ मा दक्षिण अफ्रिका र बेलायतले सिमोन्स्टाउन सम्झौता गरे । त्यस सम्झौतामा केपदेखि कायरोसम्मको अफ्रिकी महादेशको भूभागमा जलसेनाको निगरानी र प्रतिरक्षाको सर्त पनि थियो । सैन्य नाकाबन्दीको स्वाङ पार्दै नाटोका सदस्यहरू र इजरायलले दक्षिण अफ्रिकालाई आणविक हतियारहरू उत्पादन गर्न आवश्यक प्रविधि दिए ।
नाटो र अफ्रिकम
संरा अमेरिकाको युरोपेली कमान्ड ‘युकम’ बाट जन्मेको अफ्रिकम नाटोको प्रत्यक्ष सन्तान हो । युकम नाटोको केन्द्रीय कमान्ड हो । यसले सुरुदेखि नै ४२ वटा अफ्रिकी राज्यहरूको जिम्मेवारी लिएको थियो । सन् २००४ मा नाटोले आफ्नो पाँचवर्षे विस्तार अवधि टुङ्ग्यायो । सन् २००७ मा युकमका कमान्डरले अफ्रिकम खडा गर्नुपर्ने प्रस्ताव राखे । युकमको कमान्डर र नाटोको अपरेसन दलको कमान्डरको पदमा रहेर आफू कसरी अफ्रिकम खोल्नुपर्ने निष्कर्षमा पुगेका थिए भनी जेम्स एल जोन्स जुनियरले व्याख्या गरेका छन् । सन् २०११ मा लिबियालाई ध्वस्त पार्न संरा अमेरिका र नाटोले खेलेको भूमिकाले केही महत्वपूर्ण पाठहरू सिकाउँछ । पहिलो, संरा अमेरिकी साम्राज्यवाद र त्यसका पश्चिमा पिछलग्गूहरूले तिनको प्रभावबाहिर बसेर आफ्नो निर्णय आफै गर्ने कुनै पनि देशलाई स्वीकार्दैनन् । दोस्रो, लिबिया घटनाले कसरी नाटोले राष्ट्रसङ्घजस्ता संरा अमेरिका र पश्चिको चङ्गुलमा रहेका विश्व संस्थाहरूसँग हातमा हात मिलाएर काम गर्छ भनी देखाइदियो । सन् २०११ मा राष्ट्रसङ्घले (१९७३ को प्रस्तावअनुसार) लिबियामा ‘उडान निषेधित क्षेत्र’ घोषणा गर्न राजनीतिक अधिकार दियो । उसले लिबियाली नागरिकहरूको ‘सुरक्षा’ गर्ने बहानामा लिबियामाथि आर्थिक नाकाबन्दी लगाउने अधिकार दियो । तर, यो अधिकारले लिबियालाई धुलोपिठो पा¥यो । लिबिया त्यतिबेला अफ्रिकाकै सबैभन्दा समृद्ध देश थियो । मानव विकास सूचकाङ्कमा ऊ अफ्रिकामै सबैभन्दा अब्बल थियो ।

संरा अमेरिका नेतृत्वको बमबारीले हजारौँ सर्वसाधारणको हत्या ग¥यो र अरबौँको धन र भौतिक पूर्वाधार ध्वस्त पा¥यो । यसरी अमेरिका नेतृत्वको नाटोले बेलाबखत राष्ट्रसङ्घलाई राजनीतिक आवरणको रूपमा प्रयोग गर्छ । तैपनि, राष्ट्रसङ्घको आदेशलाई कुल्चिँदै अवैध रूपमा मानवताविरोधी अपराध गर्न र सत्तापलट गर्न उसले अप्ठ्यारो मान्ने गर्दैन । राष्ट्रसङ्घमा मतदान नगर्ने चीनजस्ता केही देशहरूले पनि प्रस्ताव अनुमोदन गर्ने प्रतिक्रियावादी अरब लीग र अफ्रिकी युनियनलाई नचिढाउन त्यसो गरेको बताए । यो घटनामा नाटो, राष्ट्रसङ्घ, अफ्रिकी युनियन र अरब लीग (यसमा तेलका खानी भएका जीसीसी देशहरू पनि छन्) को प्रत्यक्ष र परोक्ष मिलेमतो देखिन्छ । यसबाट संरा अमेरिका र नाटोको जालो कति महँगो र गहिरो छ भन्ने छर्लङ्ग हुन्छ ।
सिन्थिया म्याकिन्नेले सम्पादन गरेको पुस्तक ‘लिबियामाथि अवैध युद्ध’ मा एउटा अध्याय छ । ‘नाटोको लिबिया युद्ध, नुरेमबर्ग स्तरको अपराध’ मा लेखक स्टेफेन लेडमान लेख्छन् ः
“लिबियामाथि अमेरिकी नेतृत्वको नाटोको युद्धलाई इतिहासमा सबैभन्दा ठूलो अपराधको रूपमा स्मरण गरिनेछ । यसले अन्तर्राष्ट्रिय कानुन र अमेरिकी संविधानको भावना र मर्म मिचेको छ । नुरेमबर्ग अदालतका प्रमुख न्यायाधीश रोबर्ट ज्याक्सन (अमेरिकी प्रधान न्यायाधीश) ले नाजी युद्धलाई ‘शान्ति खल्बल्याउने अन्तर्राष्ट्रिय अपराध’ भनेका थिए । १९४५ नोभेम्बर २१ मा अदालती कार्यवाही सुरु गर्दै उनले भनेका थिए ः
हामीले निन्दा र दण्डित गर्न खोजेको खराबी कति नापतौल गरिएको, कहालीलाग्दो र विनाशकारी थियो भने यसखाले खराबीलाई नदेखेझैँ गरेको सभ्यताले सहन सक्दैन किनभने यस्तो खराबी बारम्बार दोहोरिए सभ्यता बाँच्न सक्नेछैन ।
ज्याक्सनले आक्रामक युद्धलाई ‘हाम्रो युगको सबैभन्दा ठूलो दुष्टता’ भने । अन्तर्राष्ट्रिय कानुनले शान्ति खल्बल्याउने अपराधलाई यसप्रकार परिभाषित गरेको छ ः ‘आक्रामक युद्धको योजना बनाउनु, तयारी गर्नु, थाल्नु वा लड्नु, अथवा अन्तर्राष्ट्रिय सन्धिसम्झौता वा आश्वासन भङ्ग गर्ने युद्ध गर्नु, अथवा यस्ता काम फत्ते गर्ने साझा योजना वा षड्यन्त्रमा सहभागी हुनु ।’
दोस्रो विश्वयुद्धपछिका सबै अमेरिकी युद्धहरू यही परिभाषाभित्र पर्छन् । त्यसयता संरा अमेरिकाले विश्वभर प्रत्यक्ष र परोक्ष (प्रोक्सी) युद्धको योजना बुनेको छ र आक्रमण गरेको छ । उसले पूर्वी र मध्य एसिया, अफ्रिकाका उत्तरी र अन्य भूभाग, मध्यपूर्व, युरोप, मध्य र दक्षिण अमेरिकामा लाखौँलाख जनता मारेको छ ।”
यहाँ उल्लेख गरिएको दृश्य नाटो र अफ्रिकमले अफ्रिकी इतिहासमा मच्चाएका रगताम्य काण्डको झलक मात्र हो । शान्तिसेनालाई ‘तालिम दिने’ र ‘मानवीय’ सहयोग गर्ने नाममा नाटोले निरन्तर चलखेल गर्दै छ । अफ्रिकम र नाटोले लिबियालाई ध्वस्त पारेयता अफ्रिकी महादेशमा जिहादी आतङ्ककारीहरूको हिंसा चुलिएको छ । यसले गर्दा धेरै सर्वसाधरणले ज्यान गुमाएका छन् र अस्थिरता छाएको छ । यही समस्यालाई निहुँ बनाएर पश्चिमाहरूले अफ्रिकमको निरन्तर चलखेललाई उचित ठह¥याउने गरेका छन् । अफ्रिकमको ‘शान्तिका लागि अश्वेत गठबन्धन’ नामक बुलेटिन निकाल्छ । त्यसमा अफ्रिकमको स्थापनायता अफ्रिकमले तालिम दिएका सैनिकहरू संलग्न रहेका सैनिक विद्रोहहरू बढेको रिपोर्ट छ ।
एनक्रुमा, रोड्नी र अन्य विश्लेषकहरूले १९६० र १९७० को दशकमा दिएको चेतावनी अझै सान्दर्भिक छ । नाटोले आज पनि अफ्रिकममार्फत् लडाइँ गराउन, अस्थिरता मच्चाउन र अफ्रिकामा बहुराष्ट्रिय कम्पनीहरूको लुटपाट चलाउन मलजल गर्दै छ । कोबल्ट, टान्टालम, क्रोमियम, कोल्टन, युरानियमजस्ता सामरिक कच्चा पदार्थहरू हुनाले नै कङ्गो प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) लगातार लुटपाटमा पर्नु यसको एउटा उदाहरण हो । यी धातुहरू विद्युतीय उपकरणहरूमामात्र प्रयोग हुने होइन, सैन्य उद्योगसम्बन्धी प्रविधिमा पनि यिनको व्यापक प्रयोग हुन्छ । कङ्गोमा आफ्नो पक्षबाट लडाइँ गर्न अफ्रिकम नवऔपनिवेशी अफ्रिकी भरिया दल (प्रोक्सी) हरूमा निर्भर रहँदै आएको छ । चीनको उदयसँगै संरा अमेरिका र नाटो विश्वभर पूर्ण प्रभुत्व कायम गर्न खोज्दै छन् । तिनीहरू चीनलाई मात्र होइन विश्व पुँजीको नियन्त्रणमा प्रतिस्पर्धा गर्न खोज्ने जुनसुकै देशलाई रोक्न खोज्दै छन् ।
नेपाली अनुवादः सुरेश
Leave a Reply