के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
कुनै पनि कम्युनिस्ट पार्टीले एकातिर क्रान्ति या आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्षको बाटो लिन्छ भने अर्कोतिर नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनमा देखापरेको खोटा विचारको पनि खण्डन गर्न आवश्यक छ । कम्युनिस्ट पार्टी आफ्नो उद्देश्य पूरा गर्न परिवर्तनको निम्ति कार्यकर्ता तथा जनतालाई राजनीतिकरूपले सुसूचित पार्न र खोटो विचारको आलोचना गर्दै अघि बढ्नुपर्छ । माक्र्सवादीहरू वर्गसङ्घर्षलाई स्वीकार्छन् । वर्गसङ्घर्षको निम्ति कम्युनिस्ट पार्टीले बाटो तयार गरेको हुन्छ या पूर्वाधारहरू तयार गरिरहेको हुन्छ । त्यसको पहिलो बाटो जनतालाई सचेत र सङ्गठित गर्नु नै हो । नेपालका कम्युनिस्ट भनिने दलले दलको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद राखे पनि तद्नुसार राजनीति गरिरहेको छैन । ती दलका नेताहरूले कम्युनिस्टको खोल ओढेर पुँजीवादी राजनीति गरिरहेका छन् । यो उनीहरूको खोटो विचार हो । त्यसकारण, सच्चा कम्युनिस्ट पार्टीले खोटो विचारको विरोध गरी सही मार्गमा ल्याउने काम पनि गर्नुपर्ने हुन्छ । यसरी वर्गसङ्घर्षको बाटो तयार गर्ने र खोटो विचारको विरोध गर्ने कार्यमा नेमकिपा अग्रस्थानमा छ । नेमकिपाले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । यो नेमकिपाको इमानदारिता हो ।
नेपालका कति कम्युनिस्ट पार्टीका नेताहरू आफूलाई ठूला, शक्तिशाली, क्रान्तिकारी ठान्छन् । तर, कम्युनिस्ट सिद्धान्त र विचारअनुसार अघि बढ्दैनन्, बढिरहेका छैनन् । उनीहरू वर्गसङ्घर्षलाई आत्मसात गर्दैनन् । निर्वाचनबारे या शान्तिपूर्ण ढङ्गबाटै समाजवाद आउने विश्वास गर्छन् । कम्युनिस्ट भन्ने कति नेता, लेखक र बुद्धिजीवीहरू वर्गसङ्घर्षमा विश्वास गर्ने दलका नेताहरू कम्युनिस्ट नै होइन भनी ठोक्छन् । शान्तिपूर्ण तरिकाबाट कुनै पनि देशमा समाजवाद स्थापना भएको छैन, भए पनि त्यो स्थिर हुनेछैन या टिक्ने छैन । शान्तिपूर्ण तरिकाबाट समाजवाद आउँछ भन्नुको अर्थ वर्गसङ्र्घलाई अस्वीकार गर्नु हो । यो माक्र्सवादविरोधी सोच हो । माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्ने दलले वर्ग सङ्घर्षको बाटो छोड्नु भनेको जनतामाझ झूटको खेती गर्नु हो । यसरी आफ्नो दलको मार्ग निर्देशक सिद्धान्त र विचारविपरीत राजनीति गर्नु छलछाम हो । ती दलका नेताहरूले सिद्धान्त र विचारको राजनीति नगरी जसरी भए पनि जित्ने, सरकारमा जाने र राजस्वमा रजाइँ गरेर सरकार र पार्टी चलाइरहेका छन् । त्यही कारण कम्युनिस्ट भनिने दलको नेतृत्वमा पटक–पटक सरकारमा गए पनि कुनै मौलिक काम गर्न नसकेको हो, काम गरेर जनतालाई राहत दिन नसकेको हो । यसकारण, विश्वासघाती र बेइमानीहरूलाई जनताको अगाडि उदाङ्ग्याउनुपर्छ, तल्लो वर्गबाटै क्रान्तिकारी कार्यकर्ता र क्रान्तिकारी बुद्धिजीवी तयार गर्नुपर्छ ।
Leave a Reply