भर्खरै :

कर्णाली र सुदूरपश्चिमका जिल्ला – जिल्लामा श्रमिक महिला दिवस

अछाम, २५ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलबार अछाम जिल्लाको कमलबजारमा जुलुस तथा सभा सम्पन्न भयो ।
जुलुसपछि आयोजित सभामा नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिका अध्यक्ष झङ्करबहादुर शाहीले महिलामाथि उत्पीडनको मूल कारण पुँजीवादी उत्पादन सम्बन्ध भएको बताउनुभयो ।
समाजवादी व्यवस्था स्थापनाले मात्र नेपालका कामदार वर्गका महिलाहरूको सुखको दिन आउने उहाँले बताउनुभयो ।
उहाँले नेपालमा कामदार जनताको समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपाले झन्डै चार दशकदेखि लगातार सङ्घर्ष गर्दै आएको भन्दै सम्पूर्ण कामदार महिलालाई नेमकिपाको झन्डामुनि गोलबद्ध हुन आग्रह गर्नुभयो ।
सो सभामा नेक्रामसङ्घ कमलबजारको प्रथम नगर सम्मेलन पनि उद्घाटन भएको थियो ।
सभामा नेमकिपा र विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूले श्रमिक महिला दिवसको शुभकामना दिनुभयो ।
दैलेख
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ गुराँस गाउँपालिका समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले संसारका श्रमिक महिलाहरूको प्रेरणाको स्रोत क्लारा जेटकिन, रोजा लक्जेम्बर्ग, जेनी माक्र्सका जीवनी र बलिदानबाट नेपाली महिलाहरूले पनि सिक्नुपर्ने बताउनुभयो । उहाँले श्रमिक महिलाहरू श्रमिक जनताको राजनीतिमा सहभागी भएपछि मात्र श्रमिक वर्गको सङ्घर्ष सफल हुने बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य हस्त घलेले एक दुई जना महिला राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्दैमा सम्पूर्ण महिलाको हित नहुने चर्चा गर्दै महिला मुक्तिको निम्ति राजनीतिक व्यवस्थामा परिवर्तन हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ शाहीले समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गर्दै नेपाली कामदार जनता सङ्गठित भएर साम्राज्यवादविरोधी सङ्घर्षलाई अझ अघि बढाउनुपर्ने बताउनुभयो ।
बाँके
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिको आयोजनामा महिला भेला भयो ।
भेलामा नेमकिपा बाँके जिल्ला समितिका संयोजक बखत थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको अर्थ संसारका क्रान्तिकारी सङ्घर्ष र परिवर्तनमा महिलाहरूले खेलेको भूमिकाबारे स्मरण गर्नु हो भन्नुभयो ।
उहाँले संसारका कुनै पनि क्रान्तिकारी सङ्घर्षमा महिला र पुरुषको समान सक्रियता आवश्यक हुने बताउनुभयो ।
उहाँले संसारमा श्रमिक जनताको स्वर्ग समाजवादी स्थापनाको निम्ति श्रमिक वर्गका महिला र पुरुष सक्रियतापूर्वक लाग्नुपर्ने र महिला आन्दोलनलाई पुँजीवादी भासबाट जोगाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले शासक दलहरूले एमसीसी सम्झौता पारित गरेर संरा अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गरेको बताउनुभयो । उहाँले नेपालमा साम्राज्यवादविरोधी सङ्घर्ष अझ अघि बढाउने जिम्मेवारी नेपाली जनताको काँधमा आएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका जानकी गौतम, लक्ष्मी शाही, सपना शाही, विमला सार्की, भावना थापा, प्रभा मल्लाह, नेमकिपा बाँकेका सदस्य डिल्ली पुन, अंजिरबहादुर शाही, गौरीकान्त आचार्यलगायतले बोल्नुभएको थियो । नेक्रामसङ्घ बाँकेका अध्यक्ष कोकिला शाहीको सभापतित्वमा भएको कार्यक्रममा सुर्जा थापाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *