भर्खरै :

कीर्तिपुरका नेमकिपाका अगुवा कार्यकर्ता वासुदेव डंगोलको निधन

काठमाडौँ, २५ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिका पूर्व जिल्ला सदस्य वासुदेव डंगोलको फागुन २५ गते बुधबार बिहान निधन भयो ।
घरमा नातिसँग खेल्दै गर्दा अचानक स्वास्थ्य समस्या देखिएपछि उहाँलाई तत्काल कीर्तिपुर अस्पतालमा लगिएको थियो । अस्पतालले उहाँको निधन भएको घोषणा गरेको थियो । डंगोलको बुधबार नै परम्पराअनुसार भाजंगालघाटमा दाहसंस्कार गरियो । छोरो सन्देश महर्जनले उहाँको पार्थिव शरीरमाथि दागबत्ती दिनुभएको थियो ।
उहाँको पार्थिव शरीरमाथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एव सांसद प्रेम सुवाल, पूर्व केन्द्रीय सदस्यद्वय श्रीकृष्ण महर्जन र प्रशान्त महर्जनले पार्टीको झन्डा ओढाउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराल गोसाई, नारायण महर्जन, सांसद पुकार महर्जनलगायतले पुष्पगुच्छा अर्पण गर्नुभयो ।
वि.स. २०११ अर्थात् नेपाल संवत् ११७५ मा बुबा नाथलाल डंगोल र आमा आशामाया डंगोलको कान्छो छोराको रूपमा जन्मिनुभएका बासुदेव डंगोलले ०३१ सालमा एसएलसी उत्तीर्ण गरेलगत्तै जनसेवा माध्यमिक विद्यालय पाँगामा प्राथमिक स्तरको शिक्षक भएर शिक्षा सेवा गर्नुभयो । हँसिलो स्वभाव मिलनसार, मृदुभाषी डंगोल ०३५ सालदेखि नेमकिपा आबद्ध भई विभिन्न समितिमा काम गर्नुभयो । उहाँ २०४८ सालसम्म नेमकिपा काठमाडौँ जिल्ला सदस्य बन्नुभयो ।
उहाँले शिक्षक पेशापछि सिंहदरबारमा टाइपिस्ट र टाइप मेसिन मर्मतमा सरकारी सेवा गर्नुभयो । उहाँ कुकको तालिम लिएर सफल रेस्टुरेन्ट व्यवसायी पनि बन्नुभयो । सङ्गीत र गीत रचना गर्न सिद्धहस्त डंगोल जनताको पक्षमा लेख्ने साहित्यकार हुनुहुन्छ । उहाँ ‘गुन्द्रु’ उपनामले परिचित हुनुहुन्छ । नेपाल र नेपाली दुवै भाषामा सयौँ जनताको गीत रचना गरिसक्नुभएका डंगोल समाजसेवी हुनुहुन्थ्यो । उहाँको स्थायी जन्म घर पाँगा देउखेलको समाजसँग घुलमिल र विकास कार्यमा अग्रपङ्क्तिमा क्रियाशील हुने व्यक्तित्व हुनुहुन्थ्यो ।
नेमकिपामा लागेर इमानदारीपूर्वक जनताको सेवा गर्न प्रेरित उहाँँ हाल नेपालभाषा साहित्य तःमुंज्या पाँगा, कीर्तिपुरका अध्यक्ष हुनुहुन्छ । डंगोलकी श्रीमती ज्ञानछोरी महर्जन र छोरा सन्देश महर्जन र छोरी वासना महर्जन हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *