भर्खरै :

युक्रेन सङ्कट समाधान गर्न मिलेर काम गर्ने प्रतिबद्धता

सी–म्याक्रोँ–स्कूल्ज बैठक 
पेइचिङ, ९ मार्च । चीनका राष्ट्रपति सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मनीका चान्सलर ओलाफ स्कूल्जसँग मङ्गलबार भर्चुअल बैठक गर्नुभएको छ ।
बैठकमा राष्ट्रपति सीले एक शताब्दीमा नदेखिएका प्रमुख विश्वव्यापी हलचल र महामारी दुवैको प्रभावले संसारसामु बहुआयामिक विश्वव्यापी चुनौती तेर्सिएको र विश्वका सबै पक्षको सहकार्यमार्फत मात्र ती चुनौती सामना गर्न सकिने बताउनुभयो ।
शान्ति प्रबद्र्धन, विकासको खोजी र सहकार्य अघि बढाउने विषयमा चीन र युरोपेली सङ्घको बुझाइ साझा भएको भन्दै उहाँले अस्थिर र अस्तव्यस्त विश्वमा थप स्थायित्व र सुनिश्चितता ल्याउन सबै देशले जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।
सीले दुवै पक्ष (चीन र युरोपेली सङ्घ) बीच आपसी सम्पर्क कायम राख्नुपर्ने, सहकार्य अघि बढाउनुपर्ने र चीन–युरोपेली सङ्घबीचको सम्बन्ध चुस्त र दिगो बनाउँदै लानुपर्ने बताउनुभयो ।
“चीनको विकासले चीन–युरोपेली सङ्घ सहकार्यलाई फराकिलो बनाउनेछ”, सीले भन्नुभयो,“दुवै पक्षबीच आपसी लाभ र सबैको हित हुने सिद्धान्तका आधारित भएर हरित र डिजिटल साझेदारीका साथै विभिन्न क्षेत्रमा व्यवहारिक सहकार्य गर्न सकिन्छ ।”
उहाँले थप्नुभयो, “दुई पक्षले बहुपक्षवादलाई निरन्तरता दिनुपर्छ र प्रमुख विश्वव्यापी मुद्दालाई अघि बढाउनुपर्छ ।”
बैठकमा म्याक्रोँ र स्कुल्जले बेइजिङ शीतकालीन ओलम्पिक खेलको सफल आयोजनाको निम्ति चीनलाई बधाई ज्ञापन गर्दै संसारले धेरै चुनौती सामना गरिरहेको र हरेक देशले आफुखुशी काम गर्दा अवस्थालाई थप खराब बनाउन सक्ने बताउनुभयो ।
दुई युरोपेली नेताहरूले भन्नुभयो, “विश्व मामिलामा चीनको महत्वपूर्ण र सकारात्मक भूमिकालाई युरोपले उच्च मूल्याङ्कन गरेको छ र जलवायु परिवर्तन, जनस्वास्थ्य र अन्य विश्वव्यापी चुनौती सामना गर्न चीनसँग निकटमा सहकार्य गर्न चाहेको छ ।”
उहाँहरूले युरोपेली सङ्घ–चीन शिखर सम्मेलनको सफल आयोजनाको निम्ति चीनसँग सहकार्य गर्न युरोप तयार रहेको र फ्रान्स–चीन, जर्मनी–चीन र युरोपेली सङ्घ–चीन सम्बन्ध अघि बढाउन मिलेर काम गर्ने बताउनुभयो ।
तीन नेताहरूबीच युक्रेनको वर्तमान अवस्थाबारे पनि विचार आदानप्रदान भयो ।
म्याक्रोँ र स्कुल्जले युक्रेनको वर्तमान अवस्थाबारे आफ्नो बुझाइ र मतबारे प्रस्ट पार्दै युरोप दोस्रो विश्वयुद्ध यताकै सबभन्दा खराब सङ्कटमा रहेको बताउनुभयो ।
फ्रान्स र जर्मनीले वार्तामार्फत् सङ्कट समाधान गरेर शान्ति स्थापना गर्न चाहेको उहाँहरू स्पष्ट पार्नुभयो ।
दुई युरोपेली नेताहरूले मानवीय सङ्कटमा चीनले लिएको सकारात्मक अगुवाइको निम्ति आभार व्यक्त गर्दै युक्रेनमा शान्तिको लागि वार्ताको ढोका खोल्न र मानवीय सङ्कट थप खराब बन्न नदिन चीनसँग सहकार्य र संवादको लागि तयार रहेको बताउनुभयो ।
राष्ट्रपति सीले युक्रेनको अवस्था चिन्ताजनक भएको र युरोपेली महादेशमा फेरि युद्ध भड्किएकोमा चिनियाँ जनता दुःखी भएको बताउनुभयो ।
चीन सबै देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने, संयुक्त राष्ट्र सङ्घको बडापत्रका लक्ष्य र सिद्धान्तको पूर्ण पालना हुनुपर्ने पक्षमा रहेको सीले बताउनुभयो । उहाँले सबै देशका जायज सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्ने र अहिलेको सङ्कटको शान्तिपूर्ण समाधानको निम्ति गरिने सबै प्रयासलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति सीले भन्नुभयो,“अहिलेको सबभन्दा तत्कालको जिम्मेवारी अहिलेको तनावपूर्ण अवस्था थप भयावह हुन नदिनु हो अथवा यसलाई नियन्त्रणबाहिर जान नदिनु हो ।”
युक्रेनको सन्दर्भमा फ्रान्स र जर्मनीले गरेको मध्यस्थताको प्रयासको चीनले कदर गर्दै राष्ट्रपति सीले चीन फ्रान्स, जर्मनी र युरोपेली सङ्घसँग सम्पर्क र समन्वयमा रहने बताउनुभयो ।
सीले रुस र युक्रेनबीच शान्ति वार्ताको लागि सबै मिलेर काम गर्नुपर्ने र दुवै पक्षलाई वार्ता अघि बढाउन, कठिनाई सामना गर्दै जान, वार्ता जारी राख्न र शान्तिपूर्ण परिणामसम्म पुग्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।
“हामीले मानवीय सङ्कट थप भयावह हुनबाट रोक्न अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिँदै सीले भन्नुभयो, “चीनले युक्रेनमा मानवीय सङ्कट समाधान गर्न छ बुँदे पहल गरेको र मानवीय सहायता युक्रेनमा पठाउन तयार छ ।”
“यो सङ्कटका नकारात्मक प्रभाव कम गर्न सँगै मिलेर काम गर्न जरुरी छ । नाकाबन्दीले विश्वव्यापी वित्तीय, उर्जा, यातायात र दिगो आपूर्ति प्रणालीलाई प्रभावित बनाउनेछ । त्यसले महामारीबाट त्यसै पनि रुग्न भइसकेको विश्व अर्थतन्त्रलाई थप खराब अवस्थामा धकेल्ने छ । त्यो अवस्था कसैको पनि हितमा हुनेछैन”, सीले बैठकमा भन्नुभयो ।
“हामीले सक्रियतापूर्वक साझा, बिस्तृत, सहकार्यात्मक र दिगो सुरक्षाको अवधारणाको वकालत गर्नुपर्छ”, सीले भन्नुभयो ।
युरोपको हित र दिगो सुरक्षाको लागि सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा ढाँचा प्रबद्र्धन गर्न र रणनीतिक स्वायत्तता बलियो बनाउन फ्रान्स र जर्मनीलाई चीनले समर्थन गर्ने उहाँले बताउनुभयो ।
युरोपेली, रुस, संरा अमेरिका र नाटोबीच चीनले समान धरातलमा काम गर्ने सीले प्रस्ट पार्नुभयो । बैठकमा नेताहरूले इरानको आणविक मुद्दाबारे पनि कुराकानी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *