भर्खरै :

अरनिको स्मृति दिवस अरनिकोबारे धेरै खोज जरुरी छ

काठमाडौँ, २७ फागुन । ललितकला क्षेत्रका विज्ञ तथा अग्रज कलाकारहरूले राष्ट्रिय विभूति अरनिकोका बारेमा धेरै खोज तथा अनुसन्धान जरुरी रहेको बताउनुभएको छ । उनको आकृतिकै बारेमा पनि कलाकारले कल्पनाका आधारमा बनाउने गरेकाले यही नै मुहार हो भन्न सकिने अवस्था छैन । जन्मस्थानलगायतका धेरै गतिविधि अझै यकिन भन्न सकिने अवस्था छैन । यद्यपि, केही कुराहरू भने बाहिर आएका छन् ।
कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको । कतिपयले उनको जन्म पाटनमा भएको उल्लेख गरेका छन् ।
अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ (कसैकसैले १२४४ भन्ने गरेका) मा पाटनमा जन्मिएका थिए भन्ने छ । मृत्यु भने १३०६ मा भएको थियो । पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको कलाकारहरू स्मरण गर्नुहुन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्नुहुन्छ, “अरनिकोलाई चिन्ने कसरी ? उहाँको चित्र कल्पनामा मात्रै बनाउन सक्छौँ, प्रतिभालाई ध्यानमा राखेर सिर्जना गर्नु परिसकेको छ ।” उहाँले अरनिकोका बारेमा धेरै खोज जरुरी रहेको पनि औँल्याउनुभयो ।
विगतमा हुलाक टिकटमा राख्ने चित्र बनाउँदा पनि वर्तमान परिवेशमा चिन्न सक्ने गरी बनाएको उहाँले स्मरण गर्नुभयो । अरनिकोको विषयमा धेरै मानिस अनभिज्ञ रहेको उल्लेख गर्दै कला क्षेत्रका एक अध्येता सञ्जय शाक्य धेरै अध्ययन अनुसन्धान गर्न बाँकी नै रहेको बताउनुहुन्छ ।
आज मार्च ११ अर्थात् अरनिको स्मृति दिवसको अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँको सम्झनामा विशेष कार्यक्रम आयोजना गरी स्मरण गरेको छ । सोही अवसरमा आजदेखि पाँचदिने परम्परागत हस्तकला प्रदर्शनी सुरु भएको छ ।
अरनिको प्यागोडा शैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको पेइचिङमा पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए ।
नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा भएको आजको उक्त कार्यक्रमका संयोजक धर्मराज शाक्यले अब प्रतिष्ठानबाट अरनिकोको बारेमा थप अध्ययन र अनुसन्धानअघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार आज नेपालीहरूले गौरव गर्ने दिन भएको उल्लेख गर्दै जसरी सगरमाथा, वीर गोर्खाली र बुद्ध जन्मेको देश भनेर गर्व गरिन्छ, त्यसरी अरनिको जन्मेको देश भनेर गर्व नगर्नु दुःखद हो भन्नुहुन्छ ।
प्रतिष्ठानले अरनिको स्मृति दिवसको अवसरमा शुक्रबार कलाकार कुमालेलाई सम्मान गरेको छ । नेपाली ललितकलाको क्षेत्रमा उहाँले गरेको योगदानको स्मरण गर्दै प्रतिष्ठानले उहाँलाई सम्मान गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *