भर्खरै :

एमसीसीले नेपाललाई ‘सीयाटो’ मा लाने त होइन ?

नेटो संरा अमेरिका र पश्चिमी युरोपेली देशहरूको एक सैनिक सङ्गठन हो । ४ अप्रिल १९४९ मा संरा अमेरिकाको राजधानी वासिङ्टनमा संरा अमेरिका, बेलायत, फ्रान्स, इटाली, पोर्चुगल, बेल्जियम, क्यानडा, डेनमार्क, आइसल्यान्ड, लक्जेम्बर्ग, नेदरल्यान्ड र नर्वेका परराष्ट्रमन्त्रीहरूको एक बैठकले त्यस सङ्गठनको स्थापना गरेको थियो । पछि त्यसमा ग्रीस, टर्की र पश्चिम जर्मनी पनि सामेल भए । यसलाई ‘उत्तर एट्लान्टिक सन्धि सङ्गठन’ अथवा North Atlantic Treaty Organization भनिन्छ । छोटोमा यसलाई ‘नेटो’ (NATO) भन्ने चलन छ ।
यसमा विभिन्न समितिहरू छन् । यसको सैनिक समितिमा सदस्य राष्ट्रहरूको सेनाध्यक्ष वा उसका प्रतिनिधिहरू हुन्छन् । यसको एक आणविक सुरक्षा कार्य समिति पनि छ । यसै सङ्गठनअन्तर्गत युरोपका विभिन्न सदस्य देशहरूमा संरा अमेरिकी सेना राखिएको छ । फ्रान्स यसको पहिलो केन्द्र थियो । अहिले फ्रान्स यसको पूर्ण सदस्य रहेन । यसकारण, यसको केन्द्र बेल्जियमको राजधानी ब्रुसेल्समा सारिएको छ । यस सङ्गठनमा अहिले पूर्वी युरोपेली र केही पूर्व समाजवादी देशहरू पनि सदस्य छन् । त्यस्तै, सोभियत रुससँग छुट्टिएका केही राज्यहरूलाई पनि नेटोको सदस्य बनाइँदै छ, त्यसमध्ये युक्रेन एक हो ।
वार्सा सन्धि सङ्गठन
पश्चिमी युरोपेली पुँजीवादी देशहरूले ‘नेटो’ बनाएजस्तै सोभियत सङ्घले पनि पूर्वी युरोपेली देशहरूको एक सैनिक सङ्गठन बनाएको थियो । १४ मई १९५५ मा पोल्यान्डको राजधानी वार्सामा सोभियत सङ्घ, पोल्यान्ड, पूर्वी जर्मनी, हङ्गेरी, चेकोस्लोभाकिया, बुल्गेरिया, रुमानिया र अल्बानियाका प्रतिनिधिहरूको बैठकले यस सङ्गठनको स्थापना गरेको थियो । त्यो सम्झौता वार्सामा भएको हुनाले सङ्गठनको नाम नै ‘वार्सा सन्धि सङ्गठन’ अर्थात् Warsa Treaty Organization राखियो । यसलाई पूर्वी युरोपेली रक्षा सन्धि (East European Security Pact) पनि भन्ने गरिन्छ । यसको केन्द्र मस्कोमा थियो । यस सङ्गठनको उद्देश्य शान्ति, सुरक्षा, आर्थिक, सामाजिक र सांस्कृतिक सहयोग भनिएको थियो । सन् १९९१ मा यो सङ्गठन विघटन भएको थियो ।
सीयाटो
८ सेप्टेम्बर सन् १९५४ मा फिलिपिन्सको राजधानी मनिलामा संरा अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिलिपिन्स, थाइल्यान्ड, पाकिस्तान आदि देशहरूको एक बैठक भएको थियो । यस सङ्गठनको नाम दक्षिण–पूर्वी एसियाली सन्धि सङ्गठन अथवा South-East Asia Treaty Organization राखियो । यसलाई छोटकरीमा ‘सीयाटो’ (SEATO) भन्ने चलन छ । यसलाई ‘दक्षिण–पूर्र्वी एसिया सामूहिक सुरक्षा सन्धि’ (South East Asia Collective Security Treaty) पनि भनिन्छ ।
यसको कार्यालय थाइल्यान्डको राजधानी बैङ्ककमा छ । यसको मुख्य उद्देश्य चीन, भियतनाम, कोरियामाथि आक्रमण गर्नु र अरू दक्षिण–पूर्र्वी एसियाली देशहरूमा थिचोमिचो एवम् घरेलु मामिलामा हस्तक्षेप गर्नु थियो । यस सङ्गठनका योजनाकार संरा अमेरिकाका पूर्व विदेशमन्त्री डलेस थिए । सीयाटोको उद्देश्य पूरा भएन र डलेसको पनि मृत्यु भयो । पाकिस्तान यसबाट अलग्ग भयो । तर, आज संरा अमेरिकाले हिन्द–प्रशासन सन्धि सङ्गठनको रूपमा ‘सीयाटो’ लाई पुनः जीवन दिन खोज्दै छ । एमसीसीलाई यसैको एक हाँगा बनाउने खतरा बढ्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *