भर्खरै :

युक्रेन त्रासदीको रहस्य के हो ?

रुस र युक्रेनको भिडन्तलाई संरा अमेरिका + नेटोको ‘प्रतिनिधि’ (प्रोक्सी) युद्ध भनेमा अतियुक्ति नहोला ! ‘वार्सा सन्धि सङ्गठन’ को विघटनपछि पनि संरा अमेरिकाले युरोपेलीहरूको इच्छाविरुद्धको ‘नेटो’ विघटन गरेको छैन । नेटो देशसँग सम्बन्धित युरोपेली देशहरूसँग आ–आफ्नो रक्षा बजेटको २–२ प्रतिशत भाग अमेरिकाले माग्दै छ । अर्थात्, नेटोलाई कायम राख्न तथा त्यसलाई पूर्वी युरोप र एसियामा समेत विस्तार गर्ने तयारीको निम्ति दबाब दिएको प्रस्ट छ ।
वार्सा सन्धि सङ्गठन विघटनपछि पूर्वी युरोपेली समाजवादी देशहरूबाट सोभियत सेना फिर्ता गर्दा पनि संरा अमेरिकाले युरोपबाट आफ्नो सेना हटाएन बरु दबाब बढाउँदै गयो । सन् १९६० तिर ख्रुश्चेभको सोभियत नेतृत्वले अमेरिकी भनाइलाई विश्वास गरी ‘साम्राज्यवादको आक्रामक चरित्र बदलिएको’, ‘शान्तिपूर्ण अस्तित्व’, ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ लाई स्वीकार्दै आणविक हातहतियार र सेनामा कटौती थाल्यो । तर, सोभियत सङ्घले ‘शान्तिपूर्ण’ र ‘अमेरिकी– सोभियत मित्रता’ को नाममा एकपछि अर्को ‘माक्र्सवाद–लेनिनवादको सिद्धान्तलाई छोड्दै गयो । सोभियत सङ्घ एक साम्यवादी समाजमा प्रवेश गर्दै छ भन्ने झूटो व्याख्या गर्दै ‘सोभियत कम्युनिस्ट पार्टीलाई ‘सबै जनताको पार्टी’, ‘वर्गविहीन समाज’, ‘साम्यवादमा शान्तिपूर्ण सङ्क्रमण’, ‘योग्यताअनुसारको काम’ र ‘आवश्यकताअनुसार’ वितरणको गलत व्याख्या गर्दै गयो ।

गोर्भाचोभको नेतृत्वमा ‘सोभियत सङ्घ’ को पुनर्सङ्गठन र ‘खुलापन’ को नारासँगै सन् १९९१ मा सोभियत कम्युनिस्ट पार्टी र समाजवादलाई विघटन गरियो । संरा अमेरिकाले युरोपका पूर्व समाजवादी देशहरू पूर्वी जर्मनी, पोल्यान्ड, हङ्गेरी, चेकोस्लाभाकिया, बुल्गेरिया, रुमानिया, अल्बानिया र युगोस्लोभियामा ‘प्रजातन्त्र’, ‘हरियो’ र ‘पहेँलो’ क्रान्तिको नाममा ती देशका प्रतिगामीहरूलाई भित्रभित्र सशस्त्र सङ्घर्ष गर्न लगाउँदै र नेटोमार्फत सशस्त्र हस्तक्षेप गर्दैै ती देशहरूमा पश्चिमी ‘प्रजातन्त्र’, को नाममा अमेरिकी नवउपनिवेश स्थापना ग¥यो ।
पूर्वी युरोपेली देशहरूमा ‘पश्चिमी पुँजीवादी’ प्रजातन्त्र स्थापनापछि गोर्भाचोभ नेतृत्वले सोभियत सङ्घलाई नै विघटन गर्दै पूर्व स्वायत्त प्रान्त र जातीय प्रान्तहरूलाई स्वतन्त्र घोषणा गर्न लगायो । त्यसबेलासम्म गोर्भाचोभका विभिन्न विषयका सबै सल्लाहकारहरू, अमेरिकी विश्वविद्यालयका तथाकथित विशेषज्ञ वा अमेरिकी केन्द्रीय गुप्तचर (सीआईए) विभागका व्यक्तिहरू थिए । यसरी समाजवाद र साम्यवादमा शान्तिपूर्ण सङ्क्रमण’ को नाममा सोभियत सङ्घमा पुँजीवादको पुनःस्थापना गरियो । रुसको पश्चिमी भागमा इस्टोनिया, लात्भिया, लिथुआनिया, बेलारुस, युक्रेन र मोल्डोभालाई अलगअलग राज्य घोषणा गरियो ।
सोभियत व्यवस्थामा एउटै देशका ती प्रान्तहरू राज्यको रूपमा घोषणा भएपछि संरा अमेरिकाले हाकाहाकी ती राज्यहरूमा सीआईएको गतिविधि सुरु गर्दै गयो । ती राज्यहरूमा सोभियत समाजमा युक्रेनलाई एक विकसित र नमुना क्षेत्रको रूपमा विकास गरिएको थियो । दोस्रो विश्वयुद्धमा त्यो क्षेत्र नाजीवादीहरूको गढ र ठूलो सङ्घर्ष भएको ठाउँ थियो । सोभियत सङ्घको विघटन हुनुभन्दा पहिले गोर्भाचोभको बेलासम्ममा त्यहाँ ३ लाख अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सक्रिय थिए । त्यहाँको संसद् (ड्युमा) मा विधेयकहरू समेत अङ्ग्रेजी भाषाबाट रुसी भाषामा अनुवाद गरी प्रस्तुत हुन्थ्यो । छुट्टिएका ती सबै नयाँ राज्यमा पनि अमेरिकी नियन्त्रण हुँदै गयो । साम्राज्यवादीहरूले साम्यवादीविरोधी रणनीति कायमै राख्दै खुला होइन गुप्त र कूटनैतिक ढङ्गको कार्यनीति अपनाए र दोस्रो चरणमा आफू बलियो भएपछि सशस्त्र सङ्घर्ष सुरु भएको हो । युक्रेनमा तुलनात्मकरूपले देशभक्त सरकारको विरोधमा अमेरिका र नेटो समर्थकहरूले सन् २०१४ देखि नै नवनाजीवादी गतिविधि गरेका थिए । अहिलेको जेलेन्स्की सरकार पूरै अमेरिका र नेटो समर्थक तथा रुसमा नेटो विस्तारका लागि गोटी हुन् ।
युक्रेन आणविक भट्टी भएको सोभियत सङ्घको क्षेत्र थियो, साथै दोस्रो विश्वयुद्धमा सम्भावित हवाई हमला र आणविक हमलाको सुरक्षाको निम्ति समेत बङ्करहरू निर्माण गरिएको थियो । युक्रेन र रुसको भिडन्तमा देखाइएको बङ्करहरूमा आज पनि रुसी अक्षर र भाषामा लेखिएको यथावत् छ । सोभियत सङ्घ विघटन र विशृङ्खलित भएपछि युक्रेनमा अमेरिकी केन्द्रीय गुप्तचर विभागले एकएक इन्च भूमिमा छानबिन गर्नु स्वाभाविक हो । अमेरिकाले नेटो सदस्य युरोपेली देशहरूलाई युक्रेनकै बाटोबाट रुसी महासङ्घमा आक्रमणको तयारी गर्नु आश्चर्यको विषय होइन किनभने त्यसपछि टुक्रिएका, एसियामा परेका र नयाँ राज्य घोषणा गरिएका जर्जिया, आर्मेनिया, अजरबैजान, कजाकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान र ताजिकिस्तानबाट पनि एसियाली रुसमाथि चढाइ गर्नु छ ।
संरा अमेरिकाले नेटो देशहरूलाई घिसार्दै युक्रेनको काँधमा बन्दुक राखेर रुसमाथि गोली हान्दै छ – सन् २०१४ देखि नै । संरा अमेरिका र नेटोले छद्मभेषमा युक्रेनको पूर्वी भागको लुहान्स र डोनेत्सकका स्वतन्त्रताकामी रुसी जनताको आन्दोलन दबाउँदै आएका थिए । नेटोविरोधी निर्वाचित राष्ट्रपति र सरकारहरूलाई सीआईएको प्रायोजनमा सत्ता विप्लप गराई असफल र अपदस्थ गरिएको थियो । २८ फागुन २०७८ शनिबार राती बाइडेनले संसारलाई ट्वीटमार्फत धम्की दिए – “नेटो र रुसबीचको प्रत्यक्ष भिडन्त तेस्रो विश्वयुद्ध हो र हामी केही मिलेर त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ ।”
बाइडेनको त्यस भनाइको अर्थ हो, अमेरिका, बेलायत आदि पश्चिमी नेटो देशहरूले पनि रुसलाई आर्थिक नाकाबन्दी र रुसीहरूको सम्पत्तिलाई पनि रोक लगाउँदै छन् । अमेरिकी र नेटोको तत्कालको उद्देश्य पुटिनलाई सत्ताबाट हटाएर आफ्नो कठपुतली सरकार मस्कोमा स्थापित गर्ने हो । त्यसमा सबभन्दा ठूलो बाधा तिनीहरूको निम्ति रुस र चीनको मित्रता हो । त्यसकारण, तिनीहरूले चीनलाई रुसमाथि दबाब दिन दबाब दिँदै छन् । तर, पश्चिमी सञ्चारमाध्यम युक्रेनको लुहान्स र डोनेस्कका स्वतन्त्र जनतामाथि युक्रेनी नवनाजीवादी दमनबारे मौन रहँदै आएको छ ।

२९ फागुन २०७८ को ‘नयाँ पत्रिका’ मा ‘युक्रेन त्रासदी निवारणमा चीनको दायित्व’ शीर्षकको ‘एक वरिष्ठ अमेरिकी अर्थशास्त्री एवम् येल विश्व विद्यालयका वरिष्ठ शोधकर्ता’ स्टेफन एस रोचको एक लेख छापियो । त्यसमा उनले तलका विषय उल्लेख गरे –
१) राष्ट्रिय सार्वभौम सत्ता, भौगोलिक अखण्डताको सम्मान, परस्पर आक्रमण, एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप जस्तो पञ्चशीलको सिद्धान्तलाई मान्ने देश हो । यसकारण, चीनले रुस–युक्रेन मामिलामा रुसलाई दबाब दिनुपर्छ ।
तर, स्टेफन एस रोचले चीनलाई पञ्चशीलको दुहाइ दिएर रुस–युक्रेन मामलामा हस्तक्षेप गर्न दिएको सुझाव कसरी उपयुक्त हुन्छ ? जबकि, त्यो ‘त्रासदी’ को जिम्मेवार पक्ष संरा अमेरिका र नेटो हो ।
साथै, संरा अमेरिकाले कोरिया, भियतनाम, अफगानिस्तान, इराक, लिबिया, सिरिया आदि देशमा अमेरिका र नेटो देशहरूले पञ्चशीलविरोधी काम गरेको बेला स्टेफन एस रोच कहाँ थिए ? अर्थात्, पञ्चशील नमान्ने साम्राज्यवादी आक्रमणलाई सहनु र विरोध नगर्नु उचित हुन्छ ? साम्राज्यवादी आक्रमणको विरोध नगर्नु त्यसको समर्थन गर्नु हो ।
२) स्टेफन एस रोचले ‘चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनमा बिनासर्त युद्धविराम गराउन र शान्ति सम्झौताको निम्ति ठूला २० देशको जरुरी बैठक बोलाउन अगुवाइ गर्नुपर्ने लेखे ।
त्यस अगुवाइले अमेरिका र नेटोको अपराधलाई समर्थन गर्ने र रुसमाथि हुने आक्रमणलाई सहयोग पु¥याउने व्यवहारबाट साबित गर्नेछ । यसबाट स्टेफन एस रोच अर्थशास्त्रीभन्दा साम्राज्यवादी राजनीतिज्ञ साबित हुन्छन् ।
३) चीनले युक्रेनबाट विदेशमा शरणार्थी भएका २० लाखलाई सहयोग पु¥याउन ५० अर्ब डलर अनुदान दिनुपर्ने उनको भनाइ छ ।
रोचको त्यो भनाइ संरा अमेरिका र नेटोको अपराध र युक्रेनको ध्वंसका भित्री शत्रुलाई लुकाउने नियत हो । नेपाली भाषामा एउटा उखान छ – ‘चोरलाई चौतारी र निर्दोषलाई दण्ड ¤’
रोचको भनाइमा युक्रेनको पुनः निर्माणको निम्ति चीनले ३ अर्ब ५० करोड डलर सहयोग गर्नुपर्छ । उनको भनाइमा युक्रेन प्रतिव्यक्ति गार्हस्थ उत्पादनमा संसारमा १२० औँ स्थानमा छ । कुनै देशको प्रतिव्यक्ति गार्हस्थ उत्पादनको आधारमा सहयोग गर्ने हो भने अमेरिका र नेटो देशहरूले पीडित देशहरूलाई के कति सहयोग दिए ? स्टेफन एस रोचको यो कुन अर्थशास्त्रीय दृष्टिकोण हो ? जहाँसम्म बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र चीनको नेतृत्वको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कबाट सहयोगको ‘मौका’ र ‘मार्सल प्लान’ को कुरा उठाउँदै रोच व्यङ्ग गर्छन् – ‘सन् २०१७ मा युक्रेन बीआरआईको सदस्य बनेको थियो ¤’
यहाँ एउटा प्रश्न उठ्छ – के २०१७ मा चीनसँग बीआरआईको सदस्य भएकै कारण युक्रेन संरा अमेरिका र नेटोको जालमा परेको हो ? सत्य त्यही हो भने जालसाजी गर्ने पक्षले नै वा अपराधस्वरूप संरा अमेरिका र नेटोले युक्रेनलाई क्षतिपूर्ति दिनु न्यायोचित हुन्छ ।
मिस्टर रोचलाई थाहा होला– दोस्रो विश्वयुद्धको बेला अन्य देशमा जस्तै संरा अमेरिकामा आर्थिक सङ्कट नहोस् भन्ने उद्देश्यले नै स्तालिनले अमेरिकी राष्ट्रपति रुजवेल्टलाई सहयोग गर्न अर्थशास्त्रीहरूको एउटा टोली अमेरिका पठाएका थिए । तिनीहरूकै सल्लाहअनुसार पुल, सडक, नहर, बाँधजस्ता धेरै ज्यामी जाने आयोजनाहरू निर्माण गरिएको थियो, जसको मर्मत अहिले गर्न अमेरिकी सरकारलाई अप्ठेरो पर्दै छ । रुजवेल्टको निधनपछि नयाँ राष्ट्रपति ट्रुमेनको पालामा त्यसलाई टुङ्ग्याइयो । तर, त्यसबेला मार्सल प्लानकै कारण अमेरिका आर्थिक सङ्कटबाट बचेको थियो ।
बीआरआई र चीनको आपसी सम्झौता तथा समझदारीबारे तेस्रो पक्षले हस्तक्षेप नगर्नु नै जाति हुन्छ, अन्य देशमा पनि बीआरआईमा प्रवेश गरेमा ती देशमा अर्को उपद्रव मच्चाउँदै चीनलाई गुहार्ने नयाँ नाटक सुरु हुनेछ ।
यसकारण, विश्व बैङ्क, आईएमएफ र एसियाली विकास बैङ्कलाई पनि युद्धसँग जोड्नु उचित हुनेछैन । नत्र, अन्तर्राष्ट्रिय निर्माण कम्पनीका मालिकहरूले सधैँ युद्ध भएको निर्माण ठेक्का लिएको सपना देख्नेछन् । बरु सबै संवेदनशील पक्षले युद्धका कारण पहिल्याउँदै विश्व शान्तिको अभियान चलाउनु उपयुक्त हुन्छ ।
‘चीनले मात्रै रुसलाई रोक्न सक्छ’, ‘चीनलाई आफ्ना मूल्य र मान्यतामा अडिग रहेर रुसलार्ई सघाउने ठाउँ छैन’, ‘रुसलाई सहयोग गर्ने चिनियाँ कम्पनीले प्रतिकूल प्रभाव झेल्नुपर्ने चेतावनी दिइरहेका छन् – चीनले सो परिस्थितिलाई तुरुन्तै काबुमा ल्याउनुपर्छ र चीनलाई आफ्नो नेतृत्व साबित गर्ने मौका छ’ भन्नेजस्ता सल्लाह दिन लगाई चीनलाई अर्को देशको स्वतन्त्रता र सार्वभौमिकतामा दख्खल दिलाउने तथा चीनलाई पनि सरा अमेरिकाले जस्तै अरूको देशमाथि हमला गर्न बाध्य पार्ने र तर्साउने उद्देश्य अमेरिकी साम्राज्यवादी संस्कार हो । एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी जनता अमेरिकी साम्राज्यवादलाई नकारात्मक शिक्षक मान्छन् ।
‘साझा समृद्धि’ को उल्टो अरूलाई उठ्नै नदिनु, अरूको सभ्यता ध्वंस गर्नु र अरूको भलो हेर्न नसक्नु पनि नकारात्मक प्रवृत्ति हो । सबैलाई सहयोग पु¥याउने उद्देश्यको निम्ति कुनै ‘भाष्य’ को आवश्यकता छैन न त त्यो खोक्रो हुन्छ । अरूलाई उपदेश दिएर आफ्नो अपराध छोप्ने समय म्याद नाघेको औषधी हो ।
स्टेफन एस रोचले अरूलाई उपदेश दिनुभन्दा आफ्नो कर्तव्यप्रति चिन्तन गर्नु बढी फलदायी हुनेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *