भर्खरै :

कुस्माबाट कार्कीनेटा, नौडाँडा हुँदै पोखरा

पर्वत यातायात प्रालिद्वारा सञ्चालित कुस्मा काउन्टरमा २ ओटा टिकट काटिसकेपछि केही समय कुस्मा बजारको फन्को माने निधो ग¥यौँ । किनभने, हामीसँग २ घण्टाको समय बाँकी थियो । नेपालको संसद्बाट देशघाती एमसीसी सम्झौता पारित गरेपछिको राजनैतिक माहोल बुझ्न हामीले स्थानीयसँग छलफल गर्ने मनसाय बनायौँ । केही महिना अगाडि नेपाल मजदुर किसान पार्टीले कुस्मा बजारमा एमसीसी सम्झौताविरुद्ध विरोध जुलुस तथा सभा सम्पन्न गरेको थियो । सो बारे पनि स्थानीय जनताको प्रतिक्रिया बुझ्नु थियो ।
घुम्दैघुम्दै एउटा होटलमा छि¥यौँ । होटल मालिकसँग २ कप कालो चिया ‘अर्डर’ ग¥यौँ । हामीसँगै एकजना ग्राहकले पनि चिया अर्डर गर्नुभयो । चिया पिउँदै हामीले उहाँहरूसँग छलफल सुरु ग¥यौँ । संसद्बाट पारित एसमीसी सम्झौता र नेपाल मजदुर किसान पार्टीले कुस्मा बजारमा गरेको विरोध जुलुस तथा सभाबारे जिज्ञासा राख्यौँ । उहाँहरूले नेमकिपाले गरेको काम स¥हानीय भएको र एमसीसी सम्झौताविरुद्धको जुलुस तथा सभा पर्वतको कुस्मामा पहिलोचोटी भएको बताउनुभयो । काङ्ग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका राजनैतिक दलहरूले नेपाली जनतालाई धोका दिएको उल्लेख गर्दै निर्वाचनमा मत हाल्न जाने जाँगर पनि नभएको उहाँहरूले बताउनुभयो । हामीले निराश नहुन अनुरोध गर्दै एमसीसी सम्झौता संसद्बाट पारित गराउने नेमकिपाले देशको सार्वभौमिकता र समाजवादी गणतन्त्रको निम्ति निरन्तर सदन र सडकमा सङ्घर्ष गर्दै आएको पनि स्मरण गराउँदै अर्को पटक भेट्ने वाचा गरेर हिँड्यौँ ।
करिब ३ बजे कुस्मा बजारबाट बस अगाडि बढ्यो । दोबिल्लाबाट दक्षिणतर्फ मोडिएर मोदी खोलाको किनारै किनार केही समयको यात्रापछि कतै भिरालो परेको त कतै ठाडो कच्चि बाटोमा धुलो उडाउँद बसै उकालो चढ्यो । बसमा यात्रुहरू खचाखच भरिएका थिए । निश्चित समयमा र कम मात्र गाडी चल्ने भएकोले पनि यात्रुहरूको चाप बढी भएको होला । गाउँका मानिसहरू आफूलाई चाहिने दैनिक उपभोगका सामान खरिद गर्न, रोजगारी, ज्याला मजदुरी र प्रशासनिक कामको निम्ति कुस्मा बजार आउनुपर्ने रहेछ । यात्रामा एक जना दिदीले हामीलाई विभिन्न स्थानको बारेमा जानकारी दिएर सहयोग गर्नुभयो ।
उकालो र कच्ची बाटो भएको कारण बस तीव्र गतिले हुइँकन सक्दैनथ्यो । करिब २ घण्टाको यात्रापछि कुस्मा नपाअन्तर्गत वडा नं. १३ खौलामा झ¥यौँ । त्यहाँ हिरामणीजी हामीलाई पर्खिरहनुभएको थियो । ‘खौला’ डाँडाको उच्च भागमा रहेको सिरसिर हावा चल्ने स्थान रहेछ । त्यहाँबाट कुस्मा बजार र टाढाटाढासम्मको मनोरम दृश्य सहजै देख्न सकिन्छ । वरिपरि हरियाली तथा प्राकृतिकरूपले परिपूर्ण उक्त क्षेत्रको पर्यटकीय हिसाबले पनि विकास गर्न सकिने प्रचुर सम्भावना छ । बसबाट ओर्लिएर केही समय चिया पिउँदै गफियौँ स्थानीयसँग ।
करिब १७÷१८ वर्ष पहिले नै त्यस ठाउँमा मोटरबाटो पुगिसकेको स्थानीयले जानकारी दिए  । तर, हालसम्म बाटो स्तरोन्नती हुन नसकेकोमा भने स्थानीयको गुनासो रहेको छ । ०४६ सालको जनआन्दोलनपश्चात् हालसम्म गाउँ गाउँमा धेरै मोटरबाटो पुग्यो । अझ घरघरमा बाटो पु¥याउने कोसिस हुँदै छ । डोजर चलाएर अन्धाधुन्द बाटोहरू खनिए । बाटो खन्ने क्रममा विज्ञ तथा भूगर्भविद्हरूको सल्लाह लिइएको छैन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि झन् बाटो खन्ने लहरै चलेको छ । स्थानीय तहका शासक दलका जनप्रतिनिधि र कर्मचारीहरूलाई डोजर र बाटो ‘कमाइ खाने भाँडो’ बनेको छ । विकासको नाममा भ्रष्टाचार मौलाएको छ । बाटो खनिएपछि विकासभन्दा विनाश निम्तिएको छ । बाटोले मान्छेको जीवनलाई केही सहज बनाएको छ भने बाढी, पहिरो, भूक्षय को जोखिम पनि बढेको छ । यसकारण, विकासको नाममा अन्धाधुन्द बाटो खन्न छोडेर भूक्षय नियन्त्रण गर्ने काममा सरकारको ध्यान जानु जरुरी छ ।
खौलाभन्दा केही वर ठूलीपोखरीमा ‘ठूलीपोखरी स्वास्थ्य केन्द्र’ रहेछ जसलाई अस्पतालको रूपमा परिणत गराउन प्रयासरत रहेको जानकारी प्राप्त भयो । उक्त अस्पतालमा डेलिभरी तथा सुरक्षित गर्भपतनका साथै साधारण चिरफार पनि गरिने रहेछ । यसले गाउँका जनतालाई केही राहत मिलेको स्थानीय बताउँछन् । खौला र काकीनेटामा पनि सञ्चालनमा छन् । केही निजी विद्यालयहरू पनि खुलेको पाइयो भने पुराना सरकारी प्राथमिक विद्यालयहरू भने जर्जर अवस्थामा पुगेको पनि देखियो । पहाडी भेगमा निकै टाढाको दूरीमा विद्यालय हुँदा सबै जनताका छोराछोरीले समानरूपले पढ्ने अवसर पाउँदैनन् । यसर्थ, नजिकको दूरीमा गुणस्तरीय विद्यालय र स्वास्थ्य चौकीहरू हुनु अपरिहार्य छ ।
खौलामा केही समयको चिया बसाइपछि झोला बोकेर ओरालो झ¥यौँ । खेतबारीका बीचबाट सानो कुलोबाटो हुँदै झर्दा किसानले लगाएको बालीतिर पनि हाम्रो ध्यान गयो । भिरालो परेको जमिनमा कतै जौ, कतै गहुँ, तोरी, आलुखेती गरिएको थियो । स्थानीय किसानले आफूले सक्दो मेहनत गरिरहेका छन् । सरकारले चासो दिन सकेको छैन । सरकारले सिँचाइको बन्दोवस्त, मल, बिउविजनको व्यवस्था र कृषि उत्पादनको बजारको व्यवस्था गर्न सकेको खण्डमा गाउँमै ‘सुन फलाएर’ आत्मनिर्भर बनाउन सकिने अवस्था छ । भिरालो परेको जमिन र जङ्गलको छेउछाउमा मनग्ये घाँसपातहरू पाइने भएकोले पशुपालन गरेर पनि रोजगारी सृजना गर्न सकिन्छ । सुन्तला लगायतको फलफुल उत्पादनको निम्ति नेपालको अधिकांश पहाडी भूभागको हावापानी उपयुक्त हुने भएकोले यतातिर पनि सरकारको ध्यान जानु जरुरी छ । पहाडका माथिल्लो भागमा पानीको स्रोत कम हुन्छ । फेदमा रहेका खोलानाला र पानीको मूलबाट पानी लिफ्ट गरेर माथि पु¥याएर वितरण गर्ने प्रविधिको विकास जरुरी छ ।
करिब आधा घण्टाको पैदल यात्रापछि हामी हिरामणीजीको घरमा पुग्याँै । घरमा आएका पाहुनालाई चिसो पानी पिलाएर स्वागत गर्ने चलन धेरै ठाउँमा छ । आँगनमा झोला बिसाएर चिसो पानी पियौँ र केही समयपछि हिरामणीजीको जहानले चिया बनाएर ल्याउनुभयो । चिया पिउँदै परिचय गर्दै केही समय भलाकुसारी ग¥यौँ । घरमा बाबाआमा पनि हुनुहुँदो रहेछ । उहाँहरूसँगै पनि राम्रो चिनजान भयो । साँझ सुवेदी परिवारले बनाएको मीठो खाना खाएर त्यहीँ बास बस्यौँ । भोलिपल्ट बिहान गाउँका केही मानिस आँगनमा भेला भए । भेलामा गाउँका ज्येष्ठ नागरिकहरूको बाहुल्यता थियो । युवाहरू रोजगारीको निम्ति विदेश जाने, सदरमुकाम पस्ने, अध्ययनको निम्ति पोखरा, कुस्मा, चितवन, काठमाडौँ लगायतका सहर बजारमा गएका कारणले युवाहरूको कमी भएको महसुस भयो । केही बेर छलफल चल्यो । धेरैको जिज्ञासा एमसीसी सम्झौता र त्यसले पार्ने प्रभावको बारेमा थियो । सरकारले एमसीसी सम्झौता संसद्बाट पारित गराएपछि देश विदेशीको हातमा पर्ने हो कि भन्ने चिन्ता सबैमा रहेछ । जनतामा राजनैतिक दलप्रति वितृष्णा फैलिएको देखियो । हामीले शासक दलहरूले गरेका कुकृत्यको विरोध गर्दै एमसीसी सम्झौता गर्ने देश बेचुवा पार्टीहरूको विरुद्ध अझै सङ्घर्ष जरुरी रहेको बतायौँ । समाजवादी व्यवस्थाको निम्ति जनता तयार हुनु जरुरी रहेको प्रस्ट्यायौँ ।
केही समयको छलफल र बहसपछि खाना खाएर करिब १० बजेतिर हिरामणीजीको परिवारसँग बिदा लिएर पोखरा निस्कियौँ । मीठो खाना र बाससँगै न्यानो माया दिनुभएकोमा उहाँहरूलाई मनमनै धन्यवाद दियौँ । करिब १ घण्टाको उकालो चढेपछि मात्र बस पाउने स्थान कार्कीनेटा पुगिन्थ्यो । त्यहीँका स्थानीयलाई भए आधा घण्टाको बाटो हो । हामीलाई अलि गा¥हो हुँदो रहेछ । हामीले बोकेको झोलामा पत्रपत्रिका, लत्ताकपडा, पार्टी प्रकाशनहरू समेत भएकोले अलि गा¥हो नै थियो । बीच–बीचमा थकाइ मार्दै गाउँका मान्छेहरूसँग भलाकुसारी गर्दै अगाडि बढ्यौँ । क्रान्तिको बिउ छर्न सहज र सरल छैन । नेमकिपाले छरेको क्रान्तिको बिउ कुनै दिन झाङ्गिनेछ भन्नेमा हामी विश्वस्त छौँ । आधाआधी बाटो काटिसकेपछि एउटा घरअगाडि थकाइ मार्न बस्यौँ । घरकी एक बहिनीले गिलासमा चिसो पानी ल्याइदिनुभयो । ती बहिनीले दिनुभएको पानी ‘अमृत’ समान थियो । गाउँघरमा बटुवालाई पानी पिलाएर सत्कार गर्ने नेपाली संस्कार अनुकरणीय र सम्मानयोग्य छ ।
करिब ११ बजेतिर कार्कीनेटा पुग्यौँ । पहाडको बीच मनोरम भञ्ज्याङमा रहेको कार्कीनेटा त्यस ठाउँको व्यापारिक केन्द्रजस्तै रहेछ । कार्कीनेटाको केही भाग कुस्मा नपा अन्तर्गत पर्दाेरहेछ भने मुख्य बजार फलेवास नगरपालिका वडा नं १ अन्तर्गत पर्दाे रहेछ । कार्कीनेटाबाट एउटा बाटो पोखरातर्फ जाँदो रहेछ कुस्मा बजारबाट ठूली पोखरी, खोला, कार्कीनेटा, स्याङ्जाको फूलबारी, नौडाँडा हुँदै पोखरा पुग्ने बाटो खुलेको रहेछ ।
सरकारले नगरपालिकाको सङ्ख्या बढाउन विकट गाउँहरूलाई पनि नगरपालिकाअन्तर्गत राख्यो । नगरपालिका घोषणा भएका पहाडी गाउँहरूमा जनताले यथोचित सेवा सुविधा प्राप्त गर्न सकेका छैनन् । जनता करको भारबाट थिचिएका छन् । प्राचीन ग्रीसमा साना–साना नगरराज्यको परिकल्पना गरिएको थियो । सरसफाइ, ढल, नाली, बाटोघाटोको उचित व्यवस्थापन, प्रशासनिक सहजता प्राचीन नगरराज्यको परिकल्पना थियो । तर, अहिले एनजीओ, आईएनजीओको प्रभावमा परेर कुनै सुविधा नभएको विकट गाउँलाई पनि नगरपालिकाअन्तर्गत राख्दा जनताले दुःख पाएका छन् ।
पर्वतको कार्कीनेटाबाट स्याङ्जाको फूलबारी, नौडाँडा, कास्कीको छोरेपाटन, बिरौटा हुँदै करिब ४ बजेतिर पोखराको पृथ्वीचोक पुग्दासम्मको यात्रामा विभिन्न ठाउँका स्थानीय जनतासँग छलफल, अन्तरक्रिया भयो । शासक दलका नेताहरूप्रति जनताको तीव्र आक्रोश छ । नेमकिपाले संसद्मा निर्वाह गरेको भूमिका र अडानप्रति जनताको सकारात्मक प्रतिक्रिया छ । एमसीसी सम्झौता संसद्बाट पारित गरिए पनि नेपाली जनताले अनुमोदन गरेका छैनन् । जनता सङ्घर्षमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *