भर्खरै :

बासुदेवको सम्झनामा पाँगामा शोकसभा

काठमाडौँ, ५ चैत । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समिति र नेपाल भाषा साहित्य तःमुंज्या पाँगा कीर्तिपुरको संयुक्त आयोजनामा नेमकिपाका पूर्व काठमाडौँ जिल्ला सदस्य एवम् तःमुंज्या पाँगाका अध्यक्ष बासुदेव डंगोलको असामयिक निधन भएकोमा शनिबार ११ औँ दिनमा पाँगा देउखेलमा शोकसभा सम्पन्न भयो ।
श्रद्धाञ्जली सभा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले मानिसको अकस्मात मृत्यु स्वास्थ्य परीक्षण समयमै गर्न नपाउँदा हुने गरेकोले ६० वर्ष माथिका सबै मानिसले नियमित स्वास्थ्य परीक्षण गर्न र शिविर सञ्चालन गर्न समेत आग्रह गर्नुभयो । बासुदेव डंगोलले शिक्षा क्षेत्रमा, सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, साहित्यिक क्षेत्रमा, कला क्षेत्रमा गर्नुभएका योगदान हामी सबैको लागि पनि प्रेरणाको रूपमा रहने बतताउँदै उहाँले अधुरो छोडेर गएका कार्य पूरा गर्ने प्रयत्नमा हामी लाग्नुपर्दछ भन्नुभयो ।
उहाँले अबका दिनमा पनि हामी नेपाली जनताहरू शासक दलहरूले गरिने हरेक जनविरोधी काममा मूकदर्शक बन्ने हो भने नेपाली जनताले यो भन्दा पनि धेरै कठिनाइ र समस्याको सामना गर्नुपर्ने हुन्छ भन्दै जनताको सङ्घर्षले मात्र देशघातीहरूलाई जनताको शक्तिले पराष्त गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य एव तःमुंज्याका उपाध्यक्ष तथा डंगोलका समकक्षी साथी श्रीकृष्ण महर्जनले अति मिल्ने साथीको अकस्मात निधनले समुदाय र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले बासुदेवको योगदानलाई आत्मसात गरी अगाडि बढ्ने प्रण गर्दै साहित्य क्षेत्रमा गर्नुभएको अतुलनीय देनको कदर गर्दै बासुदेव स्मृति कोष खडा गर्ने र हरेक वर्ष हुने नेपाल भाषा साहित्य तःमुंज्यामा वासुदेव स्मृति पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो भने राजनैतिक पार्टी र कार्यकर्ताहरूमा विवेकशीलता हराएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा तःमुंज्याका सदस्य मधुकर श्रेष्ठले बासुदेवको संंक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो । हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सुरुमा स्व. बासुदेवको तस्बिरमा अतिथिहरू, परिवारजन, आयोजकका साथीहरू र स्थानीय जनताले माल्यार्पण र पुष्प गुच्छा अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *