भर्खरै :

विद्यार्थीहरूको पढाइप्रति बेवास्ता ?

कोरोनाको कारण विद्यालय बन्द भएपछि विद्यार्थीहरूको शैक्षिक स्तर खस्किएको या पढाइ बिग्रेको शिक्षकहरूमात्र होइन अभिभावकहरू पनि स्वीकार्छन् । शिक्षक र अभिभावकहरूको अनुभवअनुसार लामो समयसम्म विद्यालय बन्द भएपछि विद्यार्थीहरूको पढाइप्रति चासो कम भएको हो । समय कटाउन साथीहरूसँगै घुमफिर गर्ने, मोबाइल र टीभीमा झुम्ने, फेसबुकमा अल्झेर अश्लील दृश्य हेर्ने, मायाप्रीतिको गीत सुन्ने आदि कारणले विद्यार्थीहरूको पढाइमा ध्यान नगएको देखिन्छ । केटीहरूसँग जिस्किने, अश्लील कुरा गर्ने, घर, टोल र विद्यालयमा पनि पढात्न्दा गफमै भुल्ने गरेका विद्यार्थीहरू यत्रतत्र देखिएका छन् । कति विद्यार्थीहरू किन पढ्ने भनी झर्केर बोल्छन् । त्यही रोग विद्यालय खोलेपछि पनि विद्यार्थीमा देखिएका छन् ।
अहिले विद्यार्थीहरू अत्तेरी भए या अभिभावक र शिक्षकहरूको कुरा पनि त्यति सुन्दैनन् । कक्षाका लेखाए लेख्दैनन्, सम्झाए सम्झिँदैनन् । पढाए गफमै भुलेर कक्षामा पढाइमा असर पु¥याउँछन् । उनीहरू आफूमात्र नपढ्ने होइनन् अरुलाई पनि पढ्न बाधा पु¥याउँछन् । यस्ता खालका विद्यार्थीहरू थोरै भए पनि अधिकांश विद्यालयमा रहेकोे शिक्षक र अभिभावकहरू बताउँछन् । त्यस्ता विद्यार्थीहरू कहिलेकाहीँ शिक्षकलाई पनि तर्साउन पछि पर्दैनन् । उनीहरू घरमा आमाबुबालाई तर्साउँछन् र धम्की दिन्छन् । तिनै विद्यार्थीहरू कक्षा छुटेपछि अरु साथीहरूसँग झगडा गर्छन्, कहिलकाहीँ लुटपिट गर्न पनि पछि पर्दैनन् ।
अनुशासनमा नबस्ने, शिष्ट व्यवहार नगर्ने, झर्केर रिसाएर बोल्ने, कहिले कापी नल्याउने, कहिले किताब त कहिले कलम पनि नल्याउने विद्यार्थीहरू पनि विद्यालयमा देखिएका छन् । भविष्यको कुनै ख्याल नगर्ने, सत्मार्गमा नलाग्ने, लागूपदार्थ सेवन गर्ने, चुरोट खाने र अन्य उच्छृङ्खल तथा उत्ताउला गतिविधिमा सरिक भएर हो–हल्ला गर्ने व्यक्तिहरू पनि समाजमा देखिएका छन् । विद्यार्थीका यी गतिविधि या कामको शैली राम्रो होइन । यसले राम्रो सन्देश दिँदैन । यसरी नै विद्यालय, घर आँगन, चोक र गाउँ ठाउँमा त्यस्ता उत्ताउला विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएमा भोलि समाजमा के हुन्छ ? समाजको संरचना कस्तो हुन्छ ? यो बुझ्नैपर्ने विषय हो । यसलाई नियन्त्रण गर्न सकिएन भने भोलि समाजको संरचना नै फरक ढङ्गको हुनेछ । यसबारे हामी सबै जना सतर्क र सचेत हुनुपर्छ । गलत कार्यको विरोध गरी उदाहरणीय समाज बनाउनुपर्छ । गलत सङ्गत या कुलतको कारण समाज नभड्कियोस् भन्ने चाहना सबैको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *