भर्खरै :

पानीलाई बेवास्ता नगरौँ

संसार मङ्गलबार अर्थात् मार्च २२ मा पानी दिवस मनाइयो । संसारभर जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि, तापक्रम वृद्धि, प्रदूषणजस्ता मानवीय तथा प्राकृतिक कारणले पिउने पानीको अभाव पेचिलो बन्दै गएको छ । पानीबिना मानिसमात्र होइन, पृथ्वीको कुनै पनि जीवन भएको प्राणीको अस्तित्व सम्भव छैन । पानीका स्रोत र मानव सभ्यताको गहिरो सम्बन्ध रहँदै आएको छ । मानव सभ्यता नदी र पानीका अन्य स्रोतको छेउछाउमा विकास भएको देखिन्छ । अर्थात्, मानव सभ्यता पानीसँग सापेक्षिक छ । पानीको स्रोत कम हुँदा वा नष्ट हुँदा ठूला बस्ती र सहरहरू रित्तो र परित्यक्त बनेका छन् । तर, संसारमा आज विशेषतः बाँच्न चाहिने स्वच्छ पानीको अभाव बढ्दै गएको छ । त्यसो त पृथ्वीको चार भागको तीन भाग पानीले भरिएको छ । तर, समुद्रको नुनिलो पानी मानिस र अधिकांश प्राणीले पिउन सक्दैन । त्यसकारण, हिउँ पग्लेर वा जमिनमुनिबाट रसाएको पानी नै मानिस र अन्य प्राणीको जीवन धान्न अपरिहार्य छ ।
जमिनमाथि भएका पानीका स्रोतको संरक्षण गर्नुपर्नेमा कुनै विवाद रहेन । विडम्बना ! केही मानिस वा व्यक्तिको काबुभन्दा बाहिरका परिस्थितिजस्तै जलवायु परिवर्तन, विश्व तापमान वृद्धि, बढ्दो सहरीकरण, प्रदूषण आदि कारणले त्यस्ता पानीका स्रोत सुक्दै वा मूल नष्ट भइरहेका छन् । यस्तो परिस्थितिमा मानिस र प्राणी जगतको भर जमिनमुनिको पानी भएको छ । पृथ्वीमा भएको पानीमध्ये एक प्रतिशतमात्र पिउन योग्य छ । त्यही एक प्रतिशत पानीको ९९ प्रतिशत पानी जमिनमुनि छ । जमिनमाथिको पानी विभिन्न कारणले सुक्दै गएको परिस्थितिमा अब मानिसले त्यही जमिनमुनिको पानीको भर पर्नुपर्ने छ । तर, त्यसको अर्थ जमिनमुनिको पानीको अत्याधिक दोहनले संसार थप समस्या पर्नेछ । त्यसकारण, यो वर्षको पानी दिवसको मूल नारा नै भूमिगत पानीको संरक्षण गर्ने विषयमा छ ।
भूमिगत पानी मानिससँग र समस्त प्राणी जगतको लागि लुकेको खजाना बनेको छ । यसको संरक्षण आजको लागि मात्र होइन, भविष्यको लागि पनि आवश्यक छ । भूमिगत पानीको भावी पुस्तामा हस्तान्तरण भावी पुस्ताप्रति आजको पुस्ताको कर्तव्य पनि हो । तर, सबै कुरालाई नाफा घाटा र आर्थिक कोणबाट मात्र हेर्ने पुँजीवादी दृष्टिकोणले मानिसको प्राण धान्ने त्यही पानीको पनि अत्याधिक दोहन गरेर अकुत नाफा कमाउने ध्याउन्नामा लागेको छ । माक्र्सले पुँजीपति वर्ग नाफाको निम्ति आफै फाँसीको तख्तामा चढ्न पनि तयार हुन्छन् भन्नुभएको थियो । आज भूमिगत पानीको अत्याधिक दोहन गरी मनपरी व्यवहार गर्नु पुँजीपति वर्गले आफ्नो घाँटीमा आफैले पासो लगाउनु हुनेछ । उनीहरूले आफ्नो घाँटीमा मात्र फाँसीको पासो लगाएका छैनन्, बरु भावी पुस्ताको घाँटीमा पनि पासो थपेका छन् ।
पानीको अभावले सबभन्दा पीडित फेरि पनि गरिब देशका गरिब जनता नै हुन् । पानीका स्रोतहरू सुक्दा आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नुपर्दा गरिब जनताले ठूलो कहर भोग्ने गरेका छन् । यसले संसारमा नयाँ नयाँ द्वन्द्व निम्त्याइरहेको छ । त्यो द्वन्द्वले संसारमा अशान्तिका जरा गहिरो गरी फैलाएको छ । हामीले पिउँदै आएको पानीको अभाव मात्रले पनि संसारमा बहुआयामिक फराकिलो प्रभाव पार्ने गरेको छ ।
पानी संरक्षण वातावरण विज्ञानका अध्येता, वातावरणकर्मी, अभियन्ता, केही जागरुक प्रशासक र नीति निर्माताको मात्र होइन । यो हरेक मानिसको समान चासोको विषय हो । पानीको मुहानको संरक्षण भावी पुस्ताको आजको पुस्ताको दायित्व पनि हो । त्यसकारण, पानीको संरक्षणलाई सोच्नुपर्ने विषय ठानौँ । पानीको मुहानको संरक्षण, भूमिगत पानीको सम्भारबारे गम्भीर बनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *