शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
हामीले भर्खरै नारी दिवस मनायौँ । सबले भन्छन्– नारीलाई समान हक दिनुपर्छ र शिक्षादीक्षा दिनुपर्छ । छोरासरह समान व्यवहार दिनुपर्छ । स्वतन्त्रताको हक दिनुपर्छ । के हामीले यो सबै अधिकार पाएका छौँ त ? अवश्य छैन । अहिले पनि हाम्रो समाजमा उति नै कुरीतिहरू छन् । यसमध्ये एक दाइजो प्रथा पनि हो ।
अहिले पनि तराईमा दाइजो प्रथाले विकराल रूप लिएको छ । दाइजो भनेको विवाहमा केटी पक्षबाट दिइने सामान अथवा पैसा हो । तराई मधेसमा केटा पक्षले बिहे गर्नुभन्दा अगाडि नै मलाई यति पैसा वा सामान चाहिन्छ भनेर केटी पक्षलाई आफ्नो प्रस्ताव राख्दछ । यदि केटी पक्षले मैले यति पैसा दिन सकिन भन्यो भने केटा पक्षले बिहे नै नगर्ने भन्छ । यस्तो समस्या हाम्रो समाजमा छ । के केटी भएर जन्मनु नै पाप हो । के केटीमान्छे मान्छे होइन ? केटी जतिसुकै राम्ररी पढेलेखेको भए पनि दाइजो नदिने भए बिहे नगर्ने भन्छन् । अहिले हाम्रो समाजमा अहिले पनि दाइजोको कारण कति महिलालाई जिउँदै जलाइएको छ र कतिलाई मानसिक अथवा शारीरिक यातना दिएर मारिएको छ ।
पहिला सतीहरू जल्थे तर अहिले समाजमा भएको दाइजो प्रथाकोे कारण महिलाहरू पटक–पटक जलिरहेका छन् । सय वर्षपहिले सतीलाई शारीरिकरूपले जलाइन्थ्यो । तर, आज हाम्रो समाजले शारीरिक र मानसिकरूपले महिलालाई जलाइरहेको छ ।
हामीले बुझ्नपर्छ एउटा नारी आफ्नो आमाबुबा छोडेर आएकी हुन्छिन् । योभन्दा ठूलो दाइजो के हुनसक्छ र ? दाइजोको कारणले पत्नी, बुहारीलाई सताउनुभन्दा कतै गएर हात फैलाए छिटो भिख पाइन्छ । एकपटक सोच्नुहोस् त, जसले तपाईँको घरजम बसाउन छोरीलाई जन्म घरबाट बिदा गरिदिए, आधा काममा बिनास्वार्थ सहयोग गरे, तपाईँको वंश चलाउन तपाईँको विश्वासमा आफ्नो आँखाको नानीलाई सुम्पिए, तिनलाई किन दुःख दिने ? त्यहाँ ससुराली सम्पत्तिको के काम ? त्यसैले दाइजो लिनु भिख लिनु बराबर हो ।
केटाभन्दा केटी केमा कम छ र ? केटाभन्दा केटीहरूले नै बढी काम गरिरहेका हुन्छन् । उनीहरूले सबै घरायसी काम सम्हाल्छन् । तर, केटीहरूले गरेको कामको मूल्य हुँदैन । यदि अरू देशमा गएर केटीहरूले आफ्नो घरमा गर्ने काम गरे भने त्यहाँ त्यसको मूल्य हुन्छ । तर, हामीले आफ्नो घरमा गरेको कामको मूल्य हुँदैन । यही हो, हाम्रो समाजको समस्या । केटी मान्छेले दिनभरि काम गर्दा केही नहुने, केटा मान्छेले कतैबाट काम गरेर आयो भने बाबु तिमीलाई धेरै थकाइ लाग्यो होला, आराम गर भन्ने चलन छ । यो कहाँको न्याय हो ? त्यसैले हामीले पहिला कामको मूल्य बुझ्नुपर्छ । यदि हामीले केटी मान्छेले गर्ने कामको मूल्य बुझेनौँ भने हाम्रो समाज कहिल्यै परिवर्तन हुँदैन । समाज परिवर्तन गर्नलाई पहिला आफ्नो सोच बदल्नुप¥यो, सबैको कामको महत्व बुझ्नुप¥यो ।
सबै केटीहरूलाई शिक्षा दिनुपर्छ, आत्मनिर्भर बनाउनुपर्छ । दाइजो माग्ने र दिने दुवैलाई सरकारले कडा सजायको व्यवस्था गर्नैपर्छ । सबै युवायुवती मिलेर दाइजो प्रथासम्बन्धी जनचेतना फैलाउनुपर्छ र सम्पूर्ण अभिभावकहरूलाई बुझाउनुपर्छ ।
Leave a Reply