भर्खरै :

स्वस्थ निर्वाचन नै प्रजातन्त्रको सौन्दर्य हो

देशमा प्रजातन्त्र छ । प्रजातन्त्रमा आम नागरिकले जीवन यापनका लागि अत्यावश्यक थुप्रै प्रकारका स्वतन्त्रताहरू उपभोग गर्न पाउँछन् भन्ने विश्वास गरिन्छ । प्राप्त स्वतन्त्रताको माध्यमबाट आफ्नो कष्टकर जीवनलाई अलिकति भए पनि माथि उकास्ने प्रयत्न गर्न पाउँछन् भन्ने बुझाइ छ । एउटै समाजमा रहे बसेका र एउटै थालमा खाएर सुख दुःख साटासाट गरेका छिमेकी, मित्र, नातागोतामध्ये जो कसैले पनि निर्वाचनमा भाग लिन पाउने र अझ उम्मेदवार जनताको प्रतिनिधि हुन पाउनेजस्ता अवसर प्रजातन्त्रमा नागरिकहरूले पाउने भएकाले यसलाई प्रजातान्त्रिक शासन व्यवस्था मान्दै आएको छ ।
यस व्यवस्थालाई योभन्दा अगाडिका समाज व्यवस्थाभन्दा तुलनात्मकरूपमा प्रगतिशील र समाजोपयोगी मान्नुको अर्को कारण आ–आफ्नो निर्वाचन क्षेत्रमा बसोवास गर्दै आएका आफ्ना मतदातालाई आफैले खुसी पार्नसक्ने अवसर जुत्नु पनि हो । मतदाताको पक्षमा र तिनीहरूकै हितमा निर्वाचित जनप्रतिनिधिले जनताको सेवा गर्ने उत्तम माध्यम हुने हुनाले यो जनताको व्यवस्थाको रूपमा सर्वत्र स्वीकार गरिएको राजनीतिक व्यवस्था हो ।
यसमा फाइदाहरूमात्रै छैनन् । प्रजातन्त्रका केही बेफाइदाहरू पनि छन् । निर्वाचनमा उम्मेदवार हुन अस्वस्थ प्रतिस्पर्धा हुने, निर्वाचन जित्नकै लागि चुनावी मैदानमा उत्रिने, निर्वाचित भएपश्चात् मतदाताको सेवा र हितका लागि आफूलाई समर्पित गर्नुभन्दा ‘पेशा’ को रूपमा राजनीतिलाई अङ्गीकार गरी आफ्नो र आफ्नाको स्वार्थका लागि काम गर्ने, दलका नेतालाई गलत र भ्रमात्मक सल्लाह दिई शक्ति हातमा पार्न खोज्नेजस्ता क्रियाकलापहरू पनि यसै व्यवस्थामा हुन्छ । यी र यस्ता प्रवृत्तिले त्यो व्यवस्था जनताको शासन व्यवस्था हुने गर्दैन । यस्ता गलत प्रवृत्ति हावी हुँदा समाजमा विग्रह उत्पन्न हुन्छ । यस्ता मूर्खहरू हावी हुनसक्ने प्रबल सम्भावना रहन्छ ।
त्यसो त निर्वाचन घोषणापत्रको लडाइँ हुनुपर्ने हो । साथै प्रतिबद्धता पत्रको लडाइँ हुनुपर्ने हो । फरक–फरक दलहरूको घोषणापत्रको माध्यमबाट मतदातालाई प्रभावित पारी निर्वाचनमा विजय हासिल गर्ने र सोही घोषणापत्र वा प्रतिबद्धतापत्रअनुसार आफ्नो काम कारबाही अगाडि बढाउनुपर्ने हो । स्वस्थ निर्वाचन नै प्रजातन्त्रको सौन्दर्य हो, विशेषता हो ।
तर, प्रजातन्त्रको सौन्दर्यलाई कायम गर्न निर्वाचनको मैदानमा उत्रिने दलका नेताहरूका गैरराजनीतिक र अराजक गतिविधिका कारण जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको प्रजातन्त्रमा ग्रहण लागेको अनुभूति सर्वत्र गरिँदै छ । प्रजातन्त्रको विशेषताको रूपमा रहेको निर्वाचनबाट निर्वाचित दलका नेताहरूमा अभाव रहेको राजनीतिक संस्कारको कारण जनतामा राजनीति र प्रजातन्त्रप्रति निराशा उत्पन्न भएको अनुभूति पनि गरिँदै छ । नेताहरूप्रति जनताको दृष्टिकोण सकारात्मक बनेमात्र प्रजातन्त्र जीवन्त रहन्छ । प्रजातन्त्रलाई जीवन्त राख्नको लागि दलहरूमा प्रजातान्त्रिक आचरण र प्रजातान्त्रिक संस्कार आवश्यक पर्दछ । जुन कुराको अभाव शासक ठूला दलहरूमा धेरै अगाडिदेखि रहँदै आएको छ । सबै नीतिको राजा राजनीति रहेको कारण राजनीतिलाई गतिशील बनाउन सोहीअनुरूपको आचरण आवश्यक पर्दछ । तबमात्र राजनीतिक सहभागितामा वृद्धि आउँछ । तर, आजको परिस्थितिको अध्ययन गर्ने जो कसैले पनि शासक दलका नेताहरूको व्यवस्था सुहाउँदो आचरण र संस्कारलाई भन्ने ‘दिउँसै बत्ती बालेर खोज्नुपर्ने’ भएको छ ।
निर्वाचन जित्न र सत्ता टिकाउनकै लागि राजनीतिक दबलीमा ठूला दलले देखाउने आचरण र व्यवहारका कारण जनताले ती दलहरूलाई विश्वास गर्न सकिरहेका छैनन् । पछिल्लोपटक अमेरिकी परियोजनाको रूपमा रहेको एमसीसीको पक्षमा जसरी ठूला दलका नेताहरू लागे त्यसपश्चात् ती दलहरू विदेशपरस्त भन्न बाध्य पारिएको छ । देश र जनताको हितमा काम गर्ने घोषणापत्रलाई कन्टेनरमा फालिसकेका दलहरूले जनताको सेवा गर्ला भन्ने विश्वास कसरी गर्ने ?
निर्वाचनको लागि राजनीतिक दलमात्र होइन, राजनीतिक नेता पनि सर्वस्वीकार्य हुनुपर्दछ । अर्थात्, उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिने दलका नेताहरूको छवि स्वच्छ हुुनुपर्दछ । उम्मेदवारहरू सेवाको रूपमा अन्तरमनदेखि ग्रहण गर्नसक्ने व्यक्तित्व हुनुपर्दछ । लोभलालच नभएका, निःस्वार्थी र अरूको लहैलहैमा आउने पात्रभन्दा आफ्नो स्पष्ट दृष्टिकोण र अडान भएका उम्मेदवारहरू नै निर्वाचनका लागि योग्य हुने गर्दछ । अन्यथा, जनताले सुखको आसमा दुखैमात्र पाउने चिन्ता रहिरहन्छ ।
नयाँ वर्षको आगमनसँगै हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दलहरूले भित्री र बाहिरी तवरबाट गतिविधि सुरु गरिसकेका छन् । यस पटकको निर्वाचनमा एमसीसी परियोजनाको पक्षमा मत हाल्ने देशघाती दलहरूलाई पराजित गर्नुपर्ने धेरैको धारणा रहेको पाइन्छ । ५५ अर्ब अमेरिकी सहयोगको लालसामा स्वतन्त्र देशलाई पराधीन बनाउन उद्यत शासक दलहरूको विरोधमा चुनावलाई उपयोग गर्नुपर्ने देखिन्छ । यस हिसाबले हेर्दा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको निर्वाचन उक्त परियोजनाको पक्षमा मत हाल्ने देशघाती दलहरूविरुद्ध र त्यसको विपक्षमा मत हाल्ने देशभक्त शक्तिहरूबीचको चुनावी प्रतिस्पर्धा हुने निश्चित छ ।
निर्वाचनको मतपरिणाम आ–आफ्नो पक्षमा तान्न दलहरूले उम्मेदवार छान्ने काम पनि अगाडि बढाइसकेका छन् । त्यसको लागि तिनीहरूले छुट्टै मापदण्ड र कमिटी विस्तार गरिसकेका छन् । पार्टीप्रति प्रतिबद्ध र लोकप्रिय उम्मेदवारहरूको खोजी गरिरहेका छन् । तर, आफूले खोजेजस्तो उम्मेदवार भेट्टाउनु तिनीहरूको लागि ‘फलामको च्युरा सावित’ हुने कुरा पनि त्यत्तिकै साँचो हो । राजनीतिमा अपराधीकरणको चरित्रलाई भित्र्याएका दलहरूले आज स्वच्छ उम्मेदवार खोज्नु हास्यास्पद छ ।
निर्वाचन अगाडि शासक दलहरूले दिने झूटा आश्वासन जनताले धेरैपटक सुनिसकेका छन् । पार्टीभित्र अपराधीहरूको हुललाई ‘रातो टीका’ लगाएर पार्टी प्रवेशको डिङ हाँक्नेहरूले दिने परिणामको बारेमा आजका जनता सचेत छन् । फौजदारी अभियोग लागि मुद्दा अदालतमा विचाराधीन भएकाहरूदेखि लिएर फौजदारी कसुर प्रमाणित भई सजाय भोगिसकेका अपराधीहरूसमेतको सङ्ख्याले ठूला दलहरूले जनताका उम्मेदवारहरू छान्नु ‘आकाशको फल आँखा तरी मर’ सिवाय अरू केही होइन । तसर्थ, जनताले सचेततापूर्वक आफ्नो मतको सदुपयोग गर्नुपर्दछ । गलत मानिसको चयनले गलत गतिविधि अगाडि बढ्छ र त्यसले राम्रो परिणामको आशा गर्नु व्यर्थ छ । शासक दलका गतिविधिहरू नजिकबाट नियालिसकेका जनता फेरि फेरि झूठा आश्वासनमा पर्नु आफ्नै लागि ठूलो क्षति हुनेछ । प्रजातन्त्रलाई मूर्खहरूको होइन जनताको शासन व्यवस्था हो भन्ने सन्देश दिनु समयको माग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *