भर्खरै :

आक्रामकताको जवाफ ऐक्यबद्धता

चिनियाँ विदेशमन्त्री वाङ यीको दक्षिण एसिया भ्रमणले चीन परिवर्तित विश्व परिस्थितिमा द्वन्द्व होइन, शान्ति र स्थायित्वको पक्षमा रहेको प्रस्ट देखिएको छ । संरा अमेरिकाले रुस र चीनलाई लक्षित गरी युक्रेनलाई नाटोको सदस्य बनाउने प्रयासको प्रतिरोधमा रुसले गरेको हमला यता अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिएको छ । संसार फेरि पनि अर्को ठूलो युद्धमा फस्ने संशय सर्वत्र छाएको छ । तर, पश्चिमा बुद्धिजीवी र सञ्चारमाध्यमले जतिसुकै उक्साए पनि चीन असंलग्न र तटस्थ परराष्ट्र नीतिबाट टसमस भएन । उसले रुसको सुरक्षा चासो जायज भएको भन्दै गर्दा सबै देशलाई आफ्नो सार्वभौमिकता रक्षाको अधिकार भएको प्रस्ट पारेको थियो । चीनको यस्तो अडानले लडाइँमा रुस र चीनलाई तान्ने संरा अमेरिकाको रणनीतिमात्र विफल भएन, बरु संसार ठूलो युद्धको सम्भावनाबाट जोगिएको छ ।
संरा अमेरिका र पश्चिमा देशहरूले युद्ध उछालेर आफ्ना प्रतिस्पर्धी शक्तिहरू रुस र चीनलाई कमजोर बनाएर संसारमा आफ्नो प्रभुत्व अक्षुण्ण राख्ने आक्रामक रणनीति अँगीकार गर्दा चीनले भने शान्ति र ऐक्यबद्धताको रणनीति अघि बढाएको छ । पश्चिमा मोर्चाको चर्को दबाबपछि पनि भारत युक्रेन द्वन्द्वको सन्दर्भमा युक्रेनको पक्षमा उभिन तयार भएन । असंलग्न नीति अङ््गाल्नु उसको राष्ट्रिय हितअनुकूल छ । सीमा विवादको कारण पछिल्ला वर्ष चिसिएका चीन र भारतको सम्बन्ध युक्रेन मामिलामा एकै ठाउँमा ल्याएको छ । अन्तर्राष्ट्रिय परिस्थितिले निम्त्याएको यो निकटतालाई चीनले दुई देशबीचको सम्बन्ध गतिशील र सुमधुर बनाउने मौकाको रूपमा लिएको देखिन्छ । चीनका विदेशमन्त्री वाङको भारत भ्रमणले यही सन्देश प्रवाह गरेको छ ।
चीन र भारतका सीमा समस्यालाई ‘उचित स्थानमा राख्नुपर्ने’ वाङको भनाइले अहिले दुई देशबीचको सम्बन्धमा सीमा विवादभन्दा महत्वपूर्ण अरू धेरै विषय भएको र सीमा विवादमा आपसमा लड्नुभन्दा मिलेर संसारमा देखापरेका नयाँ चुनौती सामना गर्नुपर्ने मत प्रस्ट पारेको छ । आफूलाई क्षेत्रीय हुँदै विश्व शक्तिको तहमा उकाल्ने भारतको चाहनालाई मनन गर्दै चीन ‘बहुधु्रवीय एसिया’ को पक्षमा उभिएको छ र अन्तर्राष्ट्रिय दबुमा भारतीय चाहनालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भारतीय बौद्धिक वृत्त र सञ्चारमाध्यमले अझै चीनप्रति सन्देह व्यक्त गरे पनि एसियालाई युद्धको भुँवरीबाट जोगाउने हो भने अब चीन र भारतजस्ता ठूला एसियाली देशहरूबीच मेलमिलाप गर्नुको विकल्प छैन ।
एसियाली देशहरूबीच विभाजन र द्वन्द्व उछालेर आफ्नो जुङ्गामा ताउ लगाउने संरा अमेरिका र पश्चिमा देशहरूको रणनीति सफल बनाएर फेरि पनि एसियाले पछौटेपना र गरिबीको नर्क भोगेर बस्नु विवेकहीनता हो । संसारभर लडाइँको राँको फालेर आफ्नो हतियारको व्यापारमा मुनाफा कुम्ल्याउने संरा अमेरिकी व्यापारीहरूको योजना अब कदापि सफल हुन दिनु हुन्न । कूटनीतिक संवाद र ऐक्यबद्धताको भावनाले समाधान गर्न सकिने विषयलाई विदेशको उक्साहटमा लागेर आपसमा हानि पु¥याउने बाँदर नीति अब एसियाली देशहरूले त्याग्नुपर्छ । सीमा जोडिएका देशबीच सीमा समस्या र विवाद हुनु अनौठो कुरा होइन । तर, त्यसैलाई द्वन्द्व चर्काउने निहुँ बनाउनु ठीक होइन । चीन र भारतबीच लगातार चलिरहेको सीमा वार्ताको सकारात्मक विकासक्रमले दुई देश समस्या तत्काल समाधान नभए पनि कम्तीमा द्वन्द्वको अवस्था बन्ने छैन ।
विदेशमन्त्री वाङको नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानको भ्रमणले फेरि पनि लडाईं र द्वन्द्वको डावानलमा धकेल्ने र पक्षधरताको राजनीतिमा तान्ने संरा अमेरिकी रणनीतिलाई विफल बनाएको छ । बरु यसले एकता र सद्भावनाको सन्देश प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *