कामदारवर्गको आवाज उठाउने मञ्च तःमुंज्या ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समिति गठन
- श्रावण २८, २०८३
तीनदिने पुस्तक प्रदर्शनी सुरु
भक्तपुर, २१ चैत । आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन तीनदिने पुस्तक प्रदर्शनी उद्घाटन तथा कार्टुनिस्ट दामोदर सुवालको कार्टुन सङ्ग्रह दामोदरका सय कार्टुन पुस्तक नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले धिमेबाजाको सङ्गीतसँगै सोमबार विमोचन गर्नुभएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा चलनचल्ती र बोलीचालीका उखानटुक्का कार्टुनको स्रोत बन्न सक्ने र राजनैतिक अस्तव्यस्तको चिरफार गर्न व्यङ्ग्यचित्र कार्टुनले जनताको चेतनास्तर बढाउने विश्वास व्यक्त गर्नुभयो ।
आरम्भ नेपालले भक्तपुरको कमलविनायकस्थित लामगालमा सुरु गरेको पुस्तक प्रदर्शनीको उद्घाटनपछि स्टलहरूको अवलोकन गर्दै उहाँले माओको अन्तिम लडाइँ, आन्तोन चेखबका कथाहरू, सिलु म्ये र सामाजिक प्रतिरोध, चुयाँ (चिनियाँ सांस्कृतिक नाटक), सुवर्ण शमशेर, स्टालिन, लेनिनको जीवनी, संस्कृत नेपाली शब्दकोष, वैज्ञानिक गोरेटोमा र मार्मिक सम्झनाहरू पुस्तक छनोट गर्नुभयो ।
उहाँले पुस्तक प्रदर्शनीमा सहभागी विभिन्न पुस्तक बिक्रेताहरूसँग भलाकुसारी गर्दै पुस्तकहरू रोज्नुभएको हो ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईँले समाजमा देखिएका विसङ्गतिप्रति तीखो व्यङ्ग्य प्रहार गर्ने भएकोले कार्टुन पनि जनताको साहित्य हो भन्नुभयो ।
कार्टुनिस्ट दामोदर सुवालले कार्टुनले सामाजिक मर्यादाक्रम नाघ्न नहुने र नेताहरूको नकारात्मक चर्तिकला र व्यवहारले कार्टुनको जन्म हुने बताउनुभयो ।
प्रदर्शनीमा वरिष्ठ कार्टुनिस्ट अविन श्रेष्ठले विकृति विसङ्गतिमाथि व्यङ्ग्य गर्दै नेताहरूको व्यवहार शैलीमा परिपक्वता ल्याउन कार्टुन साहित्य महत्वपूर्ण हुन्छ भन्नुभयो ।
तीनदिनसम्म चालू रहने पुस्तक प्रदर्शनीमा पाठक तथा पुस्तकप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको छ ।
उक्त प्रदर्शनी विविध कार्यक्रमसहित चैत २३ गतेसम्म हुने आयोजकले जनाएको छ ।
Leave a Reply