भर्खरै :

भक्तपुर नगरका ऐतिहासिक र सांस्कृतिक क्षेत्र/टोलहरू

नेपाल विविध सांस्कृतिक क्षेत्र र भाषाभाषीले भरिएको देश हो । नेपालको विभिन्न क्षेत्र वा ठाउँको नाम भूगोल, इतिहास, संस्कृति, किंवदन्ती आदिको आधारमा राखिएको पाइन्छ । त्यसको नाम स्थानीय आदिवासी भाषाभाषीले मौलिक र अर्थपूर्ण नाम राख्नु या रहनु स्वाभाविक हो । भक्तपुर नगरमा नेपाल भाषाभाषी तथा आदिवासी नेवारहरूको बस्ती रहेको हुँदा यो अनौठो होइन । इतिहास तथा संस्कृतिका अध्येता प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुर नगरमा विसं १८९० मा स्थिति मल्लको पालामा निर्माण गरिएको, हाल भक्तपुर नगरपालिकाले करिब साढे तीन करोड रूपैयाँको लागत इस्टिमेटमा पुनः निर्माण भइरहेको लक्ष्मीनरसिंहको मन्दिर रहेको टोलको नाम गःहिटी रहेको छ । नेपालभाषामा गः भनेको खाल्डो र हिटी भनेको धारा हो । त्यहाँस्थित अलि तलतिर खाल्डोमा पहिले ढुङ्गेधारा थियो । त्यसै धारा (हिटी) को नामबाट त्यो ठाउँको नाम गःहिटी रहन गएको पाइन्छ ।
त्यस ठाउँबाट तल पूर्वतिर गयो भने खःलाँ हुँदै भेलुखेल (ल्योसिं ख्यो) आउँछ । जहाँ भैरव गःहिटीबाट विराजमान भएपछि मात्र लिङ्गो उठाउने जात्रा सुरु हुन्छ । त्यस खलाँबाट हरेक वर्ष चैतको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिन वैशाख १ गते टौमढीको भैरवनाथ र भद्रकाली दुइटा काठको खट रथ लाने ल्याउने गरिन्छ । उक्त आकर्षक कलात्मक चारपाङ्ग्रे भैरवनाथ र भद्रकालीको रथ तानेर भेलुखेल (ल्योसिं ख्यो) मा लाने गरिन्छ । त्यहाँ विश्व ध्वजापटाकासहितको ५५ हाते सल्लाको काठे लिङ्गो चैतको अन्तिम दिन उभ्याउने र वैशाखको पहिलो दिन देवता मानेर ढाल्ने गरिन्छ । यो भेलुखेललाई ल्योसिं ख्यो भनिन्छ । नेपालभाषामा ल्यो भनेको छान्नु र सिं भनेको काठ हो । यसरी छानेर ल्याएको सल्लाको काठ (ल्योसिं) लाई देवताको रूपमा उभ्याउने र ढाल्ने जात्रा पर्व मनाउने ठूलो र फराकिलो ठाउँ भएकोले त्यस ठाउँलाई ल्योसिं ख्यो (भेलुखेल) भनिएको हो । जुन काठ भक्तपुर नालाछापतिरको सल्लाको जङ्गलबाट ल्याइन्छ ।
इतिहास र संस्कृतिका युवा अध्येता ओमप्रसाद धौभडेल (ऐतिहासिक भैरवनाथ मन्दिर जीर्णाेद्वार २०७६ विशेषाङ्क) का अनुसार लिच्छवी राजा आनन्द देवले ने. सं. २६७–२८७ मा भक्तपुर नगर बसालेका थिए । जुन नगरलाई त्यसबेला २४ वटा टोलमा विभाजन गरिएको थियो । ती सबै टोलमा घर, गणेश, विष्णु र महादेवको मन्दिर पनि स्थापना गरिदिएको भनिन्छ । ती घरहरू रहेको छेँ वा टोललाई विभिन्न नाम र ठाउँअनुसारको छेँ वा टोल भनियो भने अन्य नामबाट पनि टोलको नामकरण गरिएको पाइन्छ । भक्तपुर सहर स्थापना गर्ने लिच्छवि राजा आनन्द देवले यो सहरलाई समस्त नेपालमण्डलकै राजधानीको रूपमा प्रतिस्थापन गर्दाको एक प्रमुख टोल तलमण्डे या टौमढीलाई लिन सकिन्छ ।
भक्तपुर नगरमा थुप्रै छेँ वा टोलहरू रहेका छन् । नेपालभाषामा घरलाई छेँ भनिन्छ । तर, यहाँ छेँलाई घरको रूपमा चर्चा नगरिकन ठाउँ वा टोलको नामको रूपमा चर्चा गरिन्छ । यहाँ तौलाछेँ, कोलाछेँ, थालाछेँ, टिबुक्छेँ, खिछेँ, लाकोलाछेँ, इटाछेँजस्ता थुप्रै टोलका नामहरू रहेका छन् । ती ठाउँ वा टोलका नाम कसरी रहन गए भन्नेबारेमा थोरै चर्चा गर्नेछु ।
तौलाछेँ– साविक १ वडा हाल ९ वडास्थित च्याम्हासिंह ढोकाबाट पश्चिम दत्तात्रयबाट पूर्वपट्टिको क्षेत्रलाई तौलाछेँ भनिन्छ । मूल बाटो तलतिर बनेका घरहरू रहेको ठाउँको नामबाट टोलको नाम तः लाछेँबाट तौलाछेँ हुन गएको मानिन्छ । नेपालभाषामा तः भनेको तल, मुनि, लाँ भनेको बाटो र छेँ भनेको घर हो । मूल बाटोको तल घर भएकोले तःलाछेँ र मूलबाटोको तल तुँछी (इनार) रहेकोले त्यो तुँछीको नाम नै तलातुँछी इनारको नाम रहन गएको हो । जहाँ यन्यापुन्हि (इन्द्रजात्रा) तिर इन्द्रले आफ्नो छोरालाई खोज्न पठाएको भनिएको ऐरावत हात्तीलाई पानी खुवाउने चलन छ ।
कोलाछेँ– साविक २ वडा हाल ८ वडास्थित सूर्यमढी चोकदेखि दक्षिण र महेश्वरी उकालो बाटोबाट उत्तरतिरको ठाउँ वा टोललाई कोलाछेँ भनिन्छ । नेपालभाषामा को भनेको तल लाँ भनेको बाटो र छेँ भनेको घर हो । यसरी मूल बाटो (सूर्यमढी चोकबाट पूर्वपश्चिम भएर गएको बाटो) को तलतिरको बाटो वरपर रहेको घरको नामबाट त्यस टोलको नाम कोलाछेँ रहन गएको मानिन्छ ।
गछेँ– साविक ३ वडा हाल ९ वडास्थित नवदुर्गाको घर (नवदुर्गा द्योछेँ) बाट तल दक्षिण पूर्वतिरको खाल्डो क्षेत्र वा टोललाई गःछेँ भनिन्छ । नेपालभाषामा गः भनेको खाल्डो हो, छेँ भनेको घर हो । खाल्डो क्षेत्रमा रहेको घरको नामबाट त्यस टोलको नाम गछेँ हुन गएको हो ।
टिनाछेँ– साविक ३ वडा हाल ९ वडास्थित तचपालको सलाँ गणेशस्थित ९ वडा कार्यालयको अलिकति पूर्वपट्टिको मानन्धर बस्ती रहेको ठाउँ वा टोललाई टिनाछेँ भनिन्छ । स्थानीय बासिन्दाका अनुसार ९ वडा कार्यालयनिर बाटोसँगैको महादेवको मन्दिरबाट उत्तरपट्टि अलि माथि सानो ढुङ्गे बुद्धको चैत्य रहेको ठाउँ वरपर पहिले तीन वटा स–साना पोखरीहरू थिए । जुन पोखरीको पानीले बच्चाहरूलाई नुहाइदिँदा, मुख धोइदिँदा रुन्चे रोगबाट निको हुने जन विश्वास छ । नेपालभाषामा टि भनेको तीन वटा ना भनेको पानी भरेका पोखरीहरू हुन् । यो पोखरीको नामबाट ती ठाउँ वा टोलको नाम टिनाछेँ हुन गएको मानिन्छ । यी पोखरीहरू हाल छैनन् । त्यहाँ बाटो बनेको छ ।

याताछेँ– साविक ४ वडा हाल १० वडास्थित सलाँ गणेशसँगै रहेको ९ वडा कार्यालयदेखि पश्चिम र नागपोखरी थालाछेँको पूर्वपट्टिको ठाउँ बाटोलाई याताछेँ भनिन्छ । नेपालभाषामा याता भनेको दक्षिण मोहडातिर भिरालो परेको ठाउँ हो जहाँ दिनभरि घाम लाग्छ । छेँ भनेको घर हो । यसरी दिनभरि घाम लाग्ने भिरालो ठाउँमा रहेको घरको नामबाट सो ठाउँको नाम याताछेँ हुन गएको मानिन्छ ।
थालाछेँ– साविक ४ वडा हाल १० वडास्थित नागपोखरी वरिपरिको क्षेत्र वा टोलको नाम थालाछेँ हो । त्यस क्षेत्रमा पहिला कपडा बुन्ने (था), धागोमा रङ्गाउने, सुकाउन आउने जाने बाटो (लाँ) मा रहेको घर (छेँ) हरूको नामबाट उक्त टोलको नाम थालाछेँ रहन गएको मानिन्छ ।
दुमलाछेँ– साविक ५ वडा हाल ६ वडास्थित नागपोखरीको पश्चिम तुँछिमला जाने क्षेत्र वा टोलको नाम दुमलाछेँ हो । त्यहाँ पहिला महिलाहरूले दिसापिसाब गर्ने लामो (दु) पर्खालले घेरिएको क्षेत्र (मला) खुला शौचालय रहेको थियो भनिन्छ । त्यो दुमला वरपर बनेका घरहरूको नामबाट उक्त टोल वा ठाउँको नाम दुमलाछेँ हुन गएको मानिन्छ ।
याछेँ– साविक ५ वडा हाल ६ वडास्थित नागपोखरीबाट दक्षिण पश्चिमको याछेँ गणेश मन्दिर वरिपरिको टोलको नाम याछेँ हो । त्यस क्षेत्रको याछेँ गणेशको मूर्ति येँ (काठमाडौँ) बाट ल्याएर प्रतिस्थापन गरेको हुँदा याछेँ भएको भनिन्छ ।
भोलाछेँ– साविक ५ वडा हाल ६ वडास्थित भोलाछेँ पोखरी वरिपरिको क्षेत्र वा टोललाई भोलाछेँ भनिन्छ । स्थानीय जनताका अनुसार हाल पोखरी रहेको ठाउँमा आफ्नो आहाराको लागि शिकार खोज्ने क्रममा एउटा बिरालो (नेपालभाषामा भौ) ले आक्रमण गर्ने क्रममा अर्काे एउटा मुसा (नेपालभाषामा छुँ) बीचमा लछारपछार भएको थियो । त्यो पोखरी पहिले थिएन । उनीहरू दुइटाको बीचमा लछारपछार गर्दागर्दै त्यहाँ ठूलो खाल्डो हुन गयो । त्यही खाल्डोमा पछि पानी भरिन जाँदा पोखरी हुन गयो । त्यहाँबाट मुसोलाई समाउन बिरालोले लखेट्दा मुसो पश्चिमपट्टि भागेर हाल छुमा गणेश रहेको ठाउँमा पहिला ठूलो रुख थियो । त्यही ठूलो रुखमा प्रकट हुन गएको मुसा भेटाउन नसकेपछि बिरालो निरास भएर फक्र्याे । पछि त्यही मुसो छुम गणेशको रूपमा प्रकट हुन गएको किंवदन्ती सुनिन्छ । यसरी बिरालो भौ र मुसा छुँ बीच झगडा गरेको ठाउँ भौचाय्गु ठाउँको वरपर रहेको घर (छेँ) को नामबाट सो क्षेत्र वा टोलको नाम भौल्वागु छेँबाट भोलाछेँ रहन गएको भनिन्छ ।
चोछेँ– साविक ९ वडा हाल ६ वडास्थित छुम गणेश मन्दिरदेखि दक्षिणपट्टि उच्च भाग (नेपालभाषामा चो) मा बनेका घरहरू रहेको ठाउँको नामबाट त्यस क्षेत्रको नाम चोछेँ रहन गएको हो ।
तुलाछेँ– साविक ८ वडा हाल ६ वडास्थित त्रिपुरासुन्दरी मन्दिर पूर्व सुकुलढोकाबाट पश्चिम उकालो चोछेँ जाने बाटोसँगै इनार (तुँलाँ) वरपरको ठाउँको नाम तुलाछेँ हो ।
खिछेँ– साविक ९ र १० वडाको सिमाना हाल ६ र २ वडाको सिमानास्थित त्रिपुरासुन्दरी मन्दिरको उत्तरपट्टि रहेको पूर्वपश्चिम गएको गल्ली बाटो रहेको ठाउँको नाम खिछेँ हो । जहाँ प्रायः सबै घरमा खिँ (बजाउने साधन बाजा) थिए । त्यहाँका दाजुभाइहरू बाजा (खिँ) बजाउने, नाच्ने, सिकाउने र गाउने गर्दछन् । त्यसैले त्यस ठाउँ या टोलको नाम खिछेँ हुन गएको भनिन्छ । हाल अप्रभंश भएर त्यस ठाउँको नाम खिछेँ भन्ने चलन छ । त्यो खिछेँ होइन खिँछेँ हो ।
थालाछेँ– साविक १० वडा हाल २ वडास्थित हालको शारदा मावि रहेको वरपर ठाउँको नाम थालाछेँ हो । पहिला चोछेँबाट सानो ब्यासी भएर भक्तपुरबाट काठमाडौँ (येँ) जाने, आउने मुख्य बाटो (याँ वानेगु लाँ) वरिपरि बनेका घरहरू रहेको ठाउँको नामबाट सो क्षेत्र वा टोलको नाम याँलाँछेँबाट यालाछेँ हुन गएको मानिन्छ ।
टिबुक्छेँ– साविक वडा हाल ५ वडास्थित चण्डेश्वरी चासुखेलदेखि पश्चिमपट्टि रत्नभवन पूर्वको ठाउँलाई टिबुक्छेँ भनिन्छ ।
क्वाछेँ– साविक ११ वडा हाल वडा नं ५ स्थित टौमढीको पूर्वतिर कुमारीको द्योछेँ (देवताको घर) वरपर त्यसै घरको पूर्वपट्टि ओरालो बाटो वरपर रहेको ठाउँलाई क्वाछेँ भनिन्छ । स्थानीय जनताका अनुसार त्यहाँ दिनभरि घाम लाग्ने भएको कारण तातेको हुन्छ । यसरी न्यानो हुने र पहिला सुरक्षा टुकडी बस्ने ठाउँ क्वाहा ¤ ठाउँको नामबाट सो ठाउँ वा टोलको नाम क्वाछेँ रहन गएको मानिन्छ ।
बछेँ– साविक १३ वडा हाल ३ वडास्थित टौमढीबाट दरबार क्षेत्रको यक्षश्वर महादेव जाने बाटो वरपरको ठाउँको नाम बछेँ हो । त्यही बाटो वरपर तुँबह, प्रबह, दथुबहलगायतका बह (बहाल÷विहार) रहेका छन् । ती बहालको नामबाट त्यस ठाउँको ना बहछेँ भएको भनिन्छ ।
इपाछेँ– साविक १३ वडा हाल वडा नं ३ स्थित यक्षश्वर महादेवको दक्षिणपट्टिको ठाउँको नाम इपाछेँ हो । लामो समय, दिनभरि पूरा घाम लाग्ने ठाउँ भएकोले त्यस ठाउँको नाम इपाछेँ भएको सुनिन्छ ।
लाकोलाछेँ– साविक १२ वडा हाल ४ वडास्थित गःहिटीको दक्षिणपट्टिको बाटो वरिपरि रहेको घरको नाममा सो टोलको नामलाई लाकोलाछेँ भनिन्छ । स्थानीय जनताका अनुसार बिस्केट जात्रामा त्यहाँ विराजमान गराइएको भैरवनाथलाई राँगो बलि चढाएर प्रसादको रूपमा राँगोको मासुको चोक्टा लाको (लाको च्याको) माथि वरपर ठाउँठाउँमा आकाशतिर चढाउने चलन छ । त्यो बलि दिएको राँगाको पोलेको मासुको टुक्रा (छोय्ला) प्रसादको रूपमा घर भित्र्याएपछि त्यहाँका टोलवासीले घरमा सम्ये वा भोज खाने चलन छ । त्यसैको नामबाट त्यो टोलको नाम लाकोलाछेँ हुन गएको भनिन्छ ।
बोलाछेँ– साविक १४ वडा हाल ४ वडास्थित टोलको नाम बोलाछेँ हो । यो टोलको नाम बुल्याछेँबाट बोलाछेँ भएको भनिन्छ । गःहिटीको लक्ष्मीनरसिंह मन्दिरको अलि पश्चिमपट्टि मूल बाटो छेउमा एउटा ढुङ्गेधारा छ । त्यसलाई बुल्चा हिटी भनिन्छ । त्यो ढुङ्गेधाराको अलि उत्तरपट्टि बाटोमै बुल्चा भैरव (बुन्चा भैलद्यो) रहेको छ । यसलाई श्वेत भैरव (सेतो भैरव) पनि भनिन्छ । यही बुलुगु, बुल्चागु रौद्र रसयुक्त भैरव बस्ने कलात्मक भैरव घर (द्योछेँ) बुल्चाछेँबाट सो टोलको नाम नै बोलाछेँ हुन गएको हो ।
मङ्गलाछेँ– साविक १४ वडा हाल ४ वडास्थित नासमनातिरबाट दक्षिणतिर मङ्गलतीर्थ जाने बाटो वरपर घरहरूको ठाउँको नामबाट सो क्षेत्रको नाम मङ्गलाछेँ हुन गएको हो । यस मङ्गलाछेँ वरपर यस नामसँग सम्बन्धित देवता र मन्दिरहरू रहेको पाइन्छ । नासमनामा मङ्गलेश्वर महादेव, मङ्गलतीर्थ जाने बाटो भिरालोमा मङ्गला गणेश र तल खोला किनारमा भैरव, महादेवलगायतका थुप्रै विभिन्न देवगणहरू छन् ।
डोक्छेँ– साविक वडा नं १६ हाल वडा नं ३ स्थित वडा कार्यालय अगाडिको पाटीसँगै दोबाटो ढोका (भूत प्रेत बस्ने ठाउँको प्रतीक) रहेको छ । त्यसैको नामबाट त्यस वरपर वा त्यहाँदेखि उत्तरतिरको बाटो वरिपरिको ठाउँलाई डोक्छेँ (ढोका वरपरको ठाउँ÷घर) भनिन्छ ।
तापालाछेँ– साविक वडा नं १३ र १५ को सिमानामा रहेको हाल वडा नं ३ मा अवस्थित टोलको नाम तापालाछेँ हो । स्थानीय बासिन्दाका अनुसार यसको खास नाम तुपालाछेँ हो । यो नाम अप्रभंश भएर पछि तापालाछेँ हुन गएको थियो । त्यस चोक वरपर मानन्धरहरूको बस्ती थियो । उनीहरूको पेसा भनेको तोरी पेलेर तेलको व्यवसाय गर्नु हो । त्यो तोरी पेलेर तेल निकाल्न तोरीलाई घाममा सुकाउनुपर्छ । त्यसको लागि त्यस चोक, बाटोमा मानन्धर दाजुहरूले तोरी सुकाउने (तुपाय्गु) गर्ने गरिन्छ । त्यसैको नामबाट त्यस टोलको नाम तुपालाछेँबाट तापालाछेँ हुन गएको मानिन्छ ।
इताछेँ– साविक १५ वडा हाल २ वडास्थित मिनिबसपार्क नःपुखुको पूर्वतिरको मूल बाटो वरपरको ठाउँको नाम हो, इताछेँ । यो ठाउँ उत्तर मोहदामा भिरालो (नेपालभाषामा इटा), सूर्य अस्ताउने बेलामा मात्र अलिअलि घाम लाग्ने ठाउँमा घर भएको ठाउँको नामबाट सो ठाउँको नाम इताछेँ रहन गएको मानिन्छ । इटा भनेको नेपालभाषामा घाम नलाग्ने या छेक्ने ठाउँ हो । त्यस्तै भक्तपुर नगरमा मुँलाछेँ, सङाछेँ, लालाछेँजस्ता ठाउँहरू पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *