भर्खरै :

आचारसंहिता देखाउने दाँत नहोस्

एमालेबाट एकीकृत समाजवादी टुक्रिएको हुँदा एमाले अध्यक्ष केपी ओलीसमेतको टोली जिल्ला–जिल्लाको सभामा पुग्नु अन्यथा होइन । नेकपाबाट माओवादी केन्द्र टुक्रियो र एमाले बन्यो, एमालेबाट फेरि एकीकृत समाजवादी टुक्रिएको हुँदा दौडधूप गर्न बाध्य पनि भयो । त्यसमाथि स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन बन्ने खबर प्रवाहले एमालेलाई चिन्ता पर्ने नै भयो । त्यसो त सभा सङ्गठन गर्न निर्वाचन पर्खनुपर्दैन । अहिले भइरहेको गतिविधि निर्वाचनलाई मध्यनजरमा राखेर नै गरिएको हुन्छ ।
सभा सङ्गठन गर्नु राजनीतिक दलको अधिकार हो । राजनीतिक दलले सभा सङ्गठन गर्दा निर्वाचन आयोगको आचारसंहिता मान्नुपर्छ । निर्वाचन आयोगले गएको शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू भइसकेको जनाएको छ । स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन जारी भएको आचारसंहिता सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी र मतदाताहरू सबैमा लागू हुन्छ । तर, अहिलेदेखि नै आयोगको निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको छ ।
आचारसंहितामा कुनै पनि व्यक्तिले दलको निर्वाचन चिह्न र झन्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिर्सट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न पाइने छैन । तर, एमालेको बझाङमा भएको सभामा केपी ओलीलाई स्वागत गर्न पर्खिरहेका स्वयम्सेवकहरूले सूर्य चिह्न रहेको टिसर्ट लगाए । सूर्य चिह्न भएको टिसर्ट लाउनु के आचारसंहिता विपरीत छैन ? देशको सबभन्दा ठूलो पार्टी र पटक–पटक सरकार चलाइसकेको प्रम ओलीले आफ्ना कार्यकर्ताहरूलाई सूर्य अङ्कित टिसर्ट लाएर आयोगको आचारसंहिता उल्लङ्घन गर्नु हुँदैन भनेर सम्झाउनुपर्दैन ? आफ्नो गुणगान गरेपछि या आफूलाई हाई हाई गरेपछि जसले जस्तो आचारसंहिता र नियम उल्लङ्घन गरे पनि हुने ? उल्लङ्घन गरे पनि सहेर बस्ने ? यसबारे निर्वाचन आयोगको पनि ध्यान जानुपर्छ । के निर्वाचन आयोगको काम आचारसंहितामात्र जारी गर्ने हो ? आचारसंहिता उल्लङ्घनका कार्यहरू रोक्न आयोग अघि सर्नुपर्छ । नत्र आचारसंहिता देखाउने दाँतमात्रै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *