भर्खरै :

भारत र संरा अमेरिकाबीचको दूरी : के हुनसक्छ प्रभाव ?

केही अपवादलाई छोडेर सिङ्गो संसार युक्रेनमाथि रुसी सैनिक हमलाको विरोधमा रहेको अतिरञ्जनापूर्ण सोचाइ पश्चिमा विश्वमा व्याप्त छ । युरोपको अत्यधिक बहुमतसहित सिङ्गो पश्चिम आफै पनि रुसी हमलाको विरोधमा एकमत देखिएको छ । तर, संसारको दृश्य भने त्यति सरल छैन । मार्च ३ मा संयुक्त राष्ट्र सङ्घीय महासभामा १४१ देशहरू रुसी हमलाको विरोधमा उभिए । उनीहरूले तत्काल हमला रोक्न आग्रह गरे । ३५ देश अनुपस्थित थिए भने पाँच देशले रुसविरोधी प्रस्तावको विपक्षमा मतदान गरे । संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्बाट रुसलाई हटाउने विषयमा भएको मतदानमा ९३ देशले पक्षमा, २४ देश विपक्षमा र ५८ देश अनुपस्थिति थिए ।
रुसी हमलाको विषयमा धेरै देश भ्रममा छन् भने संरा अमेरिकी मतको विषयमा व्यापक चासो छ । सबभन्दा रोचक र धेरै सम्भव भारत यसको सबभन्दा उल्लेखनीय उदाहरण हो । बितेका बीस वर्षभन्दा लामो समयदेखि भारत पश्चिमा कित्तामा उभियो । त्यही भएर भारतले संरा अमेरिकालाई यो विषयमा पनि साथ दिने अपेक्षा गरिएको थियो । तर, संरा अमेरिकी भूमिकाको विषयमा भारत प्रमुख आलोचक देशकै कित्तामा उभियो । उसले रुसप्रति समर्थनको व्यवहार देखायो । संयुक्त राष्ट्र सङ्घमा भएको मतदानमा ऊ लगातार अनुपस्थित रह्यो । चीन र भारतले संसारको कुल जनसङ्ख्याको झन्डै ३८ प्रतिशतको प्रतिनिधित्व गर्छन् । संरा अमेरिकी मतको विपक्षमा उनीहरू उभिनुको अर्थ उसको त्यो मतप्रति संसारको झन्डै आधा  जनसङ्ख्या विपक्षमा रहेको देखाएको छ ।
यसको कारणका दुई पक्ष छन् । प्रथमतः भारतलगायत धेरै विकासशील देशहरूले कुनै पनि देश (युक्रेन) ले अर्को देश (रुस) को सुरक्षामा खतरा आउने अवस्थामा जे मन लाग्यो, त्यही गर्न पाउने विचारको विरोधमा उभिएका छन् । दोस्रो, नाकाबन्दीलाई नयाँ युद्धको रूपमा प्रयोग गर्ने व्यवहारलाई निकै नकारात्मक कोणबाट हेरिएको छ । रुससँग व्यापार गर्ने कुनै पनि देशलाई अनेक शब्दबाजी गरेर मनपरी कारबाही गर्न पाउनुलाई आफ्नो अधिकार ठान्छ । यद्यपि, विकासशील देशहरूको सबभन्दा ठूलो प्राथमिकता भनेको सबैसँग व्यापार गर्नु र सबैको लगानी भित्र्याउनु हो । नाकाबन्दीबारे संरा अमेरिकी सोचाइले विकासशील देशहरूको स्वतन्त्रताको विपक्षमा छ । विकासशील देशहरूको अत्याधिक बहुमत देशहरू रुसमाथि नाकाबन्दीको पक्षमा उभिन मानेका छैनन् । एसियामा जापान, दक्षिण कोरिया र सिङ्गापुरमात्र रुसमाथि नाकाबन्दीको पक्षमा उभिएका छन् ।
रुस र भारतबीचको सम्बन्ध सन् १९५० दशकबाट सुरु भएको थियो । भारतले रुसलाई आफ्नो महत्वपूर्ण आर्थिक साझेदार, मुख्य हतियार बिक्रेता र पुरानो साथी मान्दै आएको छ । संरा अमेरिका र उसका अरू साथीहरूजस्तै बेलायतले जोडबल गर्दा पनि भारत रुसको विरोधमा संरा अमेरिकाको पक्षमा उभिन मानेन । यो घटनालाई अलग घटनाको रूपमा लिइनेछ अथवा संरा अमेरिकाप्रति भारतको धारणामा आएको महत्वपूर्ण परिवर्तनको रूपमा लिइनेछ । भारतको परराष्ट्र नीति बदल्दै गएको धेरै टीकाटिप्पणी आउन थालेको छ । भारत संरा अमेरिकाको कित्तामा उभिएको छ वा ऊ तटस्थताको निकै पहिलेदेखिको मतमा फर्किएको छ भन्ने धेरै प्रश्न उठिरहेको छ । भारतको पश्चिम पक्षधरताको सबभन्दा नाटकीय प्रदर्शन क्वाडमा संरा अमेरिका, जापान र अस्टे«लियासहित भारत पनि सामेल हुनु हो । तर, भारतले क्वाडमा पनि जलसैनिक अभ्यासमा सहभागिता जनाउन मानेको छैन ।
भारत संसारको तेस्रो सबभन्दा ठूलो अर्थतन्त्र हो । स्ट्यान्डर्ड चार्टडले गरेको एउटा अध्ययनको पूर्वानुमानअनुसार सन् २०३० सम्ममा भारतले संरा अमेरिकालाई पनि अर्थतन्त्रमा उछिनेर दोस्रो ठूलो अर्थतन्त्र बन्नेछ । संसारमा भारतको भविष्यको महत्वको चीनमा गम्भीरतापूर्वक उपेक्षा भइरहेको मेरो बुझाइ छ ।
चाँडै नभए सन् २०५० सम्ममा भारतसँग चीनको सम्बन्ध एउटा महत्वपूर्ण, अझ सबभन्दा महत्वपूर्ण सम्बन्ध बन्ने प्रस्ट हुनेछ । दुर्भाग्यवश सन् १९६२ मा भएको सीमा लडाइँयता दुई देशबीच असहज र समस्याग्रस्त सम्बन्ध रहँदै आएको छ । दुई देशबीचको फराकिलो सांस्कृतिक दुरीका साथै अन्य धेरै कारणले यस्तो अवस्था निम्तिएको हो । त्यही भएर उनीहरूले एकअर्कालाई बुझ्न गा¥हो मानेका छन् । दुई देशबीच अहिले सबभन्दा तड्कारो विषय भनेको लामो समयदेखिको सीमा विवाद हो । यो द्वन्द्वप्रति चीनले सीमित चासोमात्र देखाए पनि सन् १९६२ को लडाइँमा पराजय भोगेपछि यसप्रति भारतको विशेष चासो रहँदै आएको छ । कुनै उपयुक्त समाधानको बाटो खोजेर दुई देशले यदि अहिलेको तनाव कम गर्न सके अथवा आपसी सम्बन्ध बलियो बनाउन सके उनीहरूबीचको सबभन्दा ठूलो एउटै तगारो हटाउन सकिन्छ । यो चिनियाँ नेतृत्वको सबभन्दा प्रधान रणनीतिक प्राथमिकता हुनुपर्छ ।
युक्रेन लडाइँबारे युरोपेली अथवा पश्चिमा सङ्कीर्ण सोच पाल्नुभन्दा विश्वव्यापी सोच राख्दा फरक कोण देखिनेछ । संसारका अत्याधिक बहुमत जनता विकासशील देशहरूमा बस्छन् । विकासशील देशहरूले युरोपभन्दा फरक कोण राख्न सक्छन् । विकासशील देशहरू रुसले के गर्छ भन्ने भन्दा संरा अमेरिकाले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरामा बढी चासो राख्छन् । यो लडाइँले संरा अमेरिका र युरोपलाई नजिक ल्याएको छ । तर, भारतसँग संरा अमेरिकी दुरी बढ्दै गएको विषयमा कमैमात्र ध्यान दिइएको छ । यसले भविष्यमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरामा पनि कमैमात्र ध्यान गएको देखिएको छ । यो परिस्थितिले अन्ततः चीन, भारत र रुसबीच सीमित खालको सहकार्य हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।
(लेखक क्याम्ब्रिज विश्वविद्यालयको राजनीति र अन्तर्राष्ट्रिय अध्ययन विभागका वरिष्ठ प्राध्यापक हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *