भर्खरै :

बिस्का जात्राको संस्कृति र इतिहास

बिस्का जात्राको शाब्दिक अर्थ खोज्ने हो भने बिस्का जात्रालाई कतै बिसिकायात्रा, कतै विश्वख्यालयात्रा, विश्वनाथको अनुहारको यात्रा, बिस्केटजात्रा आदि नामले सम्बोधन गरिएको छ । ‘बि–स्याको वा बि–सि ख्वाट शब्दबाट बिस्केट शब्द बनेको भन्ने पनि रहेको छ । बि अर्थात् ‘सर्प’ र स्याको अर्थ ‘मार्नु’ हो । स्थानीय शब्दमा यसलाई कतै बिसिका (वि–सर्प र सिका–मारेपछि) भनिने त कतै विस्यात –लामो काठको लिङ्गो), विसिख्वाट (सर्प भएको लिङ्गो) पनि भन्ने गरेको पाइन्छ । भक्तपुरमा भने यस जात्रालाई ‘बिस्याका जात्रा’ अर्थात् (सर्प मारिएको उपलक्ष्यमा गरिने जात्रा) भनेर मनाउँछन् । त्यस्तै कसैले भने ‘बि–सिका’ शब्द विश्व–झन्डाको अपभ्रंश हो भनेर मानेका छन् । धुलिखेलका स्थानीयहरू यस जात्रालाई ‘बिख्या’ भन्ने गर्दछन् ।
चैत मसान्तको दिन योसीं (काठको लिङ्गो) उठाउने र वैशाखको पहिलो दिन उक्त योसीं ढाल्ने गरिन्छ । योसिं द्यः मा एक जोडी ध्वजा हुन्छ । जसको लम्बाइ लगभग ३५ हात र अर्को ध्वजाको लम्बाइ ३४ हातको हुनुपर्ने उल्लेख गरिएको छ । यही ध्वजालाई कतै नागनागिनी भनिएको छ । यससँग सम्बन्धित विभिन्न किंवदन्तीहरू पनि छन् । यही नागनागिनी भनिने ध्वजालाई नेपालभाषामा हलिंपत भनिन्छ । जहाँ हलिं को अर्थ ‘विश्व’ अनि पत भन्नाले ‘ध्वजा’ भन्ने हुन्छ । यसबाट यो विश्वध्वज विजयको प्रतीक वीरध्वजासमेत हुनसक्ने संस्कृत्विद्हरूको भनाइ छ ।
आठ रात नौ दिनसम्म चल्ने यस जात्रालाई सबैभन्दा लामो जात्राको रूपमा लिइन्छ । पहिलो दिन भैरवनाथको जात्रा गरेबाट यो प्रारम्भ हुन्छ । यससँगै यस जात्राभित्र भद्रकालीको जात्रा, लिङ्गो जात्रा, दुमाजु, इन्द्रायणी, बाराही, महाकाली, ब्रह्मायणी, माहेश्वरी, भैरव जात्रा आदि जात्राहरू हुन्छन् । त्यसैले पनि यसलाई सबैभन्दा लामो जात्राको रूपमा लिइएको हो ।
त्यस्तै थिमि, बोडे, नगदेश, कटुन्जे, गुण्डु, धुलिखेल, साँगा आदि ठाउँमा पनि आ–आफ्नै ढङ्गले यो जात्रा मनाउने गरिएको छ । थिमि, बोडे, नगदेशमा भने ३२ खटको जात्रा गरिन्छ । साँगा, बनेपामा लिङ्गो उभ्याएर बिस्केट जात्रा मनाउने गरेको पाइन्छ । तर, ध्वजा राख्ने चलन रहेको पाइँदैन ।
बिस्केट जात्राको ऐतिहासिकता
हामीले इतिहास पल्टाएर हेर्दा हरेकपटक विजयपश्चात् विभिन्न जात्राहरू सुरू गर्ने प्रचलन पाउँछौँ । राजनीतिक घटनाक्रम हेर्ने हो भने किरातहरूलाई हराएर लिच्छविहरूले शासन सुरू गर्दा यो जात्रा चलाएको अनुमान छ । भक्तपुरको बिस्केट जात्रा कहिलेदेखि प्रारम्भ भयो भन्नेबारे हालसम्म कुनै ठोस प्रमाण प्राप्त हुन सकेको छैन । तर, कुनै अनुश्रुतिले यस जात्रालाई किरातकालभन्दा अगावैदेखि सुरू भएको मानेको छ ।
पहिलो अनुश्रुतिअनुसार ‘पूर्वतिरबाट भक्तपुरमा किरातहरूले आक्रमण गरेको वा गर्न लागेको’ भन्ने उल्लेखले यस जात्रालाई उपत्यकामा किरातहरूको शासन कायम हुनुभन्दा अघिको हुनसक्ने अनुमान गर्न सकिन्छ । तर, सोही अनुश्रुतिमा ‘लिच्छवि शासक शिवदेव द्वितीय’ को उल्लेखले उक्त घटनाको समयकाल लिच्छविकालतिर धकेलेको छ । यसबाट यो जात्रा लिच्छवि कालमा सुरू भएको पो हो कि भन्ने भान हुन्छ ।
जात्रासम्बन्धी अर्को अनुश्रुतिमा परापूर्वकालको कुनै राजाको छोरीको विवाहको घोषणाको आधारमा हेर्दा त्यसबेलाको समाज मातृसत्तात्मक थियो भन्ने हामी पाउँछौँ । उक्त अनुश्रुतिमा कुनै एक राजकुमारलाई कुनै वृद्ध महिलाले हरेक रात राजकुमार मर्नुको रहस्य बताएर, त्यहाँ आउने नागनागिनीलाई मार्ने खड्ग दिएको छ । यसबाट हामीले त्यो समाज मातृप्रधान रहेको थियो भन्ने थाहापाउन सक्छौँ । बिस्तारै मातृसतात्मक समाजबाट पितृसतात्मक समाजको उदय हुन थालेको हुनसक्ने अनुमान हामी यसको आधारमा गर्नसक्छौँ ।
यही अनुश्रुतिलाई राजनैतिक हिसाबले हेर्दै संस्कृतविद् ओम धौभड्ेल पनि त्यस समाज मातृसत्तात्मक समाज भएको हुनसक्ने भन्नुहुन्छ । “हामीले इतिहास पल्टाउँदा पनि नाग वंशीहरूको बारेमा पनि थाहा पाउन सक्छौँ । कथामा उल्लेख भएजस्तै नागनागिनी भनेका नाग वंश अर्थात् किरातहरू नै हुनुपर्छ । राजकुमारी भनेको मातृसत्तात्मक समाजको प्रतीक हो । राजकुमार पितृसत्तात्मक समाजको प्रतीक हो । नाग र नागिनीलाई मारेर राजकुमारले उनीहरूलाई झुन्ड्याउने निर्णय गरेबाट हामीले मातृसतत्तात्मक समाजको पतन भई पितृसत्तात्मक समाजको उदय भएको अनुमान गर्नसक्छौँ ।”, उनी भन्छन् । यसरी हामीले यी कुरालाई आधार मान्ने हो भने पनि बिस्का जात्रा नयाँ समाजको उदय भएको उपलक्ष्यमा मनाइएको जात्रा मान्न सक्छौँ ।
संस्कृतविद् धौभडेल बिस्का यात्रा किरातकालदेखि नै सुरू भएको आफ्नो मत राख्छन् । मातृसत्तात्मक समाजभन्दा पितृसत्तात्मक समाज अनि चन्द्रमाको गतिभन्दा सूर्यको गतिलाई लिच्छविहरूले प्राथमिकता दिएको सन्दर्भबाट यो जात्रा प्राचीनकालदेखि नै सुरू भएको हुनसक्ने उनी भन्छन् ।
“यो जात्रा सुरूमा दुई दिनमात्र मनाइन्थ्यो । चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं उठाउने र वैशाख सङ्क्रान्तिको दिन योसीं ढालेर यो जात्रा सम्पन्न गरिन्थ्यो ।” उनले भने । उनका अनुसार यो जात्राको नाम उल्लेख भएको सबैभन्दा पुरानो अनि भरपर्दो प्रमाण भनेको यक्ष मल्लको टौमढीको ने.सं. ५६१ को शिलापत्र हो । त्यसमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा ‘विश्वजात्रा’ को उल्लेख भएको छ । यहाँ विश्वजात्रा भनी बिस्केट जात्रालाई इङ्गित गरेको हुनुपर्ने उनी भन्छन् । यक्ष मल्लले के कति कारणले विश्वजात्रा भनेका थिए, यसबारे गहन अध्ययनको आवश्यक रहेको उनी भन्छन् ।
टौमढीको ने.सं. ५६१ को शिलापत्रमा वर्षभरि यहाँ मनाइने जात्रा, चाडपर्व, संस्कृतिको उल्लेख गरिएको छ । त्यस्तै ने.सं.६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा ‘विसक जात्रा’ भनेर उल्लेख छ । ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको नें.संं. ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाउँ–ठाउँमा विश्वजात्रा नै भनिएको देखिन्छ । यता ने.सं. ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा ‘विसक्यात’ उल्लेख छ । त्यस्तै भतmपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि उही ‘विसक्यात’ शब्द उल्लेख छ ।
यसै प्रमाणको आधारमा हामीले बिस्का जात्राको इतिहास थाहा पाउन सक्छौँ । यसले बिस्का जात्रा प्राचीन कालदेखि नै प्रचलनमा थियो भन्ने कुरा प्रमाणित हुन आउँछ । यो जात्रा हालसम्म आउँदा आठ रात नौ दिनसम्म मनाइने सबैभन्दा लामो जात्राको रूपमा पनि लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *