भर्खरै :

युक्रेनमा अमेरिकी छद्म युद्ध

युक्रेन युद्धबारे कुरा गर्दा सुरुमै बुझ्नुपर्ने महत्वपूर्ण पक्ष के हो भने यो एउटा छद्म युद्ध (प्रोक्सी वार) हो । यस मामिलामा सीआईएका निर्देशक र बाराक ओबामा प्रशासनका रक्षासचिव लियोन पेनेटाले हालै युक्रेनको युद्धलाई संरा अमेरिकाको “छद्म युद्ध” भन्न सकिने बताए । तर, अमेरिकाले यो कुरा कहिल्यै स्वीकार गरेको छैन । अझ खुलेर भन्ने हो भने (नाटोको आडमा) संरा अमेरिका रुसविरुद्ध लामो छद्म युद्धमा छ । यो युद्धमा युक्रेन एउटा रणमैदान हो । यो अवधारणामा पेनेटाले जोड दिएझैँ अमेरिकाको जोड युक्रेनलाई लडाइँ गर्न धेरैभन्दा धेरै र छिटोभन्दा छिटो हातहतियार दिनु हो । विदेशी भाडाका सिपाहीको आडमा युक्रेनले यो लडाइँ लड्दै छ ।
यो छद्म युद्ध कसरी थालियो ? यो कुरा बुझ्न हामीले अमेरिकी साम्राज्यवादको ठूलो रणनीति (ग्राय्न्ड स्ट्रयाटेजी) बुझ्नुपर्छ । यसको लागि हामी सन् १९९१ तिर जानुपर्छ, जतिबेला सोभियत सङ्घ विघटन भएको थियो । हामी अझ त्योभन्दा अगाडि सन् १९८० को दशकतिर पनि जानुपर्ने हुन्छ । यो साम्राज्यवादी रणनीतिका दुई पक्ष छन् । एउटा भूराजनीतिक विस्तार र उपस्थिति । यसमा नाटोलाई ठूलो बनाउनु पनि पर्छ । अर्को पक्ष आणविक वर्चस्वको अमेरिकी भोक हो । तेस्रो पक्ष पनि छ । त्यो आर्थिक पक्ष हो । त्यसबारे हामी यहाँ छलफल गर्नेछैनौँ ।
पहिलो पक्ष : भूराजनीतिक विस्तार
पहिलो पक्ष पाउल वुल्फोविजको प्रतिरक्षा रणनीति निर्देशिकामा १९९२ फेब्रुअरीमा देखापरेको थियो । सोभियत सङ्घको विघटन भएको एक महिनापछि । त्यतिबेला ल्याइएको ठूलो साम्राज्यवादी रणनीतिलाई पछि लागु हुँदै गयो । त्यो रणनीतिको सार भन्नु नै संरा अमेरिकालाई पूर्व सोभियत सङ्घको भूभाग र प्रभाव क्षेत्रहरूमा भूराजनीतिक रूपमा अगाडि बढाउनु थियो । रुसलाई पुनः ठूलो शक्तिको रूपमा शिर उठाउनबाट रोक्नु नै त्यसको मर्म थियो । संरा अमेरिका वा नाटोको भूराजनीतिक विस्तारको यो प्रक्रिया लगत्तै सुरु भयो । एसिया, अफ्रिका र युरोपमा संरा अमेरिकी वा नाटोका युद्धहरू पछिल्लो तीन दशकसम्म चलिरहे । सन् १९९० को दशकमा युगोस्लाभियामा नाटोको युद्ध यस अर्थमा महत्वपूर्ण छ । युगोस्लाभियालाई टुक्राउने खेलो चल्दै थियो । त्यतिबेला पनि संरा अमेरिकाले नाटोलाई ठूलो बनाउने र सकेसम्म पूर्वतिर धकेल्ने प्रक्रिया चलाउँदै गयो । पहिलेको वार्सा गठबन्धनका देशहरू र सोभियत सङ्घका पहिलेका भूभागहरूलाई तारो बनाउँदै गयो । सन् १९९६ को चुनावी अभियानमा बिल क्लिन्टनले नाटोको विस्तारलाई आफ्नो एउटा मुद्दा बनाए । सन् १९९७ मा वासिङटनले उनको विचार लागु गर्न थाल्यो । नाटोमा १५ वटा देश थपियो । नाटोको आकार दोब्बर भयो र रुसलाई तारो बनाएर ३० देशको एटलान्टिक गठबन्धन बनाइयो । साथै नाटोलाई विश्वभरि हस्तक्षेपकारीको भूमिका दिइयो । युगोस्लाभियामाजस्तै नाटोले सिरिया र लिबियामा हस्तक्षेप ग¥यो ।
तर लक्ष्य युक्रेन थियो । जिबिग्न्यिु ब्रिजेजिन्स्की यी सबै योजनाका महत्वपूर्ण रणनीतिकार थिए । उनी जिम्मी कार्टरको राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । सन् १९९७ मा प्रकाशित आफ्नो पुस्तक ‘ग्रायन्ड चेसबोर्ड’ मा उनले युक्रेनलाई ‘भूराजनीतिक धुरी’ भनेका छन् । खासगरी पश्चिमको निम्ति युक्रेनलाई नाटोमा ल्याए, पश्चिमी नियन्त्रणमुनि ल्याए रुस कमजोर बन्नेछ । यसले गर्दा रुसलाई टुक्राउनै नसके पनि कम्तीमा त्यसलाई बाँध्न सकिने सोचिएको थियो । लक्ष्य यही थियो । अमेरिकी रणनीतिक योजनाकारहरू, वासिङटनका अधिकारीहरू र नाटोका तिनका सहयोगीहरूले आफूहरूले युक्रेनलाई नाटोमा ल्याउन चाहेको कुरा बारम्बार खोलेका छन् ।
सन् २००८ मा यसलाई नाटोले आफ्नो आधिकारिक लक्ष्य बनायो । केही महिनाअघि २०२१ नोभेम्बरमा वासिङटनको बाइडेन प्रशासन र कीभको जेलेन्स्की सरकारबीच नयाँ रणनीतिक समझदारी बनेको छ र युक्रेनलाई नाटोमा ल्याउनुलाई तत्कालीन लक्ष्य मानिएको छ । लामो समयदेखि नाटोको नीति यही थियो । सन् २०२१ को अन्तिम र २०२२ को पहिलो आरम्भतिर संरा अमेरिकाले तय भइसकेको कुराझैँ युक्रेनलाई धमाधम सैन्यकरण गर्न थाल्यो ।
ब्रिजेजिन्स्कीलगायत व्यक्तिहरूको विचार यस्तो थियो – युक्रेनलाई एकचोटि नाटोमा ल्याएपछि रुस समाप्त हुनेछ । मस्कोनजिकैको देश युक्रेन नाटो गठबन्धनको ३१ औँ देश बनेपछि नाटो रुसको १२०० माइला लामो सिमानासँग जोडिनेछ । यही बाटोबाट हिटलरको सेना सोभियत सङ्घमा पसेको थियो । तर, यसपालि रुसले विश्वको सबैभन्दा ठूलो आणविक गठबन्धनको सामना गर्नुपर्नेछ । चीनभन्दा पश्चिमको समस्त युरेसियामाथिको लगाम पश्चिमा देशहरूको हातमा आउनेछ र विश्वको भूराजनीतिक नक्सा नै परिवर्तन हुनेछ ।
यो रणनीतिले कसरी काम ग¥यो भन्ने महत्वपूर्ण छ । छद्म युद्ध सन् २०१४ मा सुरु भएको थियो । युरो मैदान विद्रोहबाट यो युद्ध सुरु भयो । युक्रेनको त्यो विद्रोहको योजनाकार संरा अमेरिका थियो । विद्रोहले प्रजातान्त्रिक तवरले निर्वाचित राष्ट्रपतिलाई हटायो र युक्रेनलाई उग्र राष्ट्रवादीहरूको हातमा सुम्पियो । लगत्तै युक्रेन टुक्रिन थाल्यो । सन् १९९१ देखि १९९५ सम्म युक्रेन स्वतन्त्र थियो । सन् १९९५ मा युक्रेनले क्रिमियाली संविधान अवैधरूपमा च्यात्यो र त्यसलाई जबजरस्ती आफूमा गाभ्यो । क्रिमियाली जनताले आफूलाई युक्रेनको भाग मान्दैनन् । तिनीहरू बढीजसो रुसी भाषा बोल्छन् । रुससँग तिनीहरूको गहिरो सांस्कृतिक साइनो छ । युक्रेनी उग्र राष्ट्रवादीहरूको नेतृत्वमा विद्रोह हुँदा क्रिमियाली जनता बाहिरिन चाहे । रुसले तिनलाई युक्रेनमा रहने वा रुसमा गाभिने विषयमा जनमतसङ्ग्रह गर्ने मौका दियो । उनीहरूले रुसमा गाभिन मत दिए । तर, पूर्वी युक्रेनमा, जहाँ खासगरी रुसी मूलका जनता बस्ने पूर्वी युक्रेनमा उग्र राष्ट्रवादी र नवनाजी सेनाले जनतालाई दबाए । रुसीहरूप्रतिको घृणा र रुसी भाषा बोल्ने पूर्व भेगका जनतामाथिको अत्याचार बढ्यो । यसकै चरम रूप एजोभ बटालियनले देखायो । त्यो बटालियनका नवनाजीहरूले एउटा सार्वजनिक भवनमा आगो लगाएर चालिसजना मानिस मारे । सुरुमा त्यो भेगका धेरै इलाकाहरूले आफूलाई अलग गणतन्त्र घोषित गरेका थिए । डोनबास क्षेत्रमा दुइटा गणतन्त्रमात्र बचे । एउटा लुहान्स्क गणतन्त्र र अर्को दोनेत्स्क गणतन्त्र । यी दुवै गणतन्त्रमा रुसी भाषा बोल्नेहरूको बाहुल्य छ ।
यसरी युक्रेनमा पश्चिमको कीभ र पूर्वको डोनबासबीच गृहयुद्ध चर्कियो । तर, यो पनि संरा अमेरिका वा नाटोसमर्थक कीभ र रुससमर्थक डोनबासबीचको छद्म युद्ध थियो । त्यसपछि गृहयुद्ध मच्चियो । रुसी भाषालाई गैरकानुनी बनाइयो । पसलहरूमा रुसी भाषा बोले पनि जरिवाना लाग्ने भयो । यो रुसी भाषा र संस्कृतिमाथिको आक्रमण थियो । युक्रेनको पूर्वी भेगका जनतामाथिको हिंसात्मक दमन थियो ।
सुरुमा त्यो गृहयुद्धमा १४ हजार जनताको ज्यान गयो । यी सबै हत्या युक्रेनको पूर्वी भागमा भएको थियो । त्यहाँबाट २५ लाख शरणार्थीहरू रुस गए । सन् २०१४ मा भएको मिन्स्क सम्झौताले गर्दा २०१५ मा युद्धविराम घोषणा भयो । त्यो सम्झौताको मध्यस्थता फ्रान्स र जर्मनीले गरेका थिए । सो सम्झौतामा राष्ट्र सङ्घको सुरक्षा परिषद्ले समर्थन जनाएको थियो । यी सम्झौताहरूमा लुहान्स्क र डोनेत्स्क गणतन्त्रहरूलाई युक्रेनभित्र स्वायत्तता दिनुपर्ने उल्लेख थियो । तर, कीभले पटकपटक मिन्स्क सम्झौता उल्लङ्घन ग¥यो । उसले डोनबासमा टुक्रिएका गणतन्त्रहरूमाथि हमला गरिरह्यो । हमलाको आकारमात्र घटेको थियो । यसबीच युक्रेनलाई अमेरिकाले अझ सशक्त सैन्य तालिम र हातहतियार दिइरह्यो ।
सन् १९९१ र २०२१ बीच वासिङटनले कीभलाई ठूलो मात्रामा सैन्य सहयोग ग¥यो । सन् १९९१ देखि २०१४ सम्म अमेरिकाले कीभलाई ३ अर्ब ८० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष सैन्य सहयोग गरेको थियो । २०१४ देखि २०२१ सम्म सहयोग रकम बढेर २ अर्ब ४० करोड अमेरिकी डलर पुग्यो । जो बाइडेन वासिङटनको गद्दीमा बसे यता सैन्य सहयोगले एकाएक आकाश छुन पुग्यो । बेलायत र क्यानडाले झन्डै ५० हजार युक्रेनी सेनालाई तालिम दिए । अमेरिकाले दिएका तालिमको सङ्ख्या गनिसाध्य छैन । सीआईएले खासमा एजोभ बटालियन र अन्य दक्षिणपन्थी अर्धसैन्य दस्ताहरूलाई तालिम दिएको थियो । यी सबैको लक्ष्य रुसलाई तारो बनाउनु थियो ।
रुसीहरूको मुख्य चासो आणविक पक्षमा थियो किनभने नाटो एउटा आणविक गठबन्धन हो । युक्रेनलाई नाटोमा ल्याए र मिसाइलहरू युक्रेनमा राखे आणविक हमला हुनसक्थ्यो । यसको लागि क्रेमलिनसँग प्रतिक्रिया जनाउन धेरै समय बच्दैनथ्यो । यसै पनि पोल्यान्ड र रोमानियामा पहिलेदेखि नै ब्यालेस्टिक मिसाइल प्रतिरोधी बस्दोबस्ती छ । नाटो हमला भएको खण्डमा आत्मबचाउको लागि त्यो व्यवस्था गरिएको हो । तर, अझ महत्वपूर्ण कुरा के हो भने पोल्यान्ड र रोमानियामा राखिएका प्रतिरक्षात्मक एइजिस मिसाइलहरू आणविक हमला गर्नसक्ने मिसाइल पनि हुन् । यी सबै कुराले रुसलाई युक्रेनको गृहयुद्धमा तान्ने । अमेरिका र नाटोको आडमा डोनबासमा निरन्तर आक्रमण भइरहेपछि २०२२ फेब्रुअरीमा कीभले एउटा ठूलो आक्रमणको तयारी ग¥यो । आफ्ना १ लाख ३० हजार सैनिकहरू डोनबास क्षेत्रको पूर्व र दक्षिणमा तैनाथ ग¥यो । अमेरिका समर्थित आक्रमणहरूले रुसले तोकेको रातो घेरा नाघ्यो । यसको प्रतिक्रियामा रुसले पहिलोचोटि मिन्स्क सम्झौता काम नलागेको घोषणा ग¥यो । उसले डोनबास क्षेत्रका गणतन्त्रहरूलाई स्वतन्त्र र स्वायत्त राज्य मान्नुपर्ने उद्घोष ग¥यो । त्यसपछि उसले डोनबास क्षेत्रमा भइरहेको युक्रेनी गृहयुद्धमा हस्तक्षेप ग¥यो । यो निर्णय उसको आफ्नो राष्ट्रिय सुरक्षाको हितमा थियो ।
फलस्वरूप संरा अमेरिका÷नाटो र रुसबीच युक्रेनमा छद्म युद्ध चल्यो । यो युद्ध युक्रेनकै गृहयुद्धमार्फत विकसित भएको थियो । र, यसको मुहान अमेरिकी योजनामा भएको मैदान विद्रोह थियो । तर, पुँजीवादी राज्यहरूबीच हुने अन्य छद्म युद्धहरूभन्दा फरक यो युद्ध एउटा ठूलो आणविक शक्तिको सीमामा हुँदै छ । यसलाई त्यहाँ पु¥याउने काम वासिङटनको धेरै पहिले बनेको ठूलो साम्राज्यवादी रणनीतिअन्तर्गत भएको छ । यो रणनीतिको उद्देश्य नाटोको निम्ति युक्रेन कब्जा गरेर शक्ति राष्ट्रको रूपमा स्थापित रुसलाई तहसनहस पार्नु हो र त्यसको ठाउँमा ब्रिजेजिन्स्कीले भनेझैँ विश्वभरि अमेरिकी प्रभुत्व स्थापना गर्नु हो । निश्चय नै क्युवाली मिसाइल सङ्कटयता यतिबिघ्न खतरा बोकेको छद्म युद्ध कहिल्यै भएको थिएन । रुसी आक्रमणपछि फ्रान्सले नाटो आणविक शक्ति भएको घोषणा ग¥यो । लगत्तै फेब्रुअरी २७ मा रुसीहरूले आफ्नो आणविक सेनालाई सतर्क अवस्थामा रहन भने ।
यो छद्म युद्धबारे बुझ्नुपर्ने अर्को पक्ष पनि छ । रुसीहरू सकेसम्म सर्वसाधारणको मृत्यु नहोस् भन्नेमा सावधान छन् । यसमा उनीहरू एक हदसम्म सफल भएका छन् । रुसी र युक्रेनी जनता एकआपसमा गाँसिएका छन् । मस्कोले सर्वसाधारणको मृत्यु न्यून राख्न खोजिरहेको छ । अमेरिकी सेना र युरोपेली सेनाले दिएको तथ्याङ्कले सर्वसाधारणको मृत्यु एकदम थोरै भएको पुष्टि गरेको छ । यसको अर्थ हो – रुसी सेनाको मृतक सङ्ख्या युक्रेनी नागरिकहरूको मृतक सङ्ख्याभन्दा एकदम कम छ । अमेरिकी युद्धहरूमा यसको उल्टो घटना हुने गर्छ । संरा अमेरिकाले कसरी युद्ध लड्छ भनेर हेर्ने हो भने इराक हेरे हुन्छ । इराकमा उसले सबैभन्दा पहिले बिजुलीको तार र पानीका पाइपहरू काट्यो । सर्वसाधारणले प्रयोग गर्ने सबै भौतिक पूर्वाधार ध्वस्त पा¥यो । जनताबीच खैलाबैला मच्चियो भने जनता सरकारविरुद्ध उठ्नेछन् भनेर त्यसो गरिएको थियो । तर, सार्वजनिक पूर्वाधारहरूलाई तारो बनाउँदा स्वाभाविकरूपमा धेरै नागरिकहरू हताहत भए । यस्तो उपाय अमेरिकाले संसारभरि प्रयोग गर्दै आएको छ । इराकमा मात्र अमेरिकाको यसखालको आक्रमणले लाखौँ सर्वसाधारणहरू मरेका थिए । उसको विपरीत रुसले सार्वजनिक पूर्वाधारहरू नष्ट गर्न खोजेको छैन । उसले चाहेको भए यस्ता विध्वंस बायाँ हातको खेल थियो । युद्धको बीचमै पनि तिनीहरूले कीभलाई प्राकृतिक ग्यास बेच्दै छन् र आफूले गरेको सम्झौता पालना गर्दै छन् । तिनीहरूले युक्रेनको इन्टरनेट ध्वस्त गरेनन् ।
रुसले मूलतः डोनबास क्षेत्रलाई मुक्त गर्ने उद्देश्यले हस्तक्षेप ग¥यो । त्यसको धेरै भाग कीभको सेनाले कब्जा गरेको थियो । मारिउपोलमाथिको नियन्त्रणले प्राथमिकता पाइरहेको छ । मारिउपोल एउटा मुख्य बन्दरगाह हो । यसले डोनबास क्षेत्रलाई आड दिनेछ । मारिउपोललाई नवनाजी एजोभ बटालियनले कब्जामा राखेको थियो । अहिले एजोभ बटालियनले त्यो सहरको २० प्रतिशत भूभाग कब्जामा राखेको छ । तिनीहरू सहरको पुरानो सोभियत बङ्करमा लुकेर बसेका छन् । बाँकी भाग डोनेत्स्कका जनताका मिलिसिया र रुसीहरूको नियन्त्रणमा छ । युक्रेनमा अहिले १ लाख अर्धसैन्य दस्ताहरू छन् । डोनबास क्षेत्रमा खटिएका १ लाख ३० हजार सैनिकहरूमध्ये धेरैजसो अर्धसैन्य दस्ताहरू छन् । तीमध्ये धेरै अर्धसैन्य दस्तालाई अहिले रुसी सेनाले एक्ल्याइसकेको छ । जनताका मिलिसियाहरूसँग मिलेर डोनबासलाई हातमा लिँदै गर्दा मस्कोले युक्रेनलाई असैन्यीकरण गर्न, तटस्थ स्थिति स्वीकार्न र नाटोबाट टाढै बस्न बाध्य पार्दै छ ।
शान्ति सम्झौताको कोणबाट तपाईँले स्थितिलाई हेर्नुभयो भने तपाईँले यो युद्धको सबै कथा बुझ्नुहुनेछ । यसबारे ‘ग्लोबल टाइम्स’ मा गएको मार्च ३१ मा एउटा गतिलो रिपोर्ट पनि छापिएको छ । कीभले अन्तरिम कालको लागि तटस्थ रहने स्वीकार गरिसकेको छ । यसलाई क्यानाडाजस्ता पश्चिमी मालिकहरूले बेवास्ता गर्दै छन् । तर, सम्झौताको गाँठी समस्या कीभको भाषामा ‘सार्वभौमिकता’ हो । डोनबास र गृहयुद्धमा यसैको लागि भएको हो । युक्रेनले डोनबासलाई आफ्नो सार्वभौमिक भूभाग भन्छ । यो युक्रेनबाट अलगिसकेका डोनेत्स्क र लुहान्स्क गणतन्त्रका जनताको भावनाविपरीत छ । डोनबास गणतन्त्रहरूका जनता र रुसीहरूलाई युक्रेनको यो बुझाइ स्वीकार्य छैन । वास्तवमा जनताका मिलिसियाहरू र रुसीहरू अझै पनि डोनबास क्षेत्रलाई मुक्त गर्न मिलेर लड्दै छन् । ती भूभाग अर्धसैन्य दस्ताहरूको कब्जामा छन् । यहीनिर समस्याको गाँठी कुरा छ । युक्रेनको गृहयुद्धको यो वास्तविकता पछिसम्म रहनेछ । यी सम्झौताहरूमा संरा अमेरिकाले सधैँ भाँजो हाल्दै आएको छ ।
बाँकी भोलिको अङ्कमा..

Leave a Reply

Your email address will not be published. Required fields are marked *