भर्खरै :

गठबन्धन सरकार कायम राख्न निर्वाचन सार्ने जालझेल चल्दै

दैलेख, २ वैशाख । नेपाल मजदुर किसान पार्टी, चामुण्डाविन्द्रासैनी नगर समितिको आयोजनामा शुक्रबार जम्बुकाँध बजारमा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले नेका नेतृत्वको सरकारलाई कायम गर्न निर्वाचन सार्ने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो ।
उहाँले दक्षिण एसियाका विभिन्न देशमा अस्थिरता देखिएको भन्दै नेपालमा अर्को उपद्रो गराई अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको समर्थनमा बनेको गठबन्धन सरकारलाई कायम राख्ने जालझेल भइरहेको तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेमकिपाले क्रान्तिकारी संसद्वादी सिद्धान्तअनुसार निर्वाचनलाई उपयोग गरेको भन्दै शासक दलहरूले घोषणापत्रलाई देखाउने दाँतको रूपमा प्रयोग गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, पुँजीवादी पार्टीहरू साम, दाम, दण्ड र भेदको नीतिको भरमा निर्वाचन जित्छन् । नेमकिपा निर्वाचन आचारसंहिताको परिपालना गर्दछ ।”
एमसीसी सम्झौता पारित भएपछि नेपाल लडाइँको थलो बन्ने खतरा बढेको भन्दै निर्वाचनमा एमसीसीका पक्षधर पार्टीहरूलाई सजाय गर्नुपर्ने मत राख्नुभयो ।
नेमकिपाले सिद्धान्तहीन गठबन्धनको विरोध गर्दै आएको भन्दै केन्द्रीय सदस्य गोसाईले भारतीय एकाधिकार पुँजीका समर्थक पार्टीहरूसँग कुनै पनि खालको सम्झौता हुननसक्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले गणतन्त्र आएर पनि जनताले सिटामोलजस्तो सामान्य औषधि पनि नपाएको उल्लेख गर्नुभयो । उहाँले सुखी नेपाली समृद्ध नेपालका नारा लगाउनेले जनता झुक्याउने काममात्र गरेको तर्क गर्दै सरकारी विद्यालय, अस्पतालको सेवा–सुविधा बढाउनमा शासक दलहरूले बेवास्ता गरेको चर्चा गर्नुभयो ।
नेमकिपाले विजय प्राप्त गरेका स्थानीय तहमा प्रतिनिधिहरूले इमानदारीसाथ काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकले नेपालको सार्वभौमिकतामाथि हमला भइरहेको बेला देशभक्त जनता एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सत्तामा जानेले काम नगर्नुमा सत्तामा पठाउने जनता पनि दोषभागी हुने तर्क गर्नुभयो ।
नेमकिपा, बाँके जिल्ला समितिका अध्यक्ष बखत थापाले नक्कली कम्युनिस्टहरूबाट सबै सतर्क हुनुपर्ने भन्दै सत्तामा जाने कुनै पनि पार्टी कम्युनिस्ट होइनन् भन्नुभयो ।
नेमकिपा, दैलेख जिल्ला समिति सचिव लक्ष्मीकुमार विकले कम्युनिस्ट पार्टीले वर्गीय आन्दोलन अगाडि बढाउँछ, जातीय आन्दोलन होइन भन्नुभयो ।
नेमकिपा, सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र विकले जातीय भेदभाव गलत भएको तर गरिब भएकै कारण हुने शोषण झन् चर्को र गम्भीर भएको तर्क गर्नुभयो ।
नेमकिपा, चाविनपाका अध्यक्ष निरकबहादुर शाहीले स्थानीय तहमा निर्वाचित शासक पार्टीका प्रतिनिधिले स्थानीयमा लुटमार मच्चाएको बताउनुभयो ।
पार्टी जिल्ला सदस्य केशेन्द्र कार्कीले काङ्ग्रेस, एमालेलगायतका शासक पार्टीहरूलाई दिइएको मत खेर गएको बताउनुभयो ।
पार्टी जिल्ला सदस्य इन्द्रप्रसाद चौलागाईँले स्थानीय तहहरूमा शासक पार्टीहरू नीति बनाउँछन् तर काम गर्दैनन् भन्नुभयो ।
नेमकिपाको तर्फबाट निर्वाचित नगर कार्यपालिका सदस्य धनकुमारी शाहीले कामदार महिला राजनीतिकरूपमा सक्रिय नभएसम्म समाजमा परिवर्तन नहुने विचार राख्नुभयो ।
नेमकिपा चावि नगर समितिका उपाध्यक्ष कृष्ण ढकालको सभापतित्वमा भएको कार्यक्रममा सचिव थानबहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सुरेन्द्रबहादुर शाहीले पनि बोल्नुभएको थियो । कार्यक्रममा देउडा गायक जयबहादुर शाही र धनरूप थापाले गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नेपाल मजदुर किसान पार्टी दैलेखले बिहीबार डुङ्गेश्वरमा कार्यकर्ता भेला गरेको छ ।
दुल्लु नगरपालिका गौरी, डुंगेश्वर र गुराँस गाउँपालिकाका कार्यकर्ता सहभागी सो कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश समितिका संयोजक सरोजराज गोसाईले एमसीसी सम्झौता पारित भएपछि देशका जनता दुई खेमामा विभाजित भएको धारणा राख्नुभयो ।
उहाँले एमसीसीका समर्थक पार्टीहरूलाई देशघाती र एमसीसीविरोधीहरू देशभक्त पार्टी रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा देशभक्त पार्टीलाई निर्वाचित गर्नुपर्ने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले निर्वाचनमा करोडौँ रुपियाँ खर्च गरेर शासक पार्टीहरूले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचनमा कर्मचारी, प्रहरी प्रशासनलगायतको दुरूपयोग गरी धाँधली गरेर जित्ने कथित जनप्रतिनिधिले जनताको सेवा गर्दैनन् भन्नुभयो ।
निर्वाचन साध्य नभई साधनमात्र भएको भन्दै उहाँले माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी पार्टीहरूले वर्तमान पुँजीवादी संसदीय व्यवस्थालाई स्थायित्व दिन लागिरहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले पुँजीवादी तथा प्रतिक्रियावादी पार्टीहरूसँग कुनै पनि खालको गठबन्धन गरेर निर्वाचन नलड्ने भन्दै निर्वाचनमा नेमकिपाले सैद्धान्तिक सङ्घर्ष गर्ने भनाइ राख्नुभयो ।
उहाँले निर्वाचन घोषणापत्रको लडाइँ भएको भन्दै नेमकिपाले इमानदारीसाथ काम गर्नेबारे जनतालाई विश्वस्त बनाउनुपर्ने बताउनुभयो ।
नेमकिपा, डुंगेश्वर गाउँपालिका समितिका अध्यक्ष बिन्दुलाल रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाही, नेमकिपा, दैलेखका सहसंयोजक जगत वली, गंगाप्रसाद नेउपालनेलगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *