भर्खरै :

स्थानीय तहमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न नेमकिपाको उपस्थिति जरुरी

कालीकोट, ४ वैशाख । नेपाल मजदुर किसान पार्टी, शुभकालीका गाउँ समितिको आयोजनामा आइतबार भर्तामा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले आगामी निर्वाचनमा विजयी हुनेले नपढी पास हुने र नपढाइ तलब खाने प्रवृत्तिको अन्त गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले शिक्षामा पछाडि परेसम्म विकट ठाउँमा परिवर्तन नआउने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य शाहीले गाउँमा औषधि उपचारको बन्दोबस्त गर्न स्थानीय तहमा निर्वाचित हुने प्रतिनिधिले काम गर्नुपर्ने भन्दै सामाजिक सुरक्षा भत्ता घरघरमा वितरणको निम्ति वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले गाउँको बस्ती विस्तार योजनाबद्धरूपमा हुनुपर्ने तर्क राख्दै स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न नेमकिपा नै चाहिन्छ भन्ने जनधारणा रहेको विचार व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले गठबन्धन दलले दस महिनाअगाडि आर्थिक रूपान्तरण, उत्पादनमा वृद्धि, महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रणजस्ता प्रतिबद्धता रद्दीको टोकरीमा मिल्काएको विचार राख्नुभयो ।
उहाँले साधारण खर्चको एक पैसा बाँकी नराख्ने तर विकास बजेट २७ प्रतिशतमात्र खर्च भएबाट गठबन्धन दल असफल भएको प्रमाणित भएको तर्क गर्नुभयो । उहाँले देशको अर्थतन्त्र सङ्कटउन्मुख भएको भन्दै व्यापार घाटा बढेको छ, विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “सरकार निर्वाचनबाट भाग्न खोजिरहेको छ । प्रजातान्त्रिक अभ्यास गर्न डराउने सरकारलाई नेपाली जनताले खबरदारी गर्नुपर्छ ।”
उहाँले कर्णालीको गरिबीको तस्बिर प्रस्तुत गरेर शासक दलकै नेता तथा कार्यकर्ताहरू विभिन्न परियोजनाको ठेक्का लगाइरहेका र कमिसन खाइरहेका छन् भन्दै नेमकिपाले निर्वाचनलाई उपयोग गर्नुको उद्देश्य देश र जनताको इमानदारीसाथ सेवा गर्नेबाहेक अरू होइन भन्नुभयो ।
कार्यक्रममा नेमकिपा, कालीकोट जिल्ला समितिका सचिव धनञ्जय अधिकारीले गरिब किसान तथा मजदुरले नेमकिपालाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष जनकबहादुर शाहीको सभापतित्वमा भएको सभामा नेक्राशिसङ्घ कालीकोट जिल्ला समिति सदस्य तुलाराम धिताल, नेमकिपा शुभकालीका वडा नं ३ का अध्यक्ष प्रकाश शाही, वडा नं ३ का सचिव कृष्णप्रसाद अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कलाकार कमल अधिकारी, तुलसी दमाई, मञ्जु शाही, रमिता चौलागाईँ, लक्ष्मी शाहीलगायतले देउडा गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरूले पञ्चेबाजासहित हुड्के नाच प्रस्तुत गर्नुभएको थियो ।
जनसभा हुनु अगाडि आरूखडास्थित नेमकिपाको कार्यालयबाट सुरू भएको जुलुस गोठेमुला, तिरूवाटोल, भाउसेन, माझमेला गाउँ परिक्रमा गरिएको थियो । जुलुसमा एमसीसी खारेज गर, माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावादलगायतका नारा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *