भर्खरै :

गलत राजनीति किन बसाल्ने ?

अरूलाई ‘किलो’ र आफूलाई ‘टन’ सँग तुलना गर्ने एमालेका अध्यक्ष केपी ओलीले निरङ्कुश पञ्चायती व्यवस्था टिकाउन जनतालाई दमन गर्न र गराउन मरिमेटी लाग्ने राजतन्त्रवादी कमल थापासँग स्थानीय तहको निर्वाचनमा किन गठबन्धन गर्दै छन् भन्नेबारे सर्वसाधारण जनतामाझ मात्र होइन, आफ्नै दलका नेता तथा कार्यकर्ताबीच पनि विरोधको स्वर सल्किरहेको छ । हिजो नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई ‘किलो’ को उपमा दिँदा ताली पाएका नेता ओलीले अहिले राजतन्त्रवादीसँग गठबन्धन गरेर फेरि स्यावासी र ताली पाउनेमा शङ्का छैन । गणतन्त्रवादी एमालेका अध्यक्ष ओलीले राजतन्त्रवादी कमल थापा नेतृत्वको राप्रपा नेपालसँग साठगाँठ गरेर किन आफ्नो दल र दलका नेताहरूको राजनीतिक उचाइ घटाउँदै छन् ?
कहाँ राजतन्त्रवादी, कहाँ गणतन्त्रवादी ¤ हिजो एक्लै चुनाव लडेर जित्ने आँट । आज गठबन्धन नगरी नहुने चिन्ता । गठबन्धन नै नगरी अरूलाई रित्तो पार्ने या नमज्जासँग हराउन चाहेका ओलीमा आज गठबन्धन नगरी नहुने निरासा कताबाट आयो ? ‘सूर्य’ चिह्न लिएर लडे जुनसुकै दलका उम्मेदवार आए पनि स्वीकृति दिने एमालेको कस्तो राजनीति ¤ एमालेको यो द्वैधचरित्र किन ¤ हिजो गठबन्धन किन गलत ¤ अहिले गठबन्धन किन ठीक ¤ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालझैँ एमालेका अध्यक्ष ओली पनि छिनछिनमा बोली फेर्ने रोग साटेर किन क्रमभङ्ग गर्छन् ? राजावादी उम्मेदवारलाई जिताउन आग्रह गर्दा के एमालेका नेता कार्यकर्तालाई अप्ठेरो पर्दैन ? आफ्नो दलको छुट्टै चुनाव चिह्न भए पनि एमालेको ‘सूर्य’ चिह्नमा छाप लगाएर जिताउन मतदातासमक्ष आग्रह गर्दा राप्रपा नेपाललाई अप्ठेरो पर्दैन ? सिद्धान्त र विचार बन्धक राखेर दलका उम्मेदवारहरूलाई जसरी भए पनि जित्न पाए पुग्छ ? यसरी गठबन्धन गरेर जित्ने भए दलको सिद्धान्त र विचारको के अर्थ रह्यो ? सिद्धान्त र विचार थन्काएर जसरी भए पनि जित्ने प्रयास के सही राजनीति हो ?
के बल र सङ्ख्या नै राजनीति हो ? अरू दलसँग साठगाँठ गरेर आफ्नो दल बलियो ठान्नु के ठीक हो ? यसरी राजनीतिमा विकृति निम्त्याउने, गलत राजनीति बसाल्ने काममा ठूला दलका नेताहरू किन लागिपर्छन् ? गठबन्धन गरेर कुन दलको कति शक्ति छ भनेर कसरी नापो गर्ने ? गठबन्धन गरेर जितेको सीट सङ्ख्यालाई के आफ्नो दलको मापदण्ड मान्न सकिन्छ ? यो भोलि सीटको आधारमा दल ठूलो भयौ भनी अभिमानी गर्ने मूर्खताबाहेक अर्को हुने–छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *