भर्खरै :

अपराधीहरू पार्टीभित्र भित्र्याएर सुशासन नहुने

जनताको शान्ति सुरक्षा कायम गर्न, मौलिक हकको कदर गर्न राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्न र त्यस्तै अन्य कार्य गर्ने नीति नै राजनीति हो । यो राजनीति देश र जनतासित सम्बन्धित हुन्छ । देश र जनताको सेवा गर्न राजनीति गर्ने हो । राजनीति गठित दलहरूको सिद्धान्त र विचारको आधारमा हुन्छ । दलको सिद्धान्त र विचार राम्रो या असल कार्य गर्नको लागि हो । यसकारण, राजनीति गर्नुपर्छ, राजनीतिमा लाग्नुपर्छ । राजनीतिबाट कुनै पनि मान्छे अलग्ग हुन सकिँदैन । राम्रो या असल काम गर्न, देश र जनताको सेवा गर्न राजनीति गर्ने नेता, मन्त्री, सांसद, जनप्रतिनिधि या कार्यकर्ता असल, इमानदार, योग्य, दूरदर्शी, देश र जनताप्रति समर्पित हुनुपर्छ । त्यस्ता व्यक्तिहरूको समूह या दलले मात्र वास्तवमा देश र जनताको सेवा गर्न सक्छ । राजनीति गर्ने नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूको विचार खोटो, खराब भयो भने देश नै बिग्रिन्छ । परिणामतः जनताले दुःख पाउँछन् । यसकारण, राजनीति असल नेता या व्यक्तिहरूले गर्नुपर्छ ।
खराब आचरणका, आपराधिक कार्यमा लागेका या भ्रष्टाचारमा लागेका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूले सही काम गर्दैनन् या देश र जनताको हितमा दिशा निर्देशन गर्दैनन् । असल शासकहरूले अपराध गर्दैनन्, अपराधीहरूलाई स्थान दिँदैनन् बरु उनीहरूमाथि आपराधिक क्रियाकलापको आधारमा कारबाही गर्छन् या सजाय दिन्छन् । कुनै पनि असल शासकले अपराधीहरूलाई स्थान दिँदैनन्, अपराधी वरपर घुम्दैनन् । राजनीति अपराधलाई खेलाउने, घुमाउने, रमाउने र पोस्ने होइन । अपराधलाई लुकाएर, अपराधमा संलग्न व्यक्तिलाई संरक्षण गरेर, अझ अपराधीहरूलाई पार्टीभित्र भित्र्याएर देशमा कसरी सुशासन हुन्छ ? त्यो कसरी विधिको शासन हुन्छ ? अपराधीहरू राजनीतिक दलभित्र पसेकाले, दलमा भित्र्याएकोले अपराध नियन्त्रण नभएको हो । राजनीतिक दलभित्र दलाल, डन, भ्रष्टाचारी पसिरहेका छन्, दलभित्र पसेर सुरक्षितमात्र होइन सुरक्षित भएर आपराधिक क्रियाकलापमा संलग्न भइरहेका छन् । सुन तस्करी, बलात्कार गर्ने, मानव बेचबिखन गर्ने, मूर्ति चोरी दलभित्र छिरेर उनीहरूले दललाई चन्दा दिएर सघाइरहेका छन् । यस्ता आपराधिक व्यक्तिहरू दलको राम्रो आयस्रोत बनेका छन् । त्यस्तै आपराधिक व्यक्तिहरू नेता, मन्त्रीहरूको आसेपासेमात्र होइन सुरक्षा गर्ने व्यक्ति बनेका छन् । अनि कसरी देशमा अपराध नियन्त्रण हुन्छ, अपराधीहरू कसरी दण्डित हुन्छन् ? अपराधीहरूलाई कडाभन्दा कडा दण्ड नदिइएसम्म आपराधिक गतिविधिहरू बढ्ने बाहेक घट्ने छैन । अपराधीहरू राजनीतिक दलका नेताहरूको छत्रछायामा रहेपछि देशमा कसरी असल शासन चल्छ ? अनि समाज र देश कसरी आदर्शोन्मुख हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *