भर्खरै :

एमसीसी पक्षधरहरूलाई अबको निर्वाचनमा जनतामाझ उदाङ्ग्याउनुपर्ने

भक्तपुर, १५ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छँे (रोहित) ले एमसीसी देशघाती सम्झौता भएको बताउँदै यस्तो सम्झौता संसद्बाट पास गराउने दलहरूलाई अबको निर्वाचनमा जनतामाझ उदाङ्ग्याउनुपर्ने बताउनुभयो ।
बिहीबार भक्तपुरमा आयोजित संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को जिल्लास्तरीय शिक्षक भेलामा अध्यक्ष रोहितले आज एमसीसीकै कारण युक्रेन र रूसबीच तनाव बढिरहेको धारणा राख्दै एमसीसीको सहयोग परियोजना नभई विश्वका समाजवादी देशलाई घेर्ने र गरिब देशका स्रोत–साधन कब्जा गर्ने अमेरिकी सैन्य रणनीति भएको प्रस्ट पार्नुभयो ।
अध्यक्ष रोहितले जाति, भाषा र धर्मका आधारमा राजनीति गर्नेहरू राजनीतिक अपराधी र देशद्रोही तत्व भएकोले त्यस्ता तत्वलाई चुनावमा पराजित गर्नुपर्ने बताउनुभयो ।
उहाँले समाजलाई सचेत बनाउने गहन जिम्मेवारी शिक्षक÷प्राध्यापकहरूको हुने भएकोले यो जिम्मेवारीबाट शिक्षकहरू पछि हट्न नहुने धारणा राख्नुभयो ।
उहाँले आजका विद्यार्थी नै भोलिका देश सञ्चालक भएकोले उनीहरूलाई सही ज्ञान र संस्कारयुक्त व्यवहार सिकाउनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले अघिल्लो कार्यकालमा आफूहरूले घोषणापत्रमा लेखेका एक–एक वाचा पूरा गरेको बताउनुभयो ।
कुनै–कुनै लक्ष्यहरू नपाको क्षेत्राधिकारभन्दा बाहिर परेको र शासक दलहरूको पक्षपातपूर्ण व्यवहारले पूरा हुन नसकेको बताउँदै अधुरो काम पूरा गर्न र नपाको समग्र विकासलाई अघि बढाउन आफूहरूलाई जिताउन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले शिक्षक समाजको सचेत र शिक्षित समुदाय भएकोे हुँदा समाजमा कुन पार्टी ठीक र कुन बेठीक भनेर शिक्षकले सचेतना फैलाउनुपर्ने बताउनुभयो ।
उहाँले देशलाई बर्बाद हुनबाट बचाउन र देश तथा जनताको हितमा काम गर्न आउँदो निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशीले आफूहरूले अघिल्लो कार्यकालमा भनपालाई शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माण आदि क्षेत्रमा ‘ख्वप मोडेल’को रूपमा अगाडि बढाउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भनपा वडा नं. ७ का अध्यक्ष उम्मेदवार उकेश कवां, इसानका अध्यक्ष प्रेमजन थापा श्रेष्ठ, इसानका महासचिव पुरूषोत्तम ग्वाछा, शिक्षिका बदनकेशरी प्रजापतिलगायतले आउँदा स्थानीय तह निर्वाचनमा नेमकिपाका कर्मठ, देशभक्त, जुझारू, इमानदार उम्मेदवारहरूलाई निर्वाचित बनाउन सबै शिक्षक÷शिक्षिकाहरूलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *