निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौँ, १५ वैशाख । नेपाल मजदुर किसान पार्टीले बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच स्थानीय निर्वाचन २०७९ को निर्वाचन घोषणापत्र सार्वजनिक ग¥यो । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष रोहितले राजनीतिक पार्टीहरू कुनै न कुनै एक दर्शन र सिद्धान्तको आधारमा स्थापना भएको हुन्छ भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले विगतदेखि सदन र सडकबाट राजनीतिक पार्टीहरूले सिद्धान्त र विचारलाई प्राथमिकता दिनुपर्ने कुरा बारम्बार जोड दिँदै आएको बताउनुभयो ।
कतिपय राजनीतिक दलहरूले सिद्धान्त र विचारलाई बेवास्ता गर्दा आज सरकारमा जानकै लागि सिद्धान्तसित नमिल्ने, संसदीय व्यवस्थाको मूल्य मान्यतासित नमिल्ने दलको नेतृत्वमा सरकार बनाएर संसदीय प्रजातन्त्रलाई नै हाँसोमा उडाउने कार्य गरिरहेको उहाँले बताउनुभयो ।
शासक दलहरूले राजनीतिलाई फोहोर बनाउने काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले तिनीहरूबाट देश र जनताले कुनै परिवर्तन र राम्रो कामको आशा गर्न नसकिने बताउनुभयो ।
उहाँले आजसम्म पटक–पटक सरकारमा गएका नेपालका शासक राजनीतिक दलहरूले देश र जनताको पक्षमा केही गर्न नसकेको छर्लङ्ग छ भन्नुभयो ।
पुँजीवादी शासक दलहरूले जतिसुकै आश्वासन र मिठा कुरा गरे पनि कुनै गतिलो काम गरेर देखाउन नसकेको दाबी उहाँले गर्नुभयो ।
देशमा भ्रष्टाचार व्याप्त हुनुमा आजसम्मका शासक दलहरू जिम्मेवार र दोषी छन् भन्नुभयो ।
नेपालका शासक दलहरू कसरी पश्चिमा साम्राज्यवादको पिँठयु बनेका छन् ? देशको सार्वभौमिकता हनन हुने, देशलाई नोक्सान पार्ने, एसियामा द्वन्द्व र युद्ध निम्त्याउने र विश्वयुद्धको लागि सिँढी तयार गर्ने एमसीसी किन र कसरी सम्झौता पारित गरेका छन् ? त्यसको वास्तविकता पनि जनतासमक्ष छर्लङ्ग पार्दै जाने उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले साम्राज्यवादको पक्ष लिने, कम्युनिस्ट व्यवस्था, समाजवाद र प्रगतिशील जनताको पक्ष लिन नसक्नेहरू सच्चा कम्युनिस्ट र समाजवादी नभई धोखेबाज र कायरहरू हुन् भन्नुभयो ।
निर्वाचन लाखौँलाख जनतालाई राजनीतिक चेतनाले शिक्षित पार्न सकिने एक विश्वविद्यालय भएको उल्लेख गर्दै उहाँले आसन्न निर्वाचनलाई देशभक्त र प्रगतिशीलहरूलाई विजयी गराउन तथा देशघाती र साम्राज्यवादका दलालहरूलाई परास्त गर्न जनतामाझ जाने अवसरको रूपमा उपयोग गर्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिनुभयो । उहाँले जनताको माझमा सत्यतथ्य प्रचारप्रसार गर्न सञ्चारकर्मी र पत्रकारहरूलाई अनुुरोध गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले भन्नुभयो, “यही वैशाख ३० गते हुने स्थानीय तहको चुनाव एमसीसी सम्झौता समर्थक प्रतिगामी र एमसीसी सम्झौताविरोधी देशभक्तहरूबीचको लडाइँ हो ।”
उहाँले अगाडि भन्नुभयो, “सिद्धान्तहीन गठबन्धन जनतालाई धोका हो । शासक दलहरूले पाँच वर्ष अगाडि प्रतिबद्धता गरेका घोषणापत्रअनुसार कुनै काम गरेनन् ।”
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले पनि बोल्नुभएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरूको पनि उपस्थिति थियो ।
घोषणापत्रमा नेपाल मजदुर किसान पार्टीले तयार गरेको स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ मा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, नेपाल मजदुर किसान पार्टीको दृष्टिकोणमा अन्य राजनीतिक दलहरू, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा जोड तथा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिले निर्वाचनमा गरेको स्थानीय तहको कार्यबारे सङ्क्षिप्त उल्लेख छ ।
Leave a Reply