भर्खरै :

श्रमिक दिवसको इतिहास र वर्तमान अवस्था

अन्तर्राष्ट्रिय श्रमिक–मजदुर दिवसको दिन नेपालमा पनि विभिन्न संस्थाहरूले विविध कार्यक्रमहरू गरी मनाए । यस कार्यक्रममा म दिवसको विषयमा केही महत्वपूर्ण कुराहरू राख्न गइरहेको छु ।
श्रमिक दिवसको छोटो इतिहास
यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिकरूपमा सार्वजनिक बिदा हुन्छ भने कतिपय देशहरूमा सामान्यरूपमा मनाइन्छ । विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही देशहरूमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ । त्यस्तै अमेरिकालगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ ।
अन्तर्राष्ट्रिय इतिहास
‘श्रमिक दिवस’ को इतिहासलाई हेर्ने हो भने सन् १८८६ मा अमेरिकाको शिकागोको हेमार्केटमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । १९ औँ शताब्दीको औद्योगिकीकरणमा युरोपका उद्योगपतिहरूले दैनिक १८ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरिरहेको कहालीलाग्दो परिस्थितिका बीच त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रमज्याला, उचित बिदा सुविधा र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोष गरे र ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजनको माग गरे । शिकागोमा यही मागसहितको श्रमिकहरूको शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा थुप्रै प्रदर्शनकारीको हत्या भयो र ४ मे का दिन आक्रोसित प्रदर्शनकारीद्वारा बम विस्फोट गर्दा ४ प्रहरीसहित ७ जनाको मृत्यु भयो । त्यसपश्चात् घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो ।
त्यतिबेला एउटा प्रयोग गरिएको एतिहासिक वाक्यांश अङ्ग्रेजी र नेपाली रुपान्तरण यस्तो थियो : THE DAY WILL COME WHEN OUR SILENCE WILL BE MORE POWERFUL THAN THE VOICES YOU ARE THROTTLING TODAY.
अर्थात् एक दिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनता नै तिमीहरूको गर्जनभन्दा बलियो हुनेछ । यो नारा त्यतिबेला व्यापकरूपमा फैलिएको थियो ।
यसकै ३ वर्षपछि फ्रासेली समाजवादी पार्टी (French Socialist Party) मे १ लाई (श्रमिकहरू एकीकृत हुने घोषणा गरेको दिन) International Workers Day को रूपमा मनाउने घोषणा गर्यो र अहिले हामी पनि यो दिनलाई मनाउँदै आएका छौँ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना हुनुअघि मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो । त्यतिबेला कमभन्दा कम तलब दिइन्थ्यो । ज्याला, तलब दिने प्रचलन १९ औँ शताब्दीपछि सुरु भएको हो । मजदुरसँग आश्रित परिवारलाई बेवास्ता गरिन्थ्यो । एउटा वर्गले अर्को वर्गमाथि शोषण गरेको थियो ।
सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना भयो । आईएलएले आफ्नो स्थापनाकालदेखि नै श्रमिकहरूको हक अधिकारका लागि काम गर्दै आएको छ । विश्वका धेरै मुलुक आर्थिक समृद्धितर्फ लागेपछि श्रम क्षेत्र विस्तार हुँदै गयो । श्रमबजारमा श्रमिकको माग बढ्दै गयो । फलस्वरूप श्रम र श्रमिकको अवस्था आजको अवस्थासम्म पुगेको छ ।
नेपालको श्रम र श्रमिक दिवसको इतिहास वर्तमान अवस्था
नेपालको सन्दर्भमा कुरा गर्दा नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो । तर, २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ मा सार्वजनिक बिदा दिन थालिएको हो ।
नेपालमा श्रम बहसको इतिहास त्यति लामो छैन । वि.सं. १९१० सालको ऐनभन्दा पहिले हिन्दू शास्त्रसम्मत नियम थियो । त्यतिबेला खेतीपाती, पशुपालन गर्ने नोकर हुन्थे । उनीहरूलाई तलब दिँदा जिन्सी र अन्नपात दिने चलन थियो ।
वि.सं १९१० को मुलुकी ऐनअन्तर्गत खेताला, भरियालाई दैनिक १० पैसाका दरले ज्याला दिने, कैदीलाई सडक खन्न लगाउँदा ६ पैसा ज्याला दिने, कर्मचारी, जङ्गी, गैरजागिरदारका लागि ज्याला व्यवस्था गरिएको थियो । २००७ सालको संविधानमा मजदुर, स्त्रीलाई बलपूर्वक, बालबालिकालाई कलिलो उमेरलाई दुरुपयोग गर्नु नहुनेजस्ता कुरा राज्यको नीति निर्देशक सिद्घान्तअन्तर्गत राखिएको थियो ।
नेपालको अन्तरिम संविधान २०६३ अन्तर्गत सबै नागरिकका लागि मौलिक अधिकार प्रत्याभूत भएअनुरूप नेपाली श्रमिक वा कामदारको हकलाई पनि संरक्षण गरेको पाइन्छ । श्रम ऐन २०४८ ले पनि कामदार वा श्रमिकको लागि विभिन्न व्यवस्था गरेको छ ।
हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हक अधिकार प्रवद्र्धनका निम्ति काम गर्दै आएको दाबी गरिन्छ ।
यस मन्त्रालयअन्तर्गत विभिन्न विभागको गठन र कानुन तथा नीति निर्माण भएको छ । श्रम र रोजगारसम्बन्धी नीति पनि ल्याएको छ । तर, त्यसको कार्यान्वयनमा सरकार गम्भीर छैन ।
नेपालको संविधान २०७२ को धारा ३३ ले रोजगारको हक र धारा ३४ ले श्रमको हक हुने उल्लेख पनि गरेको छ । राज्यले प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चितता गरेको छ ।
श्रमको उचित मूल्य दिनुपर्ने भनेको छ । कुनै पनि मानिसले आफ्नो क्षमता र दक्षताअनुसारको रोजगार छनोट गर्न पाउने अधिकार सबैलाई रहेको छ । नेपालको प्रचलित कानुनको अधीनमा रही स्वतन्त्रताका साथ काम गर्न कसैले बाधा पु¥याउन पाइने छैन भनिएको छ ।
‘इक्वेल भ्यालु अफ वर्क’ को सिद्धान्तमा रही हरेक रोजगारदाताले समान कामका लागि पारिश्रमिक भेदभाव गर्न नहुने कुरा उल्लेख गरेको छ । यति नियम तथा कानुन बने पनि श्रमिकको अवस्था उस्तै छ । आज पनि लाखौँ युवा खाडी मुलुकमा अति गर्मीमा काम गर्न बाध्य छन् ।
हालसम्म १ सय ७२ वटा देशहरूसँग नेपालको श्रम स्वीकृति रहेको छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७५/७६ को प्रगति प्रतिवेदनअनुसार १६ लाख ४० हजार ६ सय ९६ जना रोजगारका निम्ति विदेशिएका छन् । नेपालमा रोजगारी सिर्जना हुन नसक्नु, लगानी सुरक्षित नहुँदा खाडीको ५२ डिग्रीको तापक्रममा नेपालका गरिब र अति विपन्न दाजुभाइ , दिदीबहिनी आफ्नो ज्यान जोखिममा राखेर श्रम गरिरहेका छन् ।
यस्तो अवस्थामा श्रमिकका लागि जति ऐन, कानुन बने पनि के अर्थ राख्छ ? यस्ता हजारौँ प्रश्नको बीचमा श्रमिकलाई श्रम दिवस किन, कसका लागि श्रम दिवस, कहिले हो श्रम दिवस पनि थाहा हुँदैन । नेपालमा अहिले गरिब, मजदुर र सर्वहाराको वकालत गरेर उदय भएका राजनीतिक दलहरूको सरकार रहेको छ ।
जनताद्वारा चुनिएका तीन तहका जनताका लागि कार्य गर्ने सरकार छ । यस्तो अवस्थामा सरकारले आफ्नो उपस्थिति र सरकारको अनुभूति दिलाउने सुनौलो मौका रहेको छ । केवल जरुरी छ भन्ने इमानदार, पारदर्शी र उत्तरदायी सरकारको ।
यदि राज्यले तत्काल कदम नचाल्ने हो भने श्रमिक वर्गको अवस्था अझै नाजुक हुने निश्चित छ । यस्तो श्रमिक दिवस जति पटक आए पनि कागलाई बेल पाक्यो, हर्ष न विस्मात् भनेको जस्तै हुनेछ । तसर्थ यस विषयमा सबैले आ–आफ्नो तर्फबाट यस विषयमा गहन भएर सोच्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *