“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, वैशाख १९ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं ७ निर्वाचन परिचालन समितिको आयोजनामा सोमबार जनतासँग साक्षात्कार कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जनताले बहुदलीय प्रजातन्त्रको निम्ति सङ्घर्ष गरेको उल्लेख गर्दै निर्वाचनमा नेपाली काङ्ग्रेसको एउटा गठबन्धन र एमालेको अर्को गठबन्धन गरी दुईदलीय स्वरूप देखिएको छ भन्नुभयो ।
नेपालका शासक दलहरूले सिद्धान्त र विचार त्यागिसकेको मात्र नभई साम्राज्यवादको अगाडि आत्मसमर्पण गरिसकेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “तिनीहरू बन्द कोठामा पनि संरा अमेरिकाको साम्राज्यवादी चरित्रको विरुद्ध बोल्न डराउँछन् । दुबैको गठबन्धनविरुद्ध नेमकिपाको सङ्घर्ष चालु छ ।” उहाँले भन्नुभयो, “सन् १९५०–१९५३ मा अमेरिकाले दोस्रो विश्वयुद्धमा खसालिएको बम जतिकै कोरियामाथि प्रहार गरेको थियो । त्यसैले सानो देश कोरियाले पनि आणविक बमहरू बनायो । अमेरिकाको प्रत्याक्रमण गर्न प्रजग कोरिया सक्षम भएको छ ।”
उहाँले अफगानिस्तानमा बम हान्न अमेरिकी युद्धक विमानलाई काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा तेल भर्न अनुमति दिएर देउवा सरकारले गल्ती गरेको चर्चा गर्दै भन्नुभयो – “आफ्नो छिमेकीको घर जलाउन शत्रुलाई हामीले सलाइको काँटी सापटी दिनु ठीक होइन ।”
उहाँले हालसम्मकोसरकारहरूले संसद्मा ख्वप विश्वविद्यालयको विधेयक पेश नगरेको बताउँदै यसमा तिनीहरूको पूर्वाग्रही र जनविरोधी सोच कारक रहेको चर्चा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले हाम्रो कला, संस्कृति, भाषाको संरक्षण गरी आफ्नो देशको परिचय दिलाउने तरिकाले काम गरेको सराहनीय छ ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् मेयर पदका उम्मेदवार सुनिल प्रजापतिले स्थानीय तहको निर्वाचन २०७४ मा पार्टीको घोषणापत्रलाई विश्वास गरी जनताले बहुमतले विजयी बनाएको हुनाले आफूहरूले नगरपालिकामा पार्टीको घोषणापत्रबमोजिम काम गरेको बताउनुभयो ।
उहाँले वर्तमान देउवा सरकार एमसीसी पास गर्नकै लागि ल्याइएको हो भन्ने कुरा नेमकिपाले सरकार गठनकै बेलामा भनेको थियो, त्यो अहिले सिद्ध भएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “देउवा सरकारले नेपालको परराष्ट्र नीतिविपरीत युक्रेन र रुसबीचको युद्धमा युक्रेनको पक्षमा मतदान ग¥यो ।
कार्यक्रममा उपमेयरका उम्मेदवार रजनी जोशीले नगरपालिकामा बसेर ५ वर्ष काम गर्दा हरेक काममा जनताको प्रत्यक्ष साथ पाएकोमा खुसी व्यक्त गर्नुभयो । नेमकिपाको घोषणापत्र नपामा काम गर्ने मार्गदर्शक भएको उल्लेख गर्दै पार्टीको सिद्धान्तमा अडिग रही काम गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ७ का वडाध्यक्ष उम्मेदवार उकेश कवांले नेमकिपा र भक्तपुर नगरपालिकाले जनताको सेवा गरेको सहन नसकी ख्वप कलेजबारे भ्रम फैलाउनेहरू भारतीय वा अमेरिकी दलालबाहेक अरु नभएको धारणा राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले क्रान्तिको परिस्थिति तयार नहुञ्जेल जनतासँगसँगै प्रतिक्रियावादी सङ्घ–संस्थामा पुगेर जनताको सेवा गर्न स्थानीय तहको निर्वाचनमा भाग लिइरहेको विचार राख्नुभयो । उहाँले नेमकिपाको घोषणापत्रबमोजिम काम गरेकै कारण भक्तपुर नगरपालिका नमुना नगरपालिका बन्न सफल भएको विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका संयोजक बलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रत्नवीर किसीले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेमकिपाको तर्फबाट भनपा ७ वडा महिला सदस्य उम्मेदवार रञ्जना त्वाती, वडा सदस्य उम्मेदवारहरू हरिरत्न गोर्खाली र हेरा ख्याजूले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply