भर्खरै :

राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण

राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवम् निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा देहायका आचरण पालना गर्नुपर्नेछ :
(क) जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने ।
(ख) स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने ।
(ग) जुलुस, आमसभा, कोणसभा बैठक एवम् भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने ।
(घ) जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क बा लकेट लगाउन वा झोला बोक्न नहुने । तर, उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण खुलाई वितरण गर्न बाधा पर्नेछैन ।
(ङ) कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्ने वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने ।
(च) एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले एकै समयमा एउटै स्थान या मार्गमा जुलुस, आमसभा, कोणसभा बैठक वा भेला गर्न नहुने ।
(छ) प्रचलित कानुन वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने ।
(ज) घर वा जग्गाधनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने ।
(झ) कुनै क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने ।
(ञ) जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम गर्दा बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्नुपर्ने ।
(ट) नर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने ।
(ठ) निर्वाचन प्रयोजनको लागि ७५ ग्रामसम्मको कागजमा तीन वर्ग इन्चसम्म आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चामात्र प्रयोग गर्नुपर्ने ।
(ड) उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ह्३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने ।
(ढ) कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने ।
(ण) अनलाइन वेब पेज, टीभी स्कोलिङ, सपिङ मलमा डिस्प्ले कल सेन्टर सञ्चालन, बैङ्कका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न वा गराउन नहुने ।
(त) दलको झन्डाको वा दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने ।
(थ) कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाङ्गा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचार प्रसार गराउन नहुने ।
(द) ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले कुनै किसिमका प्रचारप्रसार गर्न वा गराउन नहुने ।
(ध) कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न वा गराउन नहुने ।
(न) उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने ।
(प) कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने ।
सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणः राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा देहायका आचरण पालना गर्नुपर्नेछ :
(क) निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्नसक्ने,
(ख) कुनै पदको निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दलको खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोहीबमोजिमको सङ्ख्या र प्रकारका सवारी साधनमात्र प्रयोग गर्नुपर्ने ।
तर, सवारी साधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पाइने छैन ।
(ग) एउटा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न नहुने ।
(घ) कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न नहुने ।
(ङ) सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने ।
(च) राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्नसक्ने ।
(छ) राजनीतिक दलले हेलिकोप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलका लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नुपर्ने । तर, राष्ट्रियसभा सदस्य निर्वाचन वा स्थानीय तहको निर्वाचन वा सबै तहको उपनिर्वाचनमा हेलिकोप्टरको प्रयोग गर्नुपरेमा पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिमको उम्मेदवारको खर्च शीर्षकमा समावेश गरी गर्नुपर्नेछ ।
(ज) सवारी साधनको प्रयोग गर्नुअघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनुपर्ने । तर, सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन ।
सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण
दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले प्रचार प्रसारमा सञ्चारमाध्यमको प्रयोग गर्दा देहायको आचरण पालना गर्नुपर्नेछ :
(क) राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन सक्ने ।
(ख) राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्चह७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने ।
(ग) स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन रेडियो वा एफ. एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा नहुने गरी चौबीस घण्टामा बढीमा दुई पटक प्रसारण गराउन सक्ने ।
(घ) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा तीन पटक प्रसारण गराउन सक्ने ।
(ङ) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन सक्ने ।
(च) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च X ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।
(छ) राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले, टेलिभिजन, रेडियो वा एफ. एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसार गराउन सक्ने ।
(ज) राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च X ७ इन्चसम्मको आकारमा एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।
(झ) राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ. एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन सक्ने ।
(ञ) राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च X ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सक्ने ।
स्रोतः निर्वाचन आयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *