भर्खरै :

जहिल्यै रासायनिक मलको अभाव

देशलाई आत्मनिर्भर बनाउने सवालमा सत्तासीन दलका नेताहरूको ध्यान नपुगेकोमा कुनै शङ्का छैन । अरू देशको भरमा रहुञ्जेल या देशलाई आत्मनिर्भर बनाउने आधार तयार नगरूञ्जेल देश परनिर्भर नै भइरहनेछ । नेपालमा जनताका आधारभूत आवश्यकता बेलाबखत अभाव हुनुको कारण पनि यही हो । अहिले खेतीपातीको काम सुरू हुन थालेको छ । तर, किसानले रासायनिक मल पाएका छैनन् । रासायनिक मलको हाहाकार पनि प्रत्येक वर्षझैँ हुन्छ । खेतीपातीको लागि रासायनिक मल नभई नहुने थाहा हुँदाहुँदै किन ल्याइँदैन ? समृद्ध नेपाल बनाउन नारा दिने तर उत्पादनको लागि चाहिने मलको जहिल्यै समस्या हुन्छ किन ?
नेपालमा रासायनिक मल खोल्न नेपाल क्रान्तिकारी किसान सङ्घले सङ्घर्ष गर्दै आएको तीन चार दशक भयो । सङ्घले अहिले पनि नेपालमा छिटोभन्दा छिटो मल कारखाना खोल्न सरकारको ध्यानाकर्षण गर्दै आएको हो । सोमबार पनि नेक्राकिसङ्घले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको रासायनिक मल कारखाना खोल्नुपर्नेलगायत अन्य देश र जनतासित सम्बन्धित विषयको ध्यानाकर्षण ग¥यो । कृषिप्रधान देशमा प्रजातन्त्र हुँदै गणतन्त्र स्थापना भए पनि नेका, एमाले, माओवादी जस्ता प्रजातन्त्रवादी र कम्युनिस्ट भनिने दलको सरकार गठन भए पनि हालसम्म मल कारखाना नखोल्नु विडम्बनाकै विषय हो ।
किसानको आँसु पुछ्ने बखान गर्ने तर किसानको लागि चाहिने रासायनिक मल समयमा नल्याउने सरकारको चाला कस्तो ¤ समयमा मल हाल्न पाइएन भने उत्पादन कसरी बढ्छ ? तरकारी कसरी उत्पादन हुन्छ । देशमै उत्पादन हुने अन्न, तरकारी पनि विदेशबाटै आयात गर्नुपर्ने भएपछि देश कसरी विकास हुन्छ ? देश कसरी समृद्ध हुन्छ ? सरकार रासायनिक मल कारखाना पनि नखोल्ने ! सिजन–सिजनमा मल पनि नल्याउने ! एक वर्ष होइन, दुई वर्ष होइन प्रत्येक वर्षझैँ समयमा मल नल्याउने, ल्याउन प्रयास नगर्ने सरकार कसरी जनताप्रति उत्तरदायी हुन्छ ? देशको अस्मिताको समेत ख्याल नगर्ने सरकार कसरी देशप्रति समर्पित हुन्छ ? अतः शीघ्रतिशीघ्र मल ल्याउन र स्वदेशमै मल कारखाना खोल्न आवश्यक गृहकार्य गर्ने या पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । यसमा सत्तासीन दलका नेताहरू गम्भीर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *