भर्खरै :

देश र जनताको निःस्वार्थ सेवाका लागि नेमकिपाको राजनीति

भक्तपुर, २० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाको राजनीति देश र जनताको निःस्वार्थ सेवाको लागि भएको स्पष्ट पार्नुभएको छ ।
नेमकिपा सूर्यविनायक नगर निर्वाचन परिचालन समितिको आयोजनामा मङ्गलबार कटुञ्जेमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले निर्वाचन वर्गसङ्घर्ष र घोषणापत्रको लडाइँ भएको र नेमकिपाले व्यापक कामदार जनताको हितको पक्ष लिन्छ भन्नुभयो ।
राजनीतिक आदर्श र सिद्धान्तलाई बन्धकमा राखेर शासक दलहरूले स्थानीय तहका पदहरू जित्नका लागि पनि असैद्धान्तिक र अनैतिक गठबन्धन गरेकोप्रति निन्दा व्यक्त गर्दै भन्नुभयो – “शासक दलहरूको गठबन्धन अनैतिक, असंवैधानिक तथा असैद्धान्तिक छ ।”
उहाँले एमसीसी पक्षधर शासक दलहरु अमेरिकी साम्राज्यवादको धम्कीकोसामु झुकेको र देशलाई असंलग्न र पञ्चशीलको परराष्ट्र नीतिबाट विचलित पारेर साम्राज्यवादको पक्षमा लान खोजिरहेको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले देशलाई देशी विदेशी एकाधिकार पुँजीको पाउमा चढाउनेहरू सजायका भागीदार भएको बताउँदै देशभक्त जनताले निर्वाचनलाई त्यसैको अवसरको रूपमा उपयोग गर्न आह्वान गर्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले शासक दलहरूले विदेशी शक्तिहरूसामु घुँडा टेकेर अनेक असमान सन्धिसम्झौताहरू पटक पटक देशको सार्वभौमिकतामाथि प्रहार गर्ने नकाम गरिरहेको चर्चा गर्नुभयो ।
सार्वभौमिकता भनेको कसैसँग झुक्नु नपर्ने अवस्था हो भन्नुहुँदै उहाँले भूगोल र जनसङ्ख्याले साना समाजवादी देशहरू क्युवा, कोरिया, भेनेजुयलाजस्ता देश अमेरिकी धम्कीको सामु नझुकी सङ्घर्ष गरिरहेको बताउनुभयो ।
सभामा नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सृजना सायजूले निर्वाचन घोषणा पत्रलाई लागू गरी जनताको सेवा गर्ने एउटै पार्टी नेमकिपा मात्र रहेको बताउँदै नेमकिपाका उम्मेदवारहरूको जीत जनताको साँचो जीत हुने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर निर्वाचन परिचालन समितिका संयोजक सूर्यभक्त त्वातीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका प्रमुख पदका उम्मेदवार श्याम बिसुङ्खे, उपप्रमुख पदका उम्मेदवार चनमती खुलिमुलि र वडाअध्यक्ष पदका उम्मेदवार महेन्द्र बखुन्छेलगायतका वक्ताहरूले आफूहरू निर्वाचित भएमा सूर्यविनायक नगरलाई भ्रष्टाचार मुक्त र सन्तुलित विकासको नमुना नगर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *