यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका कर्मठ एवम् जुझारू उम्मेदवार केशव तिमिल्सिना चाँगुनारायण नगरपालिकाको जनतामाझ चिरपरिचित नाम हो ।
वि.सं. २०१७ पौष १० गते पिता बोधनाथ तिमिल्सिना र माता तटकुमारी तिमिल्सिनाका ज्येष्ठ सुपुत्रको रूपमा सुडालमा जन्मनुभएका तिमिल्सिना बाल्यकालदेखि सङ्घर्षशील स्वभावको हुनुहुन्छ । सानै उमेरदेखि राजनीतिक गतिविधिमा चाख राख्ने उहाँ स्थानीय जनताको सेवा र विकास निर्माणको काममा सक्रिय हुनुभयो । समाज सेवालाई नै जीवनको मुख्य लक्ष्य बनाउनुभएका तिमिल्सिना पञ्चायती व्यवस्थाको असहज समयमा पनि देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाल मजदुर किसान पार्टीको गतिविधिबाट प्रभावित भएर प्रगतिशील धारमा समाहित हुनुभयो र राजनीतिक गतिविधिमा सक्रिय हुनुभयो । समाजलाई शिक्षित र सभ्य बनाउन स्थानीय बस्तीमै विद्यालय स्थापना गर्नुपर्ने विचार बोक्नुभएका तिमिल्सिनाको सक्रियतामा हाल चाँगुनारायण नपा वडा नं ८ सुडालको पञ्चकन्या मा.वि. स्थापनामा लाग्नुभयो । स्थापनाकालदेखि नै विनातलब स्वयम्सेवक शिक्षकको रूपमा काम गरी विद्यालयको शैक्षिक उन्नयन र भौतिक विकासमा उहाँ तल्लीन हुनुभयो ।

केशव तिमिल्सिना
प्रमुख पदका उम्मेदवार, नेमकिपा
स्थापनाकालदेखि हालसम्म पनि उहाँ सो विद्यालयको व्यवस्थापन समितिमा रहेर शैक्षिक विकास र शिक्षित नयाँ पुस्ता तयार गर्न सक्रिय हुनुहुन्छ । नेपाल मजदुर किसान पार्टीकै आह्वानमा निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध विसं २०४६ सालमा भएको जनआन्दोलनमा उहाँ सहभागी हुनुभयो ।
२०४६ सालको जनआन्दोलनबाट देशमा बहुदलीय प्रजातन्त्र पुनः स्थापना भएपछि नेपाल मजदुर किसान पार्टीका एक इमानदार कार्यकर्ता जयराम बासुकलाको आदर्श चरित्र र व्यवहारबाट प्रभावित भई उहाँ नेपाल मजदुर किसान पार्टीमा औपचारिकरूपमा संलग्न हुनुभयो । नेमकिपाको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घमा सङ्गठित भएर उहाँले सक्रिय राजनीतिलाई निरन्तरता दिनुभयो । उहाँकै सक्रियतामा नेपाल मजदुर किसान पार्टी सुडाल गाउँ समिति गठन भयो र उहाँ अध्यक्षको जिम्मेवारीमा रहनुभयो । २०४९ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा उहाँ नेपाल मजदुर किसान पार्टीबाट गाविस अध्यक्ष पदमा अत्यधिक मतले विजयी हुनुभयो । सुडाल गाविस अध्यक्षको पाँचवर्षे कार्यकालमा उहाँले गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, टेलिफोन, बाटोघाटो, कृषि, सिँचाइ, सामाजिक विकासजस्ता क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभयो ।
वि.सं २०५४ मा नेपाल मजदुर किसान पार्टीबाट जिल्ला विकास समिति, भक्तपुरको क्षेत्रीय सदस्य भएर उहाँ जनताको सेवामा लाग्नुभयो । उहाँ हाल नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला सदस्य हुनुहुन्छ । उहाँ नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका उपाध्यक्ष तथा नेमकिपाको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको पनि उपाध्यक्ष हुनुहुन्छ । उहाँ आफ्नो व्यक्तिगत कामलाई भन्दा जनताका समस्या समाधान र स्थानीय विकास निर्माणलाई प्राथमिकतामा राखेर खट्नुभयो । नेपाल मजदुर किसान पार्टीले गरेको देशको सार्वभौमिकता, जनजीविकाको विषय र न्यायपूर्ण आन्दोलन र सङ्घर्षमा उहाँ अथकरूपमा लाग्नुभयो । देशघाती एमसीसी सम्झौता खारेज गराउन नेमकिपाले गरेको आन्दोलनमा उहाँ सक्रियरूपमा लाग्नुभयो ।
कर्तव्यनिष्ठता, लगनशीलता र न्यायको पक्षमा निर्भिकरूपमा लड्नु नै उहाँको व्यक्तित्व हो । मिलनसार, शिष्ट, नम्र, सभ्य र शालीन, जुझारू एवम् भ्रष्टाचारविरोधी निडर र सङ्घर्षशील उहाँले चाँगुनारायण नपाभित्र हुने अनियमितता र भ्रष्टाचारको विरोधमा लगातार आवाज उठाउँदै आउनुभएको छ । चाँगुनारायण नपामा शासक दलले गर्दै आएको मनोमानी, हैकमवाद, पक्षपात, आर्थिक अनियमितताको विरोधमा आवाज उठाउँदै उहाँले चाँगुनारायण नपालाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासमा अनुकरणीय नपा बनाउनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।
देश र जनताको हितमा सबैसँग समन्वयकारी भूमिका निर्वाह गर्न दक्ष तिमिल्सिना राय सल्लाहबाट काम गर्ने स्वभावको हुनुहुन्छ । जिम्मेवारी र कार्यकुशलताको मूल्याङ्कन गरी नेपाल मजदुर किसान पार्टीले उहाँलाई चाँगुनारायण नगरपालिकाको प्रमुख पदको उम्मेदवार जनतासमक्ष प्रस्तुत गरेको हो । चाँगुनारायण नपालाई देशकै उदाहरणीय, पारदर्शी, समृद्ध र विकसित नगरपालिका बनाउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

कल्पना लामा
उपप्रमुख पदका उम्मेदवार,
नेमकिपा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका कर्मठ एवम् जुझारू उम्मेदवार कल्पना लामा चाँगुनारायण नपा वडा नं ६ नगरकोट निवासी महिला कार्यकर्ता हुनुहुन्छ ।
वि.सं २०३२ असार १५ गते काठमाडौँको असन भोटाहिटीमा जन्मनुभएकी कल्पना लामा सानै उमेरदेखि सामाजिक गतिविधिमा सक्रिय हुनुहुन्छ । पिता मचाकाजी मुनिकार र माता बुद्धिमाया मुनिकारकी साहिँली छोरी कल्पनाको नगरकोट निवासी कुमार लामासँग विवाहपछि सो स्थानका सामाजिक र महिला जागरण अभियानमा सक्रिय हुनुहुन्छ । दुई छोराकी आमा उहाँले परिवारको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आउनुभयो । उहाँ आफूलाई चुल्हो चौकोमा मात्र सीमित नराखी जनताको सेवामा समर्पित गर्नुभयो । महिलामाथि हुने विभेद र हिंसाविरूद्ध लड्दै उहाँ न्यायपूर्ण र समतामूलक समाज निर्माणमा सक्रिय हुनुहुन्छ ।
उहाँ नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र अनुशासित राजनीतिबाट प्रभावित भई २०६८ सालमा औपचारिकरूपमा नेमकिपामा आबद्ध हुनुभयो । २०६८ सालमा उहाँ नेमकिपाको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घमा सङ्गठित हुनुभयो । त्यसयता उहाँ वर्गीयरूपमा मुक्त समाजमा मात्र श्रमिक वर्गका महिला पनि मुक्त हुने विचार बोकेर राजनीतिक गतिविधिमा सक्रिय हुँदै आउनुभएको छ ।
महिला विकास संस्था नगरकोट चाँगुनारायण नपा ६ मा दुई वर्ष सेवा गर्नुभएकी कल्पना नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला सदस्य तथा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समिति सदस्य हुनुहुन्छ । उहाँले क्रान्तिकारी महिला सङ्घ चाँगुनारायण न.पा. ६ वडा समिति सदस्यको जिम्मेवारी बहन गर्दै आउनुभएको छ ।
जुझारू, मृदुभाषी स्वभावकी कल्पना लामा स्थानीय विकास निर्माणमा पनि सक्रिय हुँदै आउनुभएको छ । चाँगुनारायण नपाका जनताको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक विकासमा योगदान गर्ने उहाँलाई पार्टीले उपप्रमुख पदमा उम्मेदवार बनाएको हो ।
Leave a Reply