भर्खरै :

देशलाई अमेरिकी साम्राज्यवादको पछाडि लाने दलहरू देशद्रोही

भक्तपुर, २७ वैशाख । मङ्गलबार भक्तपुरको टौमढीमा बृहत् चुनावी जनसभा भयो । सभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले विचारको हिसाबमा आज देश दुई भागमा विभाजित भएको बताउनुभयो ।
“विचारको हिसाबमा आज देश दुई भागमा विभाजित छ । एकातिर एमसीसी सम्झौताका पक्षधर र अर्कोतिर त्यो सम्झौताका विरोधी छन् । नेमकिपा देशभक्त र प्रगतिशील जनताको पक्षमा छ”, उहाँले भन्नुभयो ।
उहाँले संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको निर्देशनमा शासक दलहरूले एमसीसी सम्झौता पारित गरेको भन्दै एमसीसीको समर्थन गरेर देशलाई संरा अमेरिकी साम्राज्यवादको पछाडि लाने दलहरू देशद्रोही हुन् भन्नुभयो ।
“विदेशी थिचोमिचोको विरोधमा उभिने नेपाली जनता आज नेमकिपाको पक्षमा उभिनुपर्छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
कोरिया, भियतनाम, लिविया, इराक, युगोस्लाभिया, पानामालगायत देशको उदाहरण प्रस्तुत गर्दै उहाँले साम्राज्यवादी शक्तिले आफ्नो निर्देशन नमान्ने नेताहरूको हत्या गरेको चर्चा गर्दै नेपालका शासक दलहरूले साम्राज्यवादको आदेश नमाने ज्यानको ठेगान नभएको बताउनुभयो ।
उहाँले संसदमा नेमकिपाले एमसीसी सम्झौताको विरोधमा सङ्घर्ष नगरेको भए सम्झौता संरा अमेरिकाले चाहेजस्तो पारित हुने धारणा राख्दै संसदमा नेमकिपाले मात्र प्रतिपक्षको भूमिका खेलिरहेको बताउनुभयो ।
“एमसीसी सम्झौताको विरोध गरेर नेमकिपाले देश र भावी पुस्ताप्रतिको कर्तव्य पूरा गरेको छ”, बिजुक्छेँले भन्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादले नेपाल खान खोजे नेपाली जनताले पुस्तौँपुस्तासम्म सङ्घर्ष गर्ने बताउनुभयो ।
नेमकिपाले भारतको विरोध गरेको भन्नेहरूलाई जवाफ दिँदै बिजुक्छेँले नेमकिपा भारतका शासक वर्गबाट आफै पीडित भारतीय जनताको विरोध नगरेको बरु भारतीय जनतालाई जात, धर्म र विचारको आधारमा दमन गरिरहेको भारतीय शासक वर्गको विरोध गरेको प्रस्ट पार्नुभयो ।
जात र धर्मको आधारमा कसैमाथि थिचोमिचो र हेलोहोचो गर्न नहुने भन्दै बिजुक्छेँले भारतमा मोदी फासीवादले भारतीय जनताविरुद्ध जात र धर्मको आधारमा दमन गरिरहेको बताउनुभयो ।
उहाँले नेमकिपा लडेर ल्याएको प्रजातन्त्रको मान्यताविपरीत ख्वप विश्वविद्यालय स्थापनाको निम्ति सडकमा टायर बाल्ने गल्ती नगर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाको प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले तीन प्रतिशतको मतसीमाजस्तो अप्रजातान्त्रिक प्रावधान राखेर विचारमाथि निषेध गर्ने शासक दलहरूले देशमा अप्रजातान्त्रिक काम गरिरहेको बताउनुभयो ।
उहाँले शासक दलहरूले सिंहदरबार र प्रदेश सरकारमा पक्षपात गरेजस्तो भक्तपुर नपाले जनतामाथि पक्षपात नगरेको भन्दै भक्तपुर नपाअन्तर्गत कलेज र स्वास्थ्य केन्द्रमा कसैलाई पनि कुनै पनि खालको पक्षपात नगरेको प्रस्ट पार्नुभयो ।
विपक्षी दलका नेताहरूका केही अनर्गल प्रचारबाजीप्रति लक्षित गर्दै प्रजापतिले ख्वप विश्वविद्यालय र मेडिकल कलेज स्थापना रोक्न शासक दलका नेता कार्यकर्ताले चुकुल राख्ने काम गरिरहेको प्रस्ट हुँदै गएको बताउनुभयो ।
निजी नाफामूलक कलेज सञ्चालक र स्वास्थ्य तथा शैक्षिक माफियाहरूले भक्तपुर नपाले सञ्चालन गरिरहेको कलेज र अस्पतालको विरोध गरिरहेको भन्दै प्रमुख पदका उम्मेदवार प्रजापतिले भक्तपुर नपाले जनताको साथ र सहयोगमा आफ्नै खुट्टामा उभिएर भक्तपुरको सम्पदा संरक्षणको जिम्मेवारी पूरा गरेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपालाई काम, व्यवहार र सिद्धान्तमा प्रतिस्पर्धा गर्न नसकेपछि शासक दलहरू आत्तिएर गाली गलौजमा उत्रिएको बताउनुभयो ।
विभिन्न विचार बोक्ने दलहरू एउटै झण्डामुनि आउनु प्रजातन्त्रविरोधी र प्रतिगामी भएको बताउँदै भोजभत्तेर र पैसामा मत किनेर शासक दलहरूले आचारसंहिता उल्लङ्घन गरिरहेको बताउनुभयो ।
उपप्रमुख पदका उम्मेदवार रजनी जोशीले आगामी पाँच वर्ष अघिल्लो कार्यकालमा अधुरा काम पूरा गर्ने भन्दै जन्मदेखि मरणसम्म आवश्यक विभिन्न पूर्वाधार स्थापना गर्न काम गर्ने बताउनुभयो । उहाँले भक्तपुरलाई शिक्षा, स्वास्थ्य सेवा र ज्ञानविज्ञानको केन्द्र बनाउन नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले अथक काम गर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपा वडा नं ९ वडा अध्यक्ष पदका उम्मेदवार रवीन्द्र ज्याख्वले बितेका वर्षमा निर्वाचित जनप्रतिनिधिहरूले जनताको साथ र सहयोगमा घोषणापत्रमा भएका बुँदाहरूलाई एक एक गरी पूरा गरेको बताउनुभयो ।
उहाँले कोभिडको प्रतिकूल समयमा नगरवासीको सहयोगमा छोटो समयमा अक्सिजन प्लान्ट बनाएर जनताको जीवन जोगाउन सफल भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं ५ का वडा अध्यक्ष पदमा नेमकिपाका उम्मेदवार योगेन्द्रमान बिजुक्छेँले इतिहासमा गम्भीर परिस्थितिमा नेमकिपाले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै नेमकिपाले भिडको राजनीति होइन, विचारको राजनीतिमा विश्वास गर्ने बताउनुभयो ।
नेमकिपाका हिमालयश्वर लाल मूलको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक समूहका कलाकारहरूले गीत प्रस्तुत गर्नुभएको थियो । प्रतिकूल मौसमबीच हजारौँ जनता लगातार उत्साहका साथ सभामा सहभागी बन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *