भर्खरै :

जुम्लामा कार्यकर्ता प्रशिक्षण

जुम्ला, २७ वैशाख । नेपाल मजदुर किसान पार्टी, पातरासी गाउँपालिकाको आयोजनामा मङ्गलबार कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले पुँजीवादी निर्वाचनबाट समाजवादी व्यवस्था स्थापना नहुने तर केही सुधारका काम गर्न सकिने विचार राख्नुभयो । उहाँले नेमकिपाले क्रान्तिकारी भूमिसुधार गर्ने उद्देश्य राखेको भन्दै आजको नेपालको कानुनले त्यसो गर्न दिँदैन भन्नुभयो । उहाँले निर्वाचन जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्यको निम्ति भएको भन्दै निर्वाचन सकिएपछि पनि जनताको सेवामा लागिरहनुपर्ने विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले जनता परिवर्तन चाहन्छन्, परिवर्तनको निम्ति पार्टीको सङ्गठन आवश्यक छ भन्नुभयो । उहाँले जबसम्म क्रान्तिकारीहरुको हातमा शिक्षाको नेतृत्व पुग्दैन तबसम्म गरिबका छोराछोरीले पढ्न पाउन्नन् भन्नुभयो ।
नेमकिपा, जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले नेमकिपा नेपालको सच्चा कम्युनिस्ट पार्टी हो भन्दै नेमकिपाले सिद्धान्त र नीतिको निम्ति कसैसामु झुक्नु नपरेको उल्लेख गर्नुभयो ।
नेमकिपा, जुम्ला जिल्ला उपाध्यक्ष विर्खबहादुर रावतले शासक पार्टीहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको धारणा राख्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य राजुभाइ त्यातले शिक्षामा परिवर्तन नभएसम्म राजनीतिक चेतना नउठ्ने धारणा राख्नुभयो ।
कार्यक्रम नेमकिपा, पातरासी गापाका अध्यक्ष सिंहबहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *