भर्खरै :

नेमकिपाको समर्थनमा जनलहर सिर्जना

जुम्ला, २७ वैशाख । नेपाल मजदुर किसान पार्टी, तिला गाउँ समितिको आयोजनामा मङ्गलबार कुडारीमा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले नेमकिपाले कर्णाली प्रदेशमै सबभन्दा पहिला हँसिया र हथौडाको क्रान्तिकारी झन्डा फहराएको उल्लेख गर्नुभयो । उहाँले नेमकिपालाई सानो भनेर सामन्ती शैलीको कुरा गर्नेलाई जवाफ दिँदै नेमकिपाले कर्णाली प्रदेशका कुनाकन्दराबाट पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षको नेतृत्व गरेको उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य गोसाईले विभिन्न उतारचढाउपछि फेरि एकपटक नेमकिपाको समर्थनमा जनलहरको सृजना भएको धारणा राख्नुभयो ।
उहाँले माओवादीको युद्धको बेला नेमकिपाका नेता तथा कार्यकर्ता जनताबीचमै रहेर अराकतावादी गतिविधिको आलोचना तथा खण्डन गरेको स्मरण गर्दै उतिबेला शासक दलहरू सहर भागेको कुरा उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले लिम्पियाधुरा, लिपुलेक तथा कालापानी सहितको नेपालको नक्सा सार्वजनिक गराउन नेमकिपाले आन्दोलनको नेतृत्व गरेको उल्लेख गर्दै भारतको नाकाबन्दीविरुद्ध लड्ने नेमकिपा एउटै पार्टी भएको विचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले प्राकृतिक स्रोतसाधनको हिसाबमा कर्णालीको अपार सम्भावना भएर पनि यहाँ गरिबी, अभाव, भोक र रोगको साम्राज्य भएको उहाँको भनाइ थियो । उहाँले शासक पार्टीहरूबाट अब परिवर्तन सम्भव नभएको तर्क गर्नुभयो ।
नेमकिपा, जुम्लाका उपाध्यक्ष विर्खबहादुर रावतले नोटमा भोट साटिएसम्म समाजको परिवर्तन नहुने धारणा राख्नुभयो । उहाँले नेमकिपाले विजय प्राप्त गरेको नगरपालिकाले देशमै उदाहरणीय काम गरेको भन्दै नेमकिपाका कार्यकर्ता विजयी भएमा इमानदारीसाथ काम गर्ने विचार राख्नुभयो ।
नेमकिपाको तर्फबाट तिला गापाको अध्यक्षका प्रत्याशी धनबहादुर रावतले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणको काममा जनताको सहभागितामा काम गर्ने वचनबद्धता राख्नुभयो ।
तिला गापा, वडा नं २ का वडाध्यक्षका प्रत्याशी मानबहादुर बोहराले ठेकेदारी प्रथालाई निरुत्साहित गर्नुको साथै एनजीओ तथा आइएनजीओको नियमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेमकिपा, तिला गापा निर्वाचन प्रचार समितिका अध्यक्ष गोपालनाथ योगीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । तिला गापामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यसहित नेमकिपाको तर्फबाट १६ जनाले उम्मेदवारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *