निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २७ वैशाख । स्थानीय तहको निर्वाचन २०७९ को प्रचारप्रसारको सिलसिलामा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर निर्वाचन परिचालन समितिको आयोजनामा वडा नं ७ बागेश्वरीमा चुनावी जनसभा मङ्गलबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले शासक दलहरूले नेपाली जनतालाई पाइला – पाइलामा धोका दिँदै आएको चर्चा गर्दै एमसीसी सम्झौता अमेरिकी स्वार्थका लागि लगानी भनी अमेरिकी सरकारकै प्रतिवेदनमा उल्लेख भएकोले त्यसको रकमलाई अनुदान भनी नेपाली जनता भ्रममा रहन नहुने बताउनुभयो ।
विगत ३२ वर्षमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपालगायत शासक दलहरू पटक – पटक सरकारमा पुगेर पनि देश र जनताको हितमा सिन्को भाँच्न नसकेको चर्चा गर्दै सांसद सुवालले शासक दलहरू पटक पटक परीक्षण भएर पनि असफल भइसकेका छ भन्नुभयो ।
सभामा नेक्राविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नीरज लवजूले प्रजातन्त्रको सौन्दर्य भनेको राजनीतिक दलहरूले आ–आफ्नो विचार जनतामाझ प्रचार गर्न पाउने र जनताले निर्भिकतापूर्वक आफ्नो प्रतिनिधि चयन गर्न पाउनु हो भन्नुभयो । शासक दलहरूले प्रजातन्त्रको मूल्य र मान्यतालाई कुरुप पार्दै पञ्चायत र राणा शासन ब्युँताउन खोजिरहेको उहाँले बताउनुभयो ।
सभामा चाँगुनारायण नगरपालिकामा नेमकिपाका प्रमुख पदका उम्मेदवार केशवप्रसाद तिमिल्सेनाले देशघाती एमसीसी सम्झौताविरुद्ध नेमकिपाले देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गरेको बताउँदै चाँगुनारायण नपामा नेमकिपा विजयी भएपछि पारदर्शी, अनियमिततामुक्त र भ्रष्टाचारमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चानपा वडा नं ७ मा वडा अध्यक्ष पदका उम्मेदवार अर्जुन काफ्लेले वडाको विकास र जनताको समस्या समाधानका लागि नेमकिपाले धेरै अघिदेखि काम गर्दै आएको बताउनुभयो ।
नेमकिपा चानपा वडा नं ७ एकाइ समितिका अध्यक्ष रामबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न चुनावी सभामा उपप्रमुख पदका उम्मेदवार कल्पना लामा, स्थानीय बलराम काफ्ले, उमा अधिकारी, दीपक नायजू, राजकुमार खत्री र मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
त्यस्तै सोमबार चानपा वडा नं. २ दुवाकोटको मलेपति टोलमा चुनावी जनसभा सम्पन्न भयो । सभामा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले निर्वाचन राजनीतिक दलहरूबीचको घोषणापत्रको लडाइँ, विचारको लडाइँ र वर्गीय सङ्घर्ष भएको बताउँदै गठबन्धनको नाममा जनतालाई ठग्ने काम भइरहेको बताउनुभयो । उहाँले शासक दलहरूले देशको प्राकृतिक स्रोतसाधनमात्र नभई देशै बेच्न लागिपरेको बताउनुभयो ।
चानपामा प्रमुख पदका प्रत्यासी केशवप्रसाद तिमिल्सेनाले चाँगुनारायण नपामा ६१ ठाउँमा अवैध जग्गा प्लटिङ गराएर शासक दलहरूबाट जितेका जनप्रतिनिधिहरूले करोडौँ रकम उठाएको र नपामा भ्रष्टाचार भइरहेको जनतामाझ व्यापक चर्चा रहेको उल्लेख गर्दै नेमकिपाको उम्मेदवारी अनियमितता र भ्रष्टाचारको विरोधमा रहेको बताउनुभयो ।
उहाँले नेमाकिपाले चानपामा निर्वाचन जितेमा भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
सभामा चानपा २ मा वडाअध्यक्ष पदका उम्मेदवार गोविन्दराम सुवालले आफूहरू जितेमा वडा र नपामा सुशासन कायम गर्न लाग्ने बताउनुभयो ।
गणेशराम सुवालको सभापतित्वमा सम्पन्न सभामा उपप्रमुख पदका उम्मेदवार कल्पना लामा, वडा सदस्य पदका सुशिला आगञ्जा, लक्ष्मीप्रसाद तजले, गोमा मिजार, तीर्थलक्ष्मी श्रेष्ठ र रवि प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply