भर्खरै :

जनतालाई दिएको वचन पूरा गर्न जनताको राय, सुझाव र सल्लाहअनुसार काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता

भक्तपुर, ८ जेठ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. ४ समन्वय समितिको आयोजनामा स्थानीय तहको निर्वाचनमा नेमकिपाको तर्फबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा वडावासी मतदाता, सहयोगी र स्वयम्सेवक महानुभावहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित मेयर सुनिल प्रजापतिले चुनावमा जनतालाई दिएको वचन पूरा गर्न जनताको राय, सुझाव र सल्लाहअनुसार काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहो¥याउनुभयो । उहाँले कृषिप्रधान देशमा मलको अभाव छ, कृषि उत्पादनमा ह्रास छ र निर्यातभन्दा आयातमा वृद्धि भइरहेको छ भन्नुभयो । सरकारले ख्वप विश्वविद्यालय र मेडिकल कलेजको स्वीकृति नदिएसम्म सङ्घर्ष चालू रहने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
श्रीलङ्कामा पर्यटक आगमन न्यून हुँदा आर्थिक सङ्कट निम्तिएको उल्लेख गर्दै उहाँले देशलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउन नयाँ प्रविधिको प्रयोग गर्दै जनतासित मिलेर काम गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
उहाँले राजनैतिक सिद्धान्त र विचारमा स्पष्ट नभएका गठबन्धन पार्टीहरूले जतिसुकै सीट जिते पनि देश र जनताको हितमा काम नहुने दाबी गर्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सङ्गठन विकास र विस्तारका लागि भावनात्मक एकता आवश्यक भएको धारणा राख्दै पदमा नरहेकाहरूको पनि उत्तिकै जिम्मेवारी रहन्छ भन्नुभयो । सन्तुलित विकासको अवधारणालाई व्यवहारमा लागू गरे देश विकासमा लामो समय नलाग्ने बताउँदै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्ने काममा नेमकिपा अघि रहेको चर्चा गर्नुभयो । चुनाव जित्न लाखौं करोडौंँ खर्चने राजनीतिक दल र तिनका उम्मेदवारहरूको कारण महँगी बढेको भनाइ राख्दै उहाँले समाजको आमूल परिवर्तनको लागि कार्यकर्ताहरूले सधैँ दतचित भएर काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
उपप्रमुख रजनी जोशीले अग्रजहरूले गरेका सम्पदा निर्माण र संवद्र्धनलाई निरन्तरता दिँदै जाने, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइजस्ता आधारभूत आवश्यकता पूरा गर्ने कार्यमा भक्तपुर नगरपालिकाले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । भक्तपुर नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने, मौलिक सम्पदा, संस्कृतिको जगेर्ना गरी नगरवासीहरूको सांस्कृतिक स्तर माथि उकास्नेलगायत सचेत, सभ्य र सुसंस्कृत नागरिक तयार गर्न निरन्तर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
नेमकिपा ४ वडा समन्वय समिति संयोजक एवं नवनिर्वाचित वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा निवर्तमान वडाध्यक्ष कुमार चवाल, कृष्णलक्ष्मी दुवाल, विजय लोहला, एच. एस. सुवाल, न्हुछेराम भेले र बालकृष्ण प्रजापतिलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *