भर्खरै :

कम्युनिस्टहरू द्वन्द्ववाद र भौतिकवादलाई विश्वास गर्छन्

कम्युनिस्टहरू द्वन्द्ववाद तथा भौतिकवादमा विश्वास गर्छन् । द्वन्द्ववाद हेगेल र भौतिकवाद फायरबाख आदि दार्शनिकहरूले विकास गरे पनि दुनियाँ बदल्ने कुरा गरेनन् । माक्र्सले समाजको रूपान्तरण प्रक्रियालाई द्वन्द्वात्मक भौतिकवादी आँखाले अध्ययन गर्नुभयो । यसरी द्वन्द्वात्मक भौतिकवादी दर्शनको जन्म भयो । यो सर्वहारा वर्गको दृष्टिकोण हो । यो सिद्धान्तलाई व्यवहारमा लागु गर्ने दर्शन हो । यसैले यो विज्ञानसम्मत हो । संसारका कम्युनिस्टहरू यही द्वन्द्ववाद र भौतिकवादी दर्शनमा टेकेर आफ्नो समाज र देशलाई बदल्न लागिपरेका छन्, लागिरहेका छन् ।
द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव समाज एवम् वस्तुमा विद्यमान गति र चिन्तनका नियमहरूको अध्ययन गर्ने दर्शन हो । त्यसै आधारमा समाज या देशमा परिवर्तन ल्याउने दृष्टिकोण भएको हुँदा यो विज्ञानसम्मत छ । वर्गसङ्घर्षको थालनी माक्र्सभन्दा पहिले नै भएको थियो । वर्गीय समाजमा वर्गसङ्घर्ष हुन्छ भन्ने माक्र्सको मान्यता हो । हुन पनि संसार वर्गसङ्घर्षबाट अघि बढेको देखिन्छ । यसकारण, कम्युनिस्टहरू वर्गसङ्घर्षमा विश्वास गर्छन् । वर्गसङ्घर्षविना देशमा आमूल परिवर्तन सम्भव छैन भन्ने धारणा कम्युनिस्ट पार्टीहरूको हो । वर्गसङ्घर्षमा विश्वास गर्ने कुनै पनि कम्युनिस्ट पार्टीले विस्तारवाद र साम्राज्यवादको विरोध नगरी हुन्न । साम्राज्यवाद र विस्तारवादको विरोध नगर्ने दल कम्युनिस्ट हुनैसक्दैन । नेपाल मजदुर किसान पार्टीले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मानेरै द्वन्द्वात्मक भौतिकवाद र वर्गसङ्घर्षको राजनीति गर्दै आएको हो ।
नेमकिपाले स्थापनाकालदेखि निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्दै आएको हो । पञ्चायती व्यवस्थाविरुद्ध कानुनी तथा गैरकानुनी सङ्घर्ष गर्नु वर्गसङ्घर्षकै सिलसिला हो । नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नु पनि वर्गसङ्घर्षकै सिलसिला हो । देशका सामन्त, पुँजीपति, जमिनदारहरूको विरोध पनि वर्गसङ्घर्षकै रूप हो । स्थानीय तहको निर्वाचनमा सामन्त, पुँजीपति, शोषक, जमिनदार, जालीफटाहाको प्रतिनिधित्व गर्ने दलका उम्मेदवारहरू छन् । त्यस्ता जनविरोधी उम्मेदवारलाई सजिलैसँग जिताउनु हुँदैन । उनीहरूको चरित्रबारे जनतालाई सुसूचित पार्नुपर्छ । उनीहरूको जनविरोधी कार्यको विरोध गर्न र त्यसलाई जनतामाझ पु¥याएर जनतालाई सचेत पार्न नेमकिपाले स्थानीय तहको निर्वाचनमा भाग लिएको हो । स्थानीय तहको निर्वाचनलाई नेमकिपाले वैचारिक लडाइँ भनेको छ, यो पनि वर्गसङ्घर्षकै एक माध्यम हो । सबै ठाउँमा उम्मेदवारहरू नजिते पनि निर्वाचनलाई उपयोग गरेर नेमकिपाले आफ्नो धर्म निर्वाह गरेको छ । जनविरोधी कार्यको विरोध गर्दै कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएर जनतालाई राजनीतिक, वैचारिक, सैद्धान्तिक र सांस्कृतिकरूपमा सचेत पार्ने काम गरेको छ । राजनीतिक चेतना जगाउने काममा नेमकिपा सक्रिय छ, अगाडि छ । तर, अन्य दलका नेताहरू जसरी भए पनि जित्ने र बढीभन्दा बढी सीट ल्याउनेतर्फ केन्द्रित छन् । अतः यो निर्वाचन कम्युनिस्ट र पुँजीपति, सामन्त तथा शोषकवर्गको बीचको लडाइँ हो । नेमकिपाले यो लडाइँलाई देशभक्त र देशघातीहरूबीचको लडाइँ पनि भनेको छ । देश जोगाउने नेमकिपाको अभियानबाट जनता सचेत भएका छन् । यसले देशप्रेमको भावना जागेको छ । स्थानीय तहको निर्वाचनको यो अर्काे उपलब्धि हो ।
द्वन्द्वात्मक भौतिकवाद र वर्गसङ्घर्षका विरोधीहरूले अहिले पनि माक्र्सवाद असफल भएको भ्रम फैलाइरहेका छन् । माक्र्सले राख्नुभएको समाज बदल्न या देशमा आमूल परिवर्तन गर्न वर्गसङ्घर्ष गर्नुपर्ने भन्ने धारणा अहिलेको समय अनुकूल छैन भनी पुँजीपति वर्गमात्र होइन आफूलाई कम्युनिस्ट भनिने ठूला दलका नेताहरूले नै उद्घोष गरिरहेका छन् । कतिपय कम्युनिस्ट नेता भनिने बुद्धिजीवीहरू त वर्गसङ्घर्षको दर्शन मान्ने दल सच्चा कम्युनिस्ट पार्टी हुनैसक्दैन भनी ध्वाङ फुकिरहेका छन्, लेख लेखिरहेका छन् । पुँजीवादी सरकारले शिक्षा र स्वास्थ्योपचार निःशुल्क गरेपछि वर्गसङ्घर्ष किन गर्नुप¥यो भनी उनीहरूले प्रश्न तेस्र्याएका छन् ।
वर्गसङ्घर्ष भनेको विचारधारात्मक राजनीतिक सङ्घर्ष हो । कतिपय कम्युनिस्ट पार्टीहरू पुँजीवादी व्यवस्थामा गएर ऐसआराम गरेर सम्पत्ति कुम्ल्याउने काममा केन्द्रित रहेर शान्तिपूर्ण तरिकाले या संसदीय माध्यमबाटै समाजवाद स्थापना गर्नसक्ने कुरा फुक्छन्, फुकिरहेका छन् । उनीहरू सर्वहारा वर्गीय दृष्टिकोण भुल्छन् र व्यक्तिगत र दलगत स्वार्थमा लाग्छन् । उनीहरू अवसरवादी र संशोधनवादी हुन्छन् । ऐस आराम र सुविधाभोगमा पल्केका उनीहरू देशका बहुमत जनताको सेवामा लाग्दैनन् । किसान–मजदुरको नाउँमा किसान मजदुरमाथि नै शोषण, दमन र रजाइँ गर्छन् । एमाले र माओवादी केन्द्रको राजनीति कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारतर्फ उन्मुख छैन । एकातिर ती दलका नेताहरू कम्युनिस्टको सिद्धान्त र विचार नै प्रचार गर्दैनन् या जनतामाझ पु¥याउँदैनन् भने अर्काेतिर कम्युनिस्टको बखान गरेर कम्युनिस्टकै सिद्धान्त र आचरणको विरोध गर्छन् ।
राजनीतिक विश्लेषकहरू नेपालमा कम्युनिस्ट बलियो छ भन्छन्, कम्युनिस्टहरूको प्रभाव राम्रो छ भन्छन् । तिनै कम्युनिस्ट पार्टीले पटक–पटक सरकारको नेतृत्व गरेको हो । तर, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार देशमा कुनै कार्य भएको देखिँदैन । सरकारको नेतृत्व गर्नेबाहेक अरू काम भएन या पुँजीपति वर्गकै पक्षपोषण भयो । कम्युनिस्ट भनिने सबै दलहरू सच्चा कम्युनिस्ट भएका भए देशको विकास धेरै भइसक्थ्यो, अहिलेको जस्तो भ्रष्टाचार हुँदैनथ्यो, नेता, मन्त्री र सांसदहरू कमिसनमा पल्कँदैनथे, जनताको काममा ढिलासुस्ती हुँदैनथ्यो । भ्रष्टाचारी, कमिसनखोर, आपराधिक व्यक्तिहरूमाथि कडा कारबाही हुन्थ्यो । आदर्शाेन्मुख समाज बनिसक्थ्यो, विधिको शासन हुन्थ्यो, शोषणरहित समाज हुन्थ्यो । बहुमत जनताको हितमा काम हुन्थ्यो । तर, अहिले यो कुनै काम भइरहेको देखिँदैन ।
कम्युनिस्ट भनिने ठूला दलका नेताहरू पुँजीवादी सत्तामा टाँसे र ऐस आराममा भुले । ऐस आराममा भुलेका नेताहरू सत्ता छोड्न चाहँदैनन् । सरकारको नेतृत्व गर्न नपाएपछि या सरकारमा जान नपाएपछि उनीहरू छटपटिन्छन् । सत्तामा जान नपाउँदा राजनीति शिथिल हुने र नेता तथा कार्यकर्ताले पार्टी छोडेर जाने चिन्ता उनीहरूमा छ ।
स्थानीय तहको निर्वाचनमा सिद्धान्तहीन गठबन्धन गर्नुको कारण पनि सत्तामुखी राजनीति नै हो । उनीहरू निर्वाचनलाई वैचारिक र सैद्धान्तिक लडाइँ ठान्दैनन् । जालझेल, नौटङ्की र झूटको खेती गरेर बढी सीट जित्ने, सीटको आधारमा ठूलो दल ठान्ने र त्यसैलाई पार्टीको सच्चाइ आधार मानेर सन्तोष लिने काम गर्न थालेपछि वर्गसङ्घर्षको राजनीति कसरी हुन्छ ? दलको सिद्धान्त र विचार बन्धक राखेर, पाखा लगाएर राजनीति गर्ने अवसरवादी कम्युनिस्टहरूले देशमा आमूल परिवर्तन गर्दैनन्, गर्न चाहँदैनन् । ठूला दलका कम्युनिस्ट भनिने पार्टीहरूले अहिलेसम्म देखाएको चरित्र यही हो । यसबारे देशका सबै सच्चा कम्युनिस्टहरूले चिन्तनमनन गर्नुपर्ने देखिन्छ । देशमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने, कम्युनिस्ट पार्टी कसरी सुदृढ बनाउने र सही मार्गमा लैजाने भन्ने सन्दर्भमा गहन छलफल र चिन्तनमनन गर्नुपर्ने आवश्यकता छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *