भर्खरै :

नेमकिपा इमानको राजनीतिमा विश्वास गर्छ

‘नागरिक’ दैनिक पत्रिकाका सम्पादक गुणराज लुइटेलले २०७९/२/५ गते बिहीबारको नागरिक पत्रिकामा एक लेख लेख्दै ‘नेपाल मजदुर किसान पार्टीबाहेक यो देशमा अरू कुनै पनि दल सिद्धान्तको आधारमा चलेका छैनन्’ भनी मूल्याङ्कन गरेका छन् । उनको मूल्याङ्कन अकाट्य नै त नहोला तर उनीजस्ता पत्रकार, लेखक, बुद्धिजीवी एवम् राजनीतिक विश्लेषकहरूले नेमकिपाको सही या वस्तुगत मूल्याङ्कन समय–समयमा गर्र्दै आएको पाइन्छ । नेमकिपाको सिद्धान्त र कार्यशैलीबारे ‘नागरिक’ पत्रिकाले आफ्नो सम्पादकीयमा पहिले पनि लेखिसकेको छ । नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा आत्मसात गर्दै अगाडि बढिरहेको पार्टी हो । यसले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घसंस्थाभित्र पसेर देश र जनताको सेवा गर्न सकिन्छ भन्ने लेनिनवाद नीतिअनुसार जनताको सेवा गर्दै आएको छ । यसले देशमा आमूल परिवर्तनको निम्ति जग बनाउने काम गरिरहेको जनताले अनुभव गरिरहेका छन् ।
पञ्चायतकालमा गाउँ पञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत, राष्ट्रिय पञ्चायतमा पसेर नेमकिपाले देश र जनताको सेवा गरेको इतिहास छ । पञ्चायतकालमा भक्तपुर नगर पञ्चायतले भक्तपुरमा निमावि तहसम्म निःशुल्क पढ्ने व्यवस्था गरेको थियो । २०४४÷४५ सालतिरै साक्षरता अभियान चलाएर निरक्षर दाजुभाइ तथा दिदीबहिनीहरूलाई साक्षर बनाएको थियो । त्यसबेलै नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले भक्तपुरका जनताको साथ र सहयोगमा आफै कुचो, साबेल, गाडा समाएर, चुन छर्केर सफाइ आन्दोलन चलाएका थिए । त्यसैको परिणाम आज भक्तपुर शिक्षा, स्वास्थ्य, सरसफाइमा ‘ख्वप मोडल’ बनेको छ । पञ्चायत व्यवस्थाभित्र पसेर जनताको निःस्वार्थ सेवा गर्दै पञ्चायतको खोटलाई नेमकिपाले उदाङ्ग्याएको थियो । यो काम पञ्चहरूलाई सहज भएन र षड्यन्त्र भयो । परिणामतः २०४५ सालमा भक्तपुर काण्ड भयो । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँलगायत धेरै नेता, कार्यकर्ता तथा समर्थकहरूलाई फसाइयो । सबैलाई यातना दिइयो । तर, सच्चा कार्यकर्ताहरू सिद्धान्त र विचारबाट विचलित भएनन् । उनीहरू जनताको सेवामा निरन्तर अगाडि बढिरहे ।
नेमकिपाले कहिल्यै घुस खाएन, कमिसन खाएन, भ्रष्टाचार गरेन । उसले विकास निर्माणको काम जनताको सहभागितामा उपभोक्ता समितिमार्फत गराउँथ्यो । त्यसको हिसाब किताब पारदर्शी हुन्थ्यो । हिजो ‘पञ्चायत’ र आज ‘भक्तपुर’ मासिकमार्फत आयव्यय पारदर्शी भइरहेको छ । नेमकिपा इमानको राजनीतिमा विश्वास गर्छ । नेमकिपा विचार र सिद्धान्तको आधारमा राजनीति गर्छ भन्ने कुरा पत्रकार गुणराज लुइँटेलले ‘नागरिक’ दैनिकमा लेखिसकेका छन् । उनले नेपाली काङ्ग्रेस, एमाले, माओवादी आदिको नाम फरक–फरक भए पनि काम (पुँजीवादी) एकै किसिमको भएको उल्लेख गरेका छन् । नेमकिपाले कम्युनिस्ट भनिएका एमाले, माओवादी पार्टीको गलत नीति र कार्यको आलोचना गर्दै आएको हो ।
नेपाली काङ्ग्रेसका नेता गगन थापाले देशघाती एमसीसी सम्झौता पास गरेको दिन २०७८ फागुन १३ गते संसद्मा ‘यो एमसीसी सम्झौतामा आजसम्म सरकारमा नगएको नेपाल मजदुर किसान पार्टी एउटाबाहेक अरू सबै दलको ल्याप्चे वा दस्तखत छन् भनेका थिए । उनले शासक दलहरूले यसको विरोधमा बोल्नुको तुक छैन, उनीहरू भित्रभित्र यसको कार्यान्वयनमा र प्रक्रियामा अगाडि बढाउनमा सही गर्ने अनि बाहिर सडकमा जनताको आँखामा छारो हाल्न, जनताको नजरबाट बच्न आफ्ना कार्यकर्ताहरूलाई नारा जुलुस, तोडफोड गर्न लगाउने जस्ता द्वैधचरित्र देखाइरहेको आरोप लगाएका थिए । घटनाक्रमले उक्त कुरा देशघाती एमसीसी सम्झौता संसद्बाट बहुमतबाट पास गरेपछि प्रमाणित भयो । यसको अर्थ उनीहरूले देशभक्ति भावनामा आगो लगाई खरानी घसेका छन्, तिनीहरूले देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकता गुम्ने देशघाती एमसीसी सम्झौता गर्न घुँडा टेकेका छन्, एमसीसी सम्झौतामा नेपाल मजदुर किसान पार्टी सुरुदेखि सचेत थियो । यसले देश विदेशमा हुने सबै घटना र परिवर्तनलाई आफ्नो सिद्धान्त र विचारअनुसार केलाउने र मूल्याङ्कन गर्दै आएको छ । नेमकिपाले सही कुराको समर्थन र गलतको कुराको विरोध गर्दै आएको छ । यो एमसीसी सम्झौता नेपाल र एसियाकै हितविपरीत थियो । नेमकिपाका सांसद प्रेम सुवालले संसद्मा एक्लै भए पनि एमसीसीको विरोधमा आवाज उठाइरहेको सबैले देखेकै हुन् । उनले शासक दलहरूलाई खबरदारी र सचेत गरिरहेका थिए । नेमकिपाले यसको विरोधमा सभा र जुलुसहरू गरेको थियो । यसले रत्नपार्कदेखि विरोध पैदल जुलुस गरेर महाराजगञ्जस्थित अमेरिकी दूतावासमा विरोध पत्र दिएको थियो । देशको ४० भन्दा बढी जिल्लामा १०० भन्दा बढी ठाउँमा यसले विरोध ¥याली र सभा गरेर जनतालाई सचेत गर्ने काम गरेको थियो । यसले काठमाडौँको कोटेश्वरदेखि सङ्घीय संसद् भवनस्थलअगाडि बानेश्वरमा सभ्य र भव्य विरोध ¥याली र सभाहरू गरेको थियो ।
स्थानीय तहको निर्वाचनको सन्दर्भमा माओवादीका नेता बाबुराम भट्टराईले भक्तपुरका जनताबाहेक सबै जनताले खराब मान्छेलाई भोट दिन बाध्य छ भनेका छन् । उनको भनाइले पनि छर्लङ्ग छ कि नेमकिपा सही पार्टी हो । सत्तासीन दलले राजनीतिकरूपले फोहोर भएका नेता कार्यकर्ताहरूलाई सफा गर्न सकेन, असल बनाउन सकेन, विदेशी दलाल बन्नबाट जोगाउने काम गर्न सकेन र अनुशासनमा राख्न सकेन । सत्तासीन दलले आफ्ना कार्यकर्ताहरूलाई कम्युनिस्ट सिद्धान्त र विचारबाट दीक्षित गर्ने काम गरेन । आफ्ना नेता कार्यकर्ताहरूलाई चरित्र, इमान, मूल्यमान्यता, जवाफदेहिताको राजनीति सिकाएन । अतः देशभक्तिको राजनीति सबै दलले गर्नु आजको आवश्यकता हो ।
आदर्श समाज बनाउने परिकल्पनाअनुसार यो पार्टी अगाडि बढिरहेको देखिन्छ । यसले आफ्ना नेता कार्यकर्ताहरूलाई विभिन्न छलफल, गोष्ठी, सभा, सम्मेलन, अन्तत्र्रिmया, पत्रपत्रिका, पुस्तकहरू प्रकाशन गरेर शिक्षित र दीक्षित पार्ने काम गर्दै आएको छ । देश र जनताको निःस्वार्थ सेवामा लाग्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई यसले दिनरात लाग्न निर्देशन दिइरहेको छ । सोहीअनुसार जनतालाई राजनीतिक र सांस्कृतिकरूपले विभिन्न कार्यक्रममार्फत शिक्षित र दीक्षित बनाउने काम गरिरहेको सबैले अनुभव गरेकै कुरा हो । नेमकिपाले निर्वाचनमा जनतालाई झूटो आश्वासन बाँड्दैन, कुर्ता साडी बाँड्दैन, डिजेल–पेट्रोल बाँड्दैन, मासु भात खुवाउँदैन, भोज खुवाउँदैन, पैसा बाँड्दैन । भक्तपुरका जनताले सही दल छानेर नेमकिपाका उम्मेदवारहरूलाई जिताए । नेमकिपा र भक्तपुरका जनताले देशको लागि बाटो देखाइरहेका छन्, बत्तीको काम गरिरहेका छन् ।
निर्वाचनताका काठमाडौँ महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विभिन्न सञ्चारमाध्यमले सोधेको प्रश्नको जवाफमा ‘म जितेमा हङकङ सिङ्गापुरजस्तो होइन म काठमाडौँलाई भक्तपुरजस्तो बनाउँछु’ भनेका थिए । यहाँका जनताको सांस्कृतिक स्तर उकास्न, असल बनाउन नेमकिपाले गरिरहेको प्रयासलाई उनले आफ्नो दिमागमा कैद गरेका छन् । त्यसैले उनले कस्तो पार्टी रोज्नु हुन्छ भन्दा नेमकिपाजस्तो राम्रो पार्टी रोज्छु, मन पराउँछु भनेका थिए ।
भनपाका मेयर सुनिल प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरको परिकल्पना गरेर लेख्नुभएको ‘१०० वर्षपछिको भक्तपुर’ भन्ने पुस्तकको परिकल्पनाअनुसार भक्तपुर र यहाँका जनतालाई अगाडि बढाउने काम गरिरहेका छन् । मेयर प्रजापतिले सधैँ जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको भन्दै आएका छन् ।
नेमकिपाले देशको रक्षा, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत हरेक क्षेत्रमा उदाहरणीय काम गरिरहेको राजनीतिक विश्लेषकहरूले भनेका छन् । देशका विभिन्न गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिहरू भक्तपुरको अध्ययन अवलोकन भ्रमण गरी भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र पुनःनिर्माणमा गरेको उल्लेखनीय प्रगतिको अनुभव लिएर गएका छन् । उनीहरूले यहाँको अनुभव लिएर आफ्नो गाउँ, नगरमा शिक्षा, स्वास्थ्य, सम्पदा, सरसफाइजस्ता काम जनताको साथ र सहयोगमा गर्न थालेका छन् । यो नेमकिपा र नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूको देन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *