नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
जन्मनासाथ जर्नेल हुने राणा प्रधानमन्त्रीहरू सधैँ झोले, जुत्ते, हुक्के, छाते इत्यादि सेवकले घेरिएका हुन्थे । त्यसपछिका विभिन्न कालखण्डमा यो देशमा अनेक राजनीतिक व्यवस्था आए । तर, पनि हाम्रा सम्माननीय, माननीय विशिष्ट व्यक्तिहरूको सानमान, सत्कार, सुविधा, सम्मान, सवारीले हामी सर्वसाधारणलाई सास्ती दिइरह्यो, अधिकार खोसिरह्यो । अन्य देशका नेताहरूको सरल र सादगीपूर्ण जीवनशैलीले हामीलाई लोभ्याइरह्यो ।
पछिल्लो समयमा सबभन्दा बढी भ्रष्टाचार भएर बदनाम कमाएको ‘गणतान्त्रिक सङ्घीयताकाल’ को ‘सिंहदरबार’ मा बस्ने अधिकांश स्थानीय सरकार प्रमुख पनि उसरी नै आफ्नै तोकादेश, मर्जी र खटनद्वारा नियुक्त गरिएका सेवकद्वारा घेरिएका हुन्छन् । बस्दा सेवकद्वारा घेरिने र हिँड्दा करोडको गाडी चढ्ने मालिकको जीवनशैली देख्दा, कतिपय प्रशासकीय अधिकृतसमेत टेबुलबाट भुइँमा झरेको कलम टिप्न कार्यालय सहयोगीलाई घण्टी बजाउन जान्ने भएका छन् ।
यसरी नै पाँच वर्ष बित्यो । फेरि अर्को पाँच वर्षका लागि जनप्रतिनिधि छान्ने स्थानीय चुनाव सकियो । यतिखेर हारको समीक्षा र जीतको चर्चा चल्दै छ । असल पार्टीका असल नेताले चुनाव जित्दा स्वतः स्फूर्तरूपमा खुसियाली मनाउनु त राम्रो हो । तर, यहाँ त कतै असल मतदाता भइकन पनि असल उम्मेदवारको अभाव भयो । कतै खराब मतदाताले खराबै नेतालाई जिताए । परिणामतः पुरानै ‘भ्रष्टाचारमा अनुभवी’ नेताले चुनाव जितेर जनप्रतिनिधि भएका छन् जसले हिजोका दिनमा खरीद÷ढुवानीमा कमिसन खाएका थिए । निर्माण तथा मर्मत कार्यमा आफ्नैलाई ठेक्कापट्टा मिलाइदिएर फाइदा लिएका थिए । ठूलो आवाजका साथ विकास गरेको देखाएर पैसा खान सजिलो हुने भएकोले आफ्नै डोजरले बाटो खनेर आफ्नै मनमर्जीले कमाएका थिए । जनताका लागि आएको राहत, आफ्नै कार्यकर्तालाई मन्सिएर ठूलो भागले आफ्नै पेट भरेका थिए । उजुर नपरिकन र नपर्ने गरी पचाउने ‘अनुभवी जनप्रतिनिधि’ को त कुरै भएन । भ्रष्टाचार अभियोगमा मुद्दा खेप्नेहरूले समेत चुनाव जितेर शपथ लिइसके । त्यस्ताहरूको स्वागतका लागि खादा र मालामा लाखौँ रकम विदेसिएको छ । चुनावअघि र चुनावपछिको भोजभतेरको त कुरै नगरौँ । कस्तो विडम्बना !
महँगी नियन्त्रण गर्न असमर्थ केन्द्र सरकार ६५ वर्षमै वृद्धभत्ता दिने तयारी गर्दै छ रे ! कर्मचारीको तलब पनि बढाउने रे ! अनि जीतको उन्मादमा स्थानीय सरकारका जनप्रतिनिधि पनि जथाभावी बोल्न, बताउन र अर्ती–उपदेश दिन थाल्दै छन् । ‘नयाँ काम’ गर्ने घोषणा पनि गर्दै छन् ! कतै विद्यालयमा पोसाक फ्रि रे ! कतै खाजा फ्रि रे ! कतै विद्युत् महसुल फ्रि रे ! हप्तामा दुईदिन बिदा हुने सरकारी निर्णय भएपछि यसकै चौतर्फी आलोचना भइरहेको बेलामा, महिला कर्मचारीलाई महिनावारी हुँदा बिदा दिइने रे ! खानेपानी निःशुल्क, नवजात छोरीलाई निःशुल्क जीवन बीमा रे ! लोकप्रियता हासिल गर्नका लागि दिइने यस्ता हाताहाती कुराले जनतालाई तत्कालीन राहत त देला । तर, यसले हामीलाई अल्छी बनाउने र अर्काको मुख ताक्ने बानी नबसाउला भन्न सकिँदैन । यीभन्दा त आत्मनिर्भरता बढाउने, रोजगारीको सिर्जना गर्ने, आयात घटाएर निर्यात बढाउने, स्थानीय उत्पादन वृद्धि गर्ने, मन्दिर बनाउन छोडेर वातावरण तथा नदीनालाको सफाइ र संरक्षण गर्ने, जनताका काममा ढिलासुस्ती नगर्ने, भ्रष्टाचार शून्यमा झारेर सुशासन कायम गर्नेतर्फ योजना बनाएर काम थाल्नुपर्ने होइन र !
विगत पाँच वर्षको अवधिमा भक्तपुरलगायत केही नगरपालिकाले उदाहरणीय काम गरेका हुन् । तर, तिनको सिको अरूले गरेनन्, आफ्नो बानी सुधारेर राम्रो काम गर्नै चाहेनन् । यो चुनावबाट पनि काठमाडौँ, जनकपुर, धरान, धनगढीजस्ता नगरपालिकामा स्वतन्त्र र उत्साही उम्मेदवारहरू स्थानीय सरकारको नेतृत्वका लागि छानिएका छन् । जनतामा उनीहरूप्रति ठूलो आशा पनि जागेको छ ।
तर, एउटा कथाअनुसार, टाढाटाढासम्म उड्न सक्ने तालिम पाएर पनि गरुडका बच्चाहरू थोरै उचाइमा उड्दै फेरि फर्केर रूखकै हाँगामा बस्न थालेपछि एकजना किसानले त्यो हाँगै काटिदिएपछि बल्ल ती बच्चाले लामो उडान भर्न सकेका थिए रे । त्यस्तै, तीनतीन तहको सरकार, अनावश्यक जनप्रतिनिधि, तिनलाई उपलब्ध गराइने सेवा सुविधा र संस्थागत गरिएको भ्रष्टाचारका सुविधारूपी जाल र हाँगाहरू नकाटेसम्म यहाँ एकदुईजना असल व्यक्तिले केही असल काम गर्दैमा सदाचार र सुशासनको उडान हुनेवाला छैन ।
त्यसैले, देश सिध्याउन चाहने देशघातीहरूको एकता भइसकेको यो बेलामा देश बचाउन देशभक्तहरूको आन्दोलन आजको आवश्यकता हो ।
Leave a Reply