भर्खरै :

शपथग्रहण : पार्टीको घोषणापत्र कार्यान्वयनमा जोड देऔँ !

स्थानीय तहको निर्वाचन २०७९ मा नेपाल मजदुर किसान पार्टीलाई मत दिनुहुने सबै नगरवासीहरूलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु । नगरवासीहरूले नेमकिपाको घोषणापत्रलाई विश्वास गर्नुभई मादल चिह्नमा छाप लगाउनुभएको छ । नेमकिपाको चुनाव चिह्न मादलबाट निर्वाचित जनप्रतिनिधिहरूले जनतासामु पार्टीको घोषणापत्रलाई पूरा गर्ने शपथ गर्नुभएको हो । हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले नगरवासीहरूको विश्वासलाई थप मजबुत हुने गरी सेवा गर्नु आवश्यक छ ।
स्थानीय तहमा हाम्रा जनप्रतिनिधि विसं २०१९÷२० सालदेखिको निरन्तरता हो । पार्टीले हाम्रा जनप्रतिनिधिलाई एम्बुलेन्स र दमकलजस्तै विलम्ब नगरी जनताको सेवा गर्न उत्साहित गरेको छ ।
नेपालको समाचार माध्यममा राम्रो खबर प्रकाशित भइरहेको छैन । नगरपालिका र गाउँपालिकाहरूको फोहरमैलासमेत व्यवस्थापन भइरहेको छैन । राजधानी काठमाडौँको अवस्था यस्तै छ । खानेपानीको समस्या पनि बल्झिरहेको छ । मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउने चर्चा भएको ३० वर्ष भयो । मेलम्चीको खानेपानी काठमाडौँमा वितरण भएपछि यहाँका बासिन्दाले कति महसुल तिर्नुपर्ने होला र कति महँगो होला ? किनभने, मेलम्ची आयोजनाको लागि खर्बौँ रुपियाँ विदेशी ऋण ल्याइएको छ ।
देशको सन्तुलित विकास नहुँदा काठमाडौँ उपत्यकामा बसाइँ–सराइँ बढ्यो । खानेपानीको समस्या यसैकारण बढ्यो । काठमाडौँ विश्वकै पहिलो प्रदूषित ठाउँ पनि बन्यो । प्रदूषणले मुटु, फोक्सो, मिर्गौलाजस्ता रोगी बढाउनेछ । मानव बस्तीको बीचमा परेको ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण गरी यहाँको हस्तकलामा आधारित साना उद्योगहरू सञ्चालन गर्ने हाम्रो पार्टी घोषणापत्रलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नु आवश्यक छ । देको–मिबा–इतापाको आयोजनासमेत सम्बन्धित जग्गाधनीहरूको हित हुने गरी सम्पन्न हुनुपर्ने जनताको आवाजलाई पनि नगरपालिकाले प्राथमिकतामा राख्नु जरुरी छ ।
श्रीलङ्काको सरकारले ३० वर्षयता आन्तरिक उत्पादनलाई ध्यान दिएनन् । विदेशी ऋण ल्याउँदै आपूर्ति व्यवस्था गरिँदा आज श्रीलङ्का ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो । भारतीय सञ्चारमाध्यममा श्रीलङ्का चीनको ऋण पासोमा डुबेको झूटा समाचार प्रकाशित गरियो । श्रीलङ्कामा चीनको ऋण १० प्रतिशत छ, अन्य देशको ऋण ९० प्रतिशत हो । चीनले श्रीलङ्कालाई धेरै अनुदान र सहयोग गरेकोलाई लुकाइएको छ ।
सङ्घीय संसद्मा जेठ ३ गतेदेखि आव २०७९÷८० को बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल भइरहेको छ । नीति–कार्यक्रम र बजेट पनि पेश हुँदै छ । सञ्चारमाध्यममा दिशाहीन र अमूर्त सिद्धान्त एवम् प्राथमिकता भएको समाचार प्रकाशित भइरहेको छ ।
पञ्चायती सरकारले जस्तै बहुदल र गणतन्त्रका सरकारहरूले पनि कृषिलाई प्राथमिकता दिँदै आएका छन् । तर, चामल, दाल, तरकारी, फलफुललगायत अधिकांश खाद्यान्न भारतबाट किनेर खानुपर्ने अवस्था भयो । आजसम्मका सरकारहरूले रासायनिक मल कारखाना खोल्न सकेनन् । यस वर्षको रोपाइँ सुरु हुँदै छ । सधैँझैँ रासायनिक मलको अभाव छ । संसद्मा हिजो कृषिमन्त्री महिन्द्रा राय यादव भेट भयो । हामीले रासायनिक मल उपलब्ध नभएको बारे जिज्ञासा राख्यौँ । कृषिमन्त्री यादवले रासायनिक मल खरिद गर्न मन्त्रालयमा २७ अर्ब रुपियाँ बजेट भएको तर खरिद गर्न नसकेको लाचारी प्रकट गरे । भएको बजेटबाट समयमा मल किन्नसमेत नसक्ने सरकारहरू नेपालमा आवश्यक छैन । समयमै रासायनिक मलको व्यवस्था गर्न हामी सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छौँ ।
हाम्रा जनप्रतिनिधिहरूले कुराभन्दा काम बढी गरेर जनताको सेवा गर्नु जरुरी छ । भित्री मनदेखि जनताको सेवा गर्नु जरुरी छ । जनप्रतिनिधिहरूले दिक्क नमानी जनताको सेवा गर्नु आवश्यक छ । हाम्रा कर्मचारीहरू पनि जागीर खानेमात्र होइन सेवाभावले लाग्नु आवश्यक छ । सम्बन्धित सरकारी कार्यालयसँग समन्वय र परामर्शमा जनप्रतिनिधिहरूले जनताको बढीभन्दा बढी सेवा गर्नु जरुरी छ ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न नेपाल मजदुर किसान पार्टी लागिप¥यो । समाचारअनुसार सरकारमा गएका दलहरूले नै आचारसंहिता उल्लङ्घन गरे । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने काम ती पार्टीहरूले नै गरे । भारतीय नम्बर प्लेटको गाडी चुनावमा प्रयोग गर्ने पनि शासक दलहरू नै भए ।
हामीले निर्वाचनमा सिद्धान्तहीन गठबन्धनको पनि विरोध ग¥यौँ । राजनीतिक पार्टीहरू निश्चित दर्शन र सिद्धान्तको आधारमा गठन भएका हुन्छन् । राजनीति सबै नीतिको मूल नीति हो । यसकारण, राजनीतिक पार्टी सिद्धान्तनिष्ठ हुनु आवश्यक छ । सिद्धान्तहीन गठबन्धनको कारण राजनीतिमा अपराधीकरण बढ्यो र मतगणनासमेत कठिन भयो अर्थात् लम्बियो ।
संरा अमेरिकाको चुनावमा विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गरिँदा धाँधली (ह्याकिङ) भएको समाचार थियो । निर्वाचन आयोगको बैठकमा विद्युतीय मतदान मेसिन प्रयोगबारे छलफल भयो तर धाँधलीको सम्भावना भएको विषय उठेपछि यहाँ कार्यान्वयन गरिएको छैन ।
मनोनयन दर्तामा पनि धेरै समय लाग्यो । विद्युतीय माध्यममार्फत मनोनयन दर्ताको व्यवस्था गर्नु जरुरी छ । कतिपय मतदान केन्द्रलाई व्यवस्थित गर्नुपर्ने वा अव्यवस्थितलाई पायक पर्ने ठाउँमा स्थानान्तरण गर्नु उचित हुन्छ ।
अघिल्ला निर्वाचनमा मतपत्रसमेत चपाइएको हुँदा यसपालि देशभरिको मतगणना तारजालीभित्र गरियो । तर, ओखलढुङ्गाको मतगणनामा तार जालीबाट हात पसाएर मतपत्र च्यातिएको पनि खबर छ ।
जनप्रतिनिधिमा निर्वाचित हुनु उद्योग–व्यापारमा लगानी होइन । भौतिक विकास दोस्रो हो, सांस्कृतिक विकासलाई प्राथमिकतामा राख्नु आवश्यक छ । यही भावनाअनुसार हाम्रा प्रतिनिधिहरू अघि बढ्नु हुनेछ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकामा निवाचित जनप्रतिनिधिहरूको २०७९ जेठ ५ गते भएको शपथग्रहण कार्यक्रममा दिनुभएको मन्तव्यको सार – सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *