लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
समाज वर्गमा विभाजित छ । हरेक व्यक्ति प्रत्यक्ष या अप्रत्यक्षरूपमा एउटा न एउटा वर्गमा पर्छ । हरेक वर्गले आफ्नो वर्गको विचारधाराको प्रतिनिधित्व गरेको हुन्छ । पुरानो समाजमा सामन्ती, जमिनदार, पँुजीपति र साम्राज्यवादीहरूले मजदुर, किसान, शोषित पीडित जनतालाई शोषण र थिचोमिचो गरिरहेका हुन्छन् । तिनीहरू श्रमजीवी वर्गमाथि शोषण गरेर सत्तामा बसेर रजाइँ गरिरहेका हुन्छन् । तिनीहरू धर्म, प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताको बखान गरेर जनतालाई थिचोमिचो गरिरहेका हुन्छन् । नेपालमा आन्दोलनबाट गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापना भएको पनि १५ वर्ष भयो । तर, गणतन्त्र स्थापना भए पनि आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ सरकारले ध्यान दिएको देखिँदैन, जनतामा राहतको अनुभूति भएको देखिँदैन । व्यवस्था बदल्यो तर शासन शैली र कार्यनीति जस्ताको तस्तै रह्यो ।
सङ्घीय गणतन्त्र पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाले श्रमजीवी वर्गको हित गर्दैन । थिचोमिचो र शोषण अन्त्य भएको छैन । देशमा कम्युनिस्ट पार्टीको स्थापना यस्तै शोषण, दमन, थिचोमिचो, भ्रष्टाचार, अनियमितता अन्त्य गरेर बहुमत जनताको सेवा गर्न भएको हो । पुरानो समाजको संरचना फेरेर नयाँ संरचना निर्माण गर्न नै देशमा कम्युनिस्ट पार्टीहरूको खाँचो भएको हो । शोषणरहित समाजको स्थापना कम्युनिस्ट पार्टीले मात्रै गर्नसक्छ । सामन्त र पुँजीपतिहरूको हित हेर्ने सरकारले शोषणरहित समाज स्थापना गर्दैन ।
पुरानो समाजलाई नयाँ समाजमा फेर्न त्यति सजिलो छैन । तर, कम्युनिस्टहरू त्यो समाज फेर्न निरन्तर लागिरहन्छन् । कम्युनिस्टहरू शोषणको जरै उखेल्न चाहन्छन्, सामन्तवाद, पुँजीवादको अन्त्य गरेर गणतन्त्रात्मक समाजवाद ल्याउन निरन्तर सङ्घर्ष गर्छन् । त्यो समाजवाद ल्याउन क्रान्ति गर्नुपर्छ । त्यसको लागि व्यापक जनतालाई सचेत र सङ्गठित बनाइनुपर्छ । नेमकिपाले यही काम गर्दै छ । पार्टी कार्यकर्ताहरू पार्टीको अनुशासनमा बस्नुपर्छ, पार्टीको कार्यदिशा र नीतिहरू कार्यान्वित गर्नुपर्छ । पार्टी कार्यकर्ताले श्रमजीवी वर्गको हितलाई आफ्नो हितभन्दा माथि राख्नुपर्छ, जनताको सेवामा लाग्नुपर्छ, जनताको सेवाको लागि सङ्घर्ष गर्नुपर्छ । यसका लागि कार्यकर्तामा सैद्धान्तिकस्तर उठाइनुपर्छ, विचारबाट सुसूचित हुनुपर्छ, हरेक कुरामा दृष्टान्त बन्नुपर्छ । यसकारण, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ अध्ययनमा जोड दिन्छन्, नेता तथा कार्यकर्तालाई अध्ययन गर्न निर्देशन दिन्छन् ।
भियतनामका राष्ट्रपति होचि मिन्हको भनाइ छ– अध्ययन गर्नुपर्छ, बारम्बार अध्ययन गर्नुपर्छ र सधैँ अध्ययन गर्नुपर्छ । सिद्धान्त र व्यवहारमा एकरूपता हुनुपर्छ । जनतालाई दासता, रोग र भोकबाट मुक्त गर्न हामी सबैले परिश्रम गर्नुपर्छ । पार्टी कार्यकर्ताहरू देशप्रति निष्ठावान र जनताप्रति कर्तव्यपरायण हुनुपर्छ । यही जिम्मेवारी नेमकिपाले बहन गरिरहेको हो । नेमकिपाले अहिले सदन र सडकमा कम्तीमा संविधानमा उल्लेख भएबमोजिम समाजवादउन्मुख बजेट, नीति तथा कार्यक्रम ल्याएर देश र जनताको सेवा गर्न सङ्घर्ष गरिरहेको हो ।
Leave a Reply