अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
२०७९ जेठ १४ गते, शनिबार
गएको चार वर्ष र यो वर्षको बजेट या विनियोजन विधेयकलाई हामीले ध्यान दिने हो भने लगभग पाँच वर्षमा ३ खर्ब बराबरको बजेट प्रस्तुत गर्दै छौँ । ३ खर्बले के कति आउँछ ? जनताको चासो यहीँनिर छ । गएको चार वर्ष र यस वर्षमा यो प्रदेशमा कतिवटा विद्यालय, कतिवटा स्वास्थ्यचौकी र कतिवटा अस्पताल बन्दै छन् भन्ने कुरा जनताको चासो र जिज्ञासाको विषय हो । हामीले यी तथ्य र तथ्याङ्कमा हामी शून्यको स्थितिमा छौँ भने अहिलेसम्मका सबै शासक दलहरू र सरकारहरू त्यसका निम्ति जिम्मेवार छन् भन्ने फैसला जरुर जनताले गर्नेछन् । हामीले कृषि उत्पादन, औद्योगिक उत्पादनमा हाम्रो प्रदेशमा के कसरी जग हाल्यौँ यो पनि आज हामीले जवाफ दिनैपर्छ । विगत चार वर्ष सरकारमा बस्ने र अहिले सरकार चलाउँदै गरेका शासक दलहरूले कृषि उत्पादन, औद्योगिक उत्पादनमा हामी कहाँ छौँ ? शिक्षा, स्वास्थ्यमा कहाँ छौँ ? यी प्रश्नहरूको जवाफ दिन नसकेको खण्डमा असफल सावित हुनेछन् । साथसाथै अहिले हामी तीन टाउके प्रदेश सरकार हेरिरहेका छौँ । एक टाउके हुँदा पनि यहाँ काम बनेन, तीन टाउके सरकार बन्दा पनि काम बनेन भने जनताले शासक दलहरूको यथोचित कसरी मूल्याङ्कन गर्नेछन् । परीक्षाको घडी पनि जिक आउँदै छ ।
अहिले हामी छलफलमा भाग लिइरहँदा यहाँ शिक्षा प्राथमिकतामा राखिएको चर्चा चल्यो । तर, अहिलेसम्म नेपालको इतिहासमा सामुदायिक विद्यालयमा शिक्षकको अभाव कायम छ । शिक्षकको आपूर्ति भइरहेको छैन । पाठ्यपुस्तकको आपूर्ति भइरहेको छैन । विद्यालयमा सामान्य कर्मचारीदेखि लिएर सहयोगीसमेतको बन्दोबस्त यो गणतन्त्रमा समेत हुन सकेन । के कारणले भयो ? यतातर्फ पनि ध्यान जान आवश्यक छ । सामुदायिक विद्यालयको भौतिक अवस्था पनि उस्तै छ । हिजोको पञ्चायतकालमा र यो गणतन्त्रकालमा पनि यी विषयहरूमा सरकारको ध्यान पुगेन ।
विनियोजन विधेयक पाण्डुराको बाकस नबनोस् । सारा असुविधाहरू, सारा असन्तुष्टिहरू, सारा दुःखकष्टहरू आउने खालको नबनोस् । अग्रिम हाम्रो शुभेच्छा छ । साथसाथै बजेटसँगसँगै शासक दलहरूबीच काटाकाट र मारामारको स्थिति नआओस् । त्यो पनि हाम्रो शुभेच्छा छ । जुन हामीले विगतमा देख्यौँ । भाँडभैलोबीच यो प्रदेश सभाको पाँच वर्ष बित्दैछ र कमसेकम यो अन्तिम बजेटबाट एउटा आशाको झिल्को या सङ्केत दिन सकेनौँ भने शासक दलहरूको अकर्मण्यता, शासक दलहरूको नालायकीपन, शासक दलहरूको असफलता छताछुल्ल हुनेछ । जनताको केही भए पनि अपेक्षा र आवश्यकता सम्बोधन होस् भन्ने हाम्रो शुभेच्छा छ ।
Leave a Reply