भर्खरै :

‘श्रमिक’ र ‘मजदुर’ पत्रिकामा धूमपानसम्बन्धी विज्ञापन निषेध

सिङ्गो नेपाललाई धूमपान निषेधित क्षेत्र घोषणा गर्न सायद अहिले सम्भव छैन । तर, धूमपान निषेधित क्षेत्रको सङ्ख्या बढाउँदै धूमपान गर्ने कामलाई निरुत्साहित गर्दै जानुपर्छ । धूमपानकै कारण प्रत्येक वर्ष क्यान्सरका रोगीहरूको मृत्यु सङ्ख्या बढिरहेको बेला मनाइएको विश्व धूमपानविरोधी दिवसमा सरकारले कुनै न कुनै सन्देश छरेर नेपाली जनतालाई राहत पु¥याउनुपर्छ । धूमपानविरोधी दिवस मनाउने तर त्योसम्बन्धी कुनै निर्णय नगर्दा दिवस मनाउनु र नमनाउनुको अर्थ के रहन्छ ?
सरकारले एक समय धूमपान निषेधित क्षेत्र निर्धारण गर्दै धूमपानविरोधी गतिविधि अघि बढाएको हो । सरकारको त्यो निर्णय व्यवहारमा लागु भएन । लागु भएको छ छैन कुनै अनुगमन पनि भएन । धूमपानविरोधी दिवसको अवसरमा सरकारले कमसेकम स्वास्थ्य क्षेत्रका सम्पूर्ण निकायहरू (स्वास्थ्य केन्द्रदेखि अस्पताल), देशभरिका शैक्षिक संस्था (विद्यालयदेखि विश्वविद्यालय), सरकारी सङ्घ संस्था या कार्यालयहरूमा धूमपान निषेध गर्नु आवश्यक छ ।
सरकारले धूमपान निषेध क्षेत्र घोषणामात्र गर्ने होइन, त्यसलाई लागु गर्नुपर्छ, लागु गर्न अनुगमन गर्नुपर्छ र पटक–पटकको सुझाव उल्लङ्घन भएमा कारबाहीको प्रक्रिया पनि अघि बढाउनुपर्छ । तर, सरकार कहिले नियम बनाउन आनाकानी गर्छ त कहिले नियम बनाएर पनि लागु गर्दैन । निर्णय लागु भएमात्र सरकारले गरेको कामको सही मूल्याङ्कन हुन्छ । सरकारले सञ्चारमाध्यममा पनि धूमपानको विज्ञापन नगर्ने निर्णय गरेको थियो । त्यो निर्णय पनि लामो समय टिकेन । विभिन्न सञ्चारमाध्यम या पत्रपत्रिकामा धूमपानसम्बन्धी विज्ञापन छाप्ने काम रोकिएन । तर, देश र जनतामा समर्पित विचारप्रधान साप्ताहिक ‘श्रमिक’ र दैनिक ‘मजदुर’ ले सुरुदेखि अहिलेसम्म धूमपान र लागूऔषधसम्बन्धी विज्ञापन छापेका छैनन् । साप्ताहिक ‘श्रमिक’ र दैनिक ‘मजदुर’ ले आर्थिक सहयोग पाउने लोभमा धूमपान र लागूऔषधको विज्ञापन छापेनन् । ‘श्रमिक’ र ‘मजदुर’ दैनिककै उक्त कार्यलाई आत्मसात गरेर सरकारले सञ्चारमाध्यममा धूमपानसम्बन्धी विज्ञापन नछाप्ने निर्णय ग¥यो । त्यस निर्णयलाई लागु गर्न निरन्तर कोसिस भइरहनुपर्ने हो । तर भएन । पछि निषेधित क्षेत्रमा धूमपान गर्न थाल्यो र सञ्चारमाध्यममा पनि विज्ञापन छापिन थाल्यो ।
क्यान्सरबाट बच्न र बचाउन धूमपान गर्ने कामलाई हतोत्साही गर्नुपर्ने समयको आवश्यकता हो । धूमपानकै कारण क्यान्सर लागेर नेपाली जनताको करोडौँ अरबौँ रकम खर्च भइरहेको छ । नेपालमा २५ हजारभन्दा बढीको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण भएको छ । सुर्तीजन्य पदार्थ सेवनकै कारण मुटुसम्बन्धी रोग, उच्च रक्तचाप, मस्तिष्कघात आदि रोग हुन्छ । यसले मुख, घाँटी, खाना नली, पिसाबको थैली र पाठेघरमा जोखिम बढ्छ । यसबाट बचाउन सरकार र सत्तासीन दलका नेताहरूले पाइला चाल्नुपर्छ । प्रजग कोरियाका कुनै पनि कोरियाली महिलाहरू चुरोट सेवन गर्दैनन् । यो विश्वकै लागि उदाहरणीय शिक्षा हो । प्रजग कोरियाका जनता स्वच्छ, स्वस्थ हुनुको कारण पनि धूमपान सेवनमा निषेध हुनु हो । प्रजग कोरियालाई संसारकै सबभन्दा सफा देश मानिन्छ । अर्थात्, प्रजग कोरिया संसारकै सफा सुग्घरको देश हो । अतः विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसमा चुरोट, बिँडी, तमाखु, पानपराग आदिको सेवनमा निरुत्साहित गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *