यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर क्यान्सर अस्पताल भक्तपुरवासीहरूको लागि मात्र होइन, सारा नेपाली जनताकै लागि गौरवको विषय हो । यहाँ देशका विभिन्न जिल्लाका बिरामीहरूको सस्तो र सुलभ उपचार भइरहेको छ । विगतमा नेपाल अर्बुद रोग निवारण संस्था नामको एक गैससले कब्जा गरी मनपरी ढङ्गले चलाइराखेको अस्पताल त्यही अस्पतालका चिकित्सक, कर्मचारी, कामदार, सरोकारवालाहरू, स्थानीय सरकार र बासिन्दाको सङ्घर्षको परिणतिस्वरूप २०७७ कार्तिक २३ गतेदेखि नेपाल सरकार मातहत रहने गरी भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरी सञ्चालन हुँदै आएको सर्वविदित्तै छ ।
विगतमा अस्पताल व्यवस्थापन समितिको नाममा नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरूले कमिसन र भ्रष्टाचारको थलो बनाउँदै आएको अस्पतालमा नेपाल सरकारमातहत आइसकेपछि सेवा प्रवाहको क्षेत्रमा अझ सुधार र व्यापकता आएको छ । आर्थिक सङ्कटमा पुग्न लागेको अस्पताल अहिले पूर्णतः सङ्कटमुक्त रहेको बताइएको छ । पूर्वाधार अभाव आज पनि अस्पतालले सामना गरिरहेका समस्यामध्ये एक रहेको छ । तर, अहिलेको अस्पतालको मुख्य समस्या पूर्वाधार अभाव होइन बरु केही डाक्टरहरूको अनुशासनहीनता वा स्वेच्छाचारिता रहेको अस्पतालमा उपचाररत र उपचार गर्न आउने बिरामी र बिरामीका आफन्तहरूको रहेको छ । केही डाक्टरहरू समयमा नै अस्पताल आइनपुग्ने, भर्ना भएका बिरामीहरूले पनि कुनै कुनै दिन घण्टौँ पर्खनुपर्ने, ओपीडीमा बिरामीहरूलाई घण्टौँ पर्खाएर डाक्टरहरू क्यान्टिनमा वा अस्पताल वरपरका रेष्टुरेन्टमा आराम फर्माएर बस्ने गरेको पाइएको र सुनिएको छ । अस्पताल प्रशासनमा गुनासो गर्न जाँदा डाक्टरसाब आउनुहुन्छ, एकक्षण पर्खनुस् न है भन्दा अर्को कुनै जवाफ नपाइने भुक्तभोगीहरूको अनुभव छ ।
त्यसरी अस्पतालको नियम र बिरामीप्रतिको दायित्वप्रति हेलचक्र्याइँ गर्ने चिकित्सकहरूले अस्पतालभित्रै सङ्गठन बनाउने, नियम र विनियमविपरीतका छुट माग गर्ने, अस्पतालका कार्यकारी निर्देशकलाई नै दबाब दिने, नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरूको इसाराअनुसार चल्ने, सत्तासीन दलका विभिन्न नेता र सांसदहरूसित भेटघाट गर्ने र त्यसैलाई आफ्नो शक्तिकेन्द्रहरूसितको घनिष्ठ सम्बन्धको रूपमा धक्कु लगाउने गरिरहेको देखिएको र सुनिएको छ । केही डाक्टरहरूको अनुशासनहीनतालाई अस्पताल प्रशासन निरीह र मूकदर्शक बनी बस्ने हो भने, नियम र अनुशासन पालना गराउन नसक्ने हो भने अस्पतालमा अरूले पनि अनुशासनहीन बन्ने निहुँ पाउने र अस्पतालमा अराजकता सिर्जना भएर हालसम्मका उपलब्धिहरू गुम्ने सम्भावना छ । के आफ्नो अस्पतालमा काम गर्ने डाक्टर र कर्मचारीहरूलाई पनि नियम, विनियम र अनुशासनभित्र राख्न नसक्ने गरी भक्तपुर क्यान्सर अस्पतालमा प्रशासन कमजोर भएको हो ? होइन भने निर्देशकदेखि तल्लो तहका कामदारसम्मले आ–आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ र नगर्नेहरूमाथि ऐननियमअनुसार कारबाही गर्नुपर्छ । अस्पतालको सेवा बिनाझन्झट प्रवाह हुने र बिरामीहरूले समयमै उपचार सेवा पाउने सुनिश्चित गर्नुपर्छ ।
Leave a Reply