भर्खरै :

देशको मुहार फेर्न वैचारिक क्रान्ति आवश्यक

कुनै पनि देशको मुहार फेर्न वैचारिक, प्राविधिक र आर्थिक क्रान्ति गर्नु आवश्यक छ । जनता सिद्धान्त र विचारबाट सुसूचित नभइकन आमूल परिवर्तन सम्भव छैन । यही कारण नेपाल मजदुर किसान पार्टीले निर्वाचन होस् या अन्य कुनै पनि कार्यक्रममा सिद्धान्त र विचारबारे आफ्नो धारणा राख्छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे प्रशिक्षित गराउने राजनीतिक कक्षा सञ्चालन गर्छ । पद, पैसा, शक्तिले ठूलो दल बनाउन सक्ला, सरकारको नेतृत्व गर्ला तर त्यसले कामदार वर्गको पक्ष या हितमा काम गर्दैन, गरिरहेको छैन । रोपाइँको समयमा पनि नेकाको नेतृत्वमा बनेको सरकारले किन रासायनिक मलको व्यवस्था गर्न सकेन ?
सत्तासीन दलका नेताहरू अहिले पनि जनताको सेवा, सुविधा र देश विकासमा होइन फेरि अर्काे निर्वाचनको लागि गठबन्धनको तयारी गर्दै छन् । सत्तारुढ दलभित्रकै नेताहरूले एकले अर्काेलाई शङ्काले हेर्न थालेका छन् र एमालेझैँ नेका पनि अहङ्कार भए पाखा लगाउने कुरा खोक्न थालेका छन् । सत्ता, शक्ति र पदमा भुलेकै कारण उनीहरूले देशमा दिशा निर्देश गर्न नसकेका हुन् । उनीहरू गरिबी, अशिक्षा, शोषण, भ्रष्टाचार, कुशासनको अन्त्य गर्नेतर्फ चासो नै राख्दैनन् । उहिलेदेखि अहिलेसम्म सत्तासीन दलका नेताहरूको ध्यान भागबन्डा र सत्तामुखी राजनीतिमा नै अल्झिरह्यो । देश बदल्नु छ भने नेताहरूमा दूरदृष्टि हुनुपर्छ, देश र जनताप्रति जिम्मेवार हुनुपर्छ, देशलाई सधैँ स्वाधीन र सार्वभौम बनाइरहने देशभक्तिको भावना हुनुपर्छ ।
हो, अहिले देशमा महँगी र भ्रष्टाचार व्याप्त छ । सुशासन होइन कुशासन छ । जसरी भए पनि निर्वाचनमा जित्न दलहरू गठबन्धनमा जुटेका छन् । सारमा, सरकारको नेतृत्व गर्ने दल सक्षम छैन । असक्षम नेतृत्वलाई हटाउने एक उपाय निर्वाचन हो । अचेतित भएका कारण तिनै देशघाती, असक्षम या असफल सरकार चलाउने नेताहरूलाई जनता निर्वाचित गर्छन् । स्थानीय तहको निर्वाचनमा जनताले एमसीसी सम्झौता पारित गर्ने देशघाती दलहरूलाई नै बढी जिताए । देशघाती दलहरूलाई बढी रोज्नुको कारण जनतामा अझै राजनीतिक चेतनाको कमी छ भन्ने थाहा हुन्छ ।
सरकार, पार्टी, सेना, कर्मचारी र जनता चेतित भएको देशमा यस्तो हुँदैन । त्यस्तो देशका सरकार र सत्तासीन दलले जनताका हरेक काममा सहयोग गरेका हुन्छन्, हरेक सङ्कटमा साथ दिएका हुन्छन् । त्यस्तो सरकार बलियो हुन्छ र जनताप्रति केन्द्रित हुन्छ । तर, नेपालमा जुनसुकै दलको नेतृत्वमा सरकार पुगे पनि कुनै मौलिक परिवर्तन भएन, भ्रष्टहरूलाई पाखा लगाउन सकिएन, दोषीहरू दण्डित भएनन् । गाउँ–ठाउँमा चेतना फैलाउन सकिएन । अरू देशले सीमा मिचे पनि, नेपाली भूमि डुवानमा पर्ने गरी बाँध बनाए पनि सरकार नै मौन भएपछि जनता जागरुक हुन्छ कसरी ¤
देशलाई ठाउँमा ल्याउन राजनीतिलाई दिशा निर्देश गर्नुपर्ने हुन्छ । जनचेतना अभियानमा जोड दिनुपर्ने हुन्छ । जनता नबुझिकन, नउठिकन देशमा आमूल परिवर्तन असम्भव हुन्छ । परिवर्तन नै भए पनि त्यो क्षणिक हुन्छ । जनताले जहिलेसम्म असफल नेतृत्वलाई फाल्दैनन्, तबसम्म नेपाल र नेपाली जनताले सुख, सुविधा पाउने छैनन् । दलका अदूरदर्शी नेताहरूले राज्य सञ्चालन गरेसम्म सरकारले न जनतामा राहत हुने काम गर्छ न त विश्वमा कुनै राम्रो सन्देश प्रवाह गर्नसक्छ । अनि नेपालले नेपाली जनतामाझ मात्र होइन विश्वमा कसरी नाम कमाउन सक्छ ? नेपालले पनि केही गरेको छ भन्ने सन्देश विश्वभरि कसरी पुग्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *