भर्खरै :

कर्मचारी साथीहरूको नाममा

कर्मचारी भन्नाले सरकारको ऐन–नियमअनुसार सरकारको तर्फबाट तलब, भत्ता, पेन्सन वा अन्य सहुलियतहरू प्राप्त गर्ने निजामती, गुप्तचर, प्रहरी र सैनिक सेवामा संलग्न व्यक्तिहरूसमेत पर्दछन् । विदेशमा कूटनीतिकलगायत सरकारी सेवामा नियुक्ति पाएका विशिष्ट व्यक्ति तथा सुरुको स्तरका व्यक्तिहरू पनि कर्मचारीमा पर्दछन् ।
कतिपय कर्मचारीहरूले आ–आफ्नो योग्यताले दिएअनुसारको पायक पर्ने ठाउँमा सरकारी सेवामा काम गरेका हुन्छन् भने केही माथिल्ला वर्ग र परिवारका युवाहरू आ–आफ्नो जात–भाषा र परिवारअनुसारको क्षेत्र (प्रहरी, गुप्तचर विभाग र सेना) मा भर्ना हुन्छन्, केही शिक्षा क्षेत्रमा पुग्छन् र केही सिंहदरबारमा पुग्ने कोसिसमा लाग्छन् । प्रजातन्त्र र गणतन्त्रको स्थापनापछि प्राध्यापक तथा बुद्धिजीवीहरूले विश्वविद्यालयबाहेक अनेक आयोग तथा विदेशका दूतावासहरूतिर दृष्टि दिन थाले ।
सामन्ती समाजमा माथिल्लो वर्गका युवाहरू आ–आफ्नो परिवारअनुसारकै पेशामा पुग्छन् । राणा कालमा केही युवाहरू प्रजातान्त्रिक विचारबाट प्रभावित खातापिता परिवारका थिए । आजको नेपाली काङ्ग्रेसका केही कार्यकर्ताहरू त्यही राणाकालको खातापिता परिवारकै तेस्रो पुस्ता हो । तीमध्ये केही सिंहदरबार, विश्वविद्यालय र विदेशमा छन् । त्यस्तै आफूलाई ‘कम्युनिस्ट’ भनाउन रुचाउने पहिलो पुस्ताका नेताहरू पनि खातापिता परिवारकै थिए । तर, तेस्रो पुस्ताका नेताहरू भने एउटै वर्गको मात्र वा माथिल्ला वर्गको मात्र छैनन् । तर, हरेक शासक दलहरूको नेतृत्वमा भने निश्चित जातजाति, भाषाभाषी र वर्गको प्रभाव बढ्ता छ । यसकारण, नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ता ‘समाजवादी’ भएनन् र एमाले र माओवादी केन्द्रजस्ता शासनमा जाने कम्युनिस्टहरू ‘कम्युनिस्ट’ रहेनन् ।
पहिला नेपाली काङ्ग्रेसको शासन पञ्चायतजस्तै थियो भने एमाले र माओवादी केन्द्र र अन्य कम्युनिस्ट शासन ‘नेपाली काङ्ग्रेसकै शासन’ जस्तो भयो । सरकारमा जाने ‘कम्युनिस्ट’ पार्टीहरू ‘भाइ काङ्ग्रेस’ भए । नेपाली काङ्ग्रेस भारत, संरा अमेरिका र साम्राज्यवादी शक्तिहरूसँग व्यवस्थित सम्बन्ध जोड्न कुशल देखियो भने ती ‘भाइकाङ्ग्रेसहरू’ त्यस विषयमा ‘सानो भाइ’ मात्र साबित भए । किनभने, नेकाका नेता र कार्यकर्ताहरूको वर्ग, अध्ययन र उद्देश्यमा पश्चिमी शैली छ भने ‘कम्युनिस्ट’ भनिनेहरू न कम्युनिस्ट सिद्धान्त र शैलीमा समर्पित देखिए न त वेस्टमिनिस्टर शैलीको संसदीय व्यवस्थाका जानकार देखिए । त्यसकारण व्यवहारमा तिनीहरू अत्यन्त खस्रा र अकुशल सावित भए । तिनीहरू न पश्चिमेली प्रजातन्त्रवादी देखिए र न त समर्पित समाजवादी क्रान्तिवादी बाटोमा देखिए । तिनीहरुको त्यस्तो चरित्र नै कामदार जनताको निम्ति ठूलो विश्वासघात साबित भयो ।
परिणामस्वरूप पहाड र तराईका तल्लो वर्गमा ठूलो भ्रम र विचल्लीको स्थिति देखियो– न तिनीहरू वर्गीयरूपले सङ्गठित हुन पाए न त सैद्धान्तिकरूपले । केही जिल्ला र स्थानमा विस्तारै सैद्धान्तिकरूपले सङ्गठित क्षेत्रमा ‘कम्युनिस्ट’ भनिने शासक दलहरूकै नेता र कार्यकर्ताहरूले पुँजीवादी बिउ छरेर जनतालाई काङ्ग्रेस + एमाले + एमाओवादी केन्द्र = अवसरवादी र अराजकतावादी बनाए ।
यसरी हरेक विद्यालय, महाविद्यालय, अस्पताल र सरकारी कार्यालयहरूका ‘कर्मचारी’ कर्मचारी नभई शासक दलका अवसरवादी र संशोधनवादी कार्यकर्ता देखिए । तिनीहरूमा देश र जनताको ‘निःस्वार्थ सेवा गर्ने’ र ‘सबै नेपाली समान हुन्’ भन्ने भावना पटक्कै देखिएन ।
पञ्चायतकालदेखिकै विद्यार्थी आन्दोलनमा देखिएको गैर–सैद्धान्तिक र गैर–राजनैतिक संस्कारको निरन्तरतास्वरूप आजका जिम्मेवार व्यक्तिहरू र नयाँ पुस्तामा यस्तो अस्थिरता र अराजकता देखिन्छ । व्यक्तिगत आर्थिक र पदीय लाभको निम्ति जुनसुकै ठाउँमा गएर पनि फाइदा लिने अराजक प्रवृत्ति कायम छ । यसलाई प्रजातान्त्रिक, अखिल र पञ्चायती मण्डले नाम दिएमा बढी उपयुक्त होला ।
कर्मचारी सङ्गठन के ट्रेड युनियन हो ?
ट्रेड युनियन सर्वहारा वर्गको शासनको स्थापना गर्न सशस्त्र क्रान्ति गर्ने मजदुर सङ्घ हो भने नेपालको सिंहदरबारका माथिल्ला कर्मचारीहरूको प्रभावमा परेको ‘कर्मचारी सङ्घ’ सामन्त वर्गको प्रशासन यन्त्रको एक अङ्ग थियो । ‘कर्मचारी सङ्घ’ पञ्चायतकालमा मण्डलेहरूको ‘जिंजर ग्रुप’ को नयाँ रूप हो । युरोपेली शासक दलका मुख्य ‘टुकडी’ जस्तै प्रधानमन्त्रीय गुटको संसद्को एक सक्रिय युवा समूह हुनेगथ्र्यो – ‘जिंजर ग्रुप’ । पञ्चायती शासक समूहको एक सक्रिय युवा समूह नै ‘मण्डले’ समूह थियो ।
पञ्चायती व्यवस्थापछि सरकारमा रहेको प्रशासनयन्त्रको एक समूहले प्रजातन्त्र र वामपन्थी ध्वनिमा ‘कर्मचारी युनियन’ को नाम दिइयो । सन् १९१७ को बोल्सेविक क्रान्तिपछि प्रतिक्रियावादी (दक्षिणपन्थी) एवम् जारका समर्थकहरूको गुप्त राजनैतिक समूहहरू क्रान्तिको विरोधमा सक्रिय भए ।
ती दलहरूमध्ये केही बोल्सेविक सरकारको गुप्तचर विभाग, ठूल्ठूला योजनाका कार्यालयहरू, परराष्ट्र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरू, पार्टी सङ्गठनहरू, मजदुर र किसान सङ्गठनहरूमा घुसे । केही वर्षपछि तिनीहरू पार्टीका विभिन्न तह तथा सामूहिक खेती र सहकारी संस्थाहरूमा घुसे । तिनीहरू त्रोत्स्की, जिनोजित्, बुखारिन, कामेनेभ, प्लेखानोभ, अल्पमत (मेन्सेविक) को रूपमा कम्युनिस्ट पार्टी र अनेक कल–कारखानाहरूमा समेत घुसे ।
सन् १९३४ डिसेम्बर १ को बिहान १० बजे एक जल्दोबल्दो नेता किरोभको हत्या भएपछि देशी र विदेशी षड्यन्त्रकारीहरू कति सक्रिय थिए भनी प्रस्ट हुन्छ ।
त्यस्तै, तत्कालीन कुलीन वर्ग सोभियत सङ्घ र लाल सेनाविरुद्ध लुकी–छिपी काम गथ्र्यो । तिनीहरूको ‘हरित सेना’ ले जङ्गलमा लुकेर काम गथ्र्यो । कुटील राजनीति शोषकवर्गले गर्ने नै भयो ।
आज युक्रेन र रुसको युद्धको विवादबारे संसार गम्भीर भएर हेर्दै छ । दोस्रो विश्वयुद्धको बेलामा समेत युक्रेनका ‘राष्ट्रवादी’ हरू जर्मनी (हिटलर) को गुप्तचर विभागको खेलौना थिए । त्यहाँका चर्चहरूसमेत जर्मनीसँग मिलेका थिए । ‘स्वाधीन युक्रेन’ बनाउन पादरीहरूबाट युक्रेनी आतङ्कवादीहरूले आर्थिक सहयोग पाउँथे । पादरीहरूले त्यसलाई पापमोचनन भन्थे । तिनीहरूले युक्रेनका अन्ध–राष्ट्रवादीहरूलाई ‘चक्कु र बन्दुक नभई स्वाधीन युक्रेन हासिल गर्न नसकिने’ बताउँथे ।
आज जर्मनीभन्दा संरा अमेरिका र उसको नेतृत्वमा ‘नाटो’ अगाडि छ । संरा अमेरिकाले जहाँ पाइला हाल्छ, त्यहाँका जनतालाई आपसमा लडाउँछ । अनि छिमेकीहरूलाई हतियार बेची वर्षौँसम्म रगताम्य लडाइँ गराएर विध्वंश मच्चाउँछ ।
नेपालमा ‘अखिल र नेविसङ्घ’ र ‘कर्मचारी युनियन’ अनेक विद्यार्थी र शिक्षक सङ्गठनको नाममा कार्यालय स्थापना गर्न र सञ्चालन गर्न डलर बगाएको कुरा अब गुप्त रहेन– यो पुरानै विषय भयो ।
xxx
विदेशीले दिएको ‘माओवादी’ भन्ने दलको नाम र विदेशीले दिएको सैनिक तालिम, हतियार र सूचनाको भरमा गरेको ‘जनयुद्ध’ भनिने गृहयुद्धको कारण ‘अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने’ धम्की दिँदै विदेशी प्रतिगामीहरूले फाइदा लिनु कुनै आश्चर्यको विषय बनेन ।
हालै अर्थमन्त्री जनार्दन शर्माको बजेटमा संशोधन गर्न सहयोग गर्ने ‘पूर्वनासु कर्मचारी’ र अङ्ग्रेजीमात्र बोल्ने आर्थिक विशेषज्ञ ‘सीए’ भनिने व्यक्तिको चर्चा देशको अर्थतन्त्रसँग गम्भीररूपले जोडिएको विषय हो । प्रचण्डको पार्टीमा अर्थशास्त्रका अन्य जानकारलाई अर्थमन्त्री नबनाई ‘हेगको अदालतमा’ पु¥याउन सकिने व्यक्तिलाई नै अर्थमन्त्री बनाउनु र बजेटमा गम्भीर अपराध गराउनुको पछाडि वर्तमान नाटकको अर्को दृश्यको सम्भावना छ ।
यसकारण, कर्मचारीले जागिरबाट बिदा लिनु परे पनि वा बरोबर ‘स्प्वाइल सिस्टम’ लागु गरे पनि आफूलाई योग्य साबित गर्नुपर्नेछ । नेपालमा पहिले पनि यसका उदाहरण छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *